संसार हत्केलामा छ -दीपकमणि दाजुभाइ

संसार हत्केलामा छ -दीपकमणि दाजुभाइ


साँधसीमा निकम्मा भएको छ । भूगोल छुट्याउने शक्तिशाली सीमास्तम्भहरू अर्थहीन भएका छन् । पछिल्लो विकास र विज्ञानले मानिसलाई मानिससम्म पुग्न सहज भएको छ । अब कोही पनि टाढा रहेन । कोही पनि नभेटिने, नदेखिने बनेन । सबै सँगै रहे अब । कोही कोहीभन्दा पर छैन । विज्ञानले हामीलाई एउटा हत्केलामा सीमित गरिदिएको छ ।
र, संसार हत्केलामा सीमित छ भन्ने कुराको सिर्जनशील प्रमाण हो स्रष्टा र डिजिटल वार्ता । साहित्यकार कृष्ण बजगाईंको यो कृति सर्वथा नयाँ र आधुनिक छ । प्रविधिको भरपूर प्रयोगको परिणतिमात्र होइन यो कृति । यस कृतिले स्रष्टाहरूलाई प्रविधिसँग अभ्यस्त पनि बनाएको छ ।
स्रष्टा र डिजिटल वार्ता भिन्न भूगोलमा रहेका नेपाली स्रष्टाहरूको सामूहिक स्वर हो । एउटा यस्तो स्वर जसले भाषा र साहित्यको विकासमा देखिएका चुनौतीहरूसँग सामूहिक रूपमा लड्ने विश्वास देखाएको छ ।
यसभित्र समेटिएका २३ स्रष्टाहरूले एक स्वरमा भनेका छन्- हाम्रा रचनाको अनुवाद अहिलेको महत्त्वपूर्ण आवश्यकता हो । भिन्न-भिन्न समयमा लिइएका यी प्रत्येक अन्तर्वार्ताहरूमा एउटै आवाज छ- भाषा साहित्यको विकास र र्समर्पण ।
यतिखेर नेपाली साहित्यमा अनुवादको महत्त्व र आवश्यकताबारेमा निरन्तर चर्चा र चिन्ता हुँदै छन् । अर्थात् यो विश्वसाहित्यमा पुग्ने हाम्रो एउटा बाटो र त्यसको चर्चा बढेकामा हाम्रो खुसी बढेको छ । झन्डै एक सय वर्षको आधुनिककाल व्यतीत गरिसकेको नेपाली साहित्यको परिचय विश्व अभिलेखन शून्य बराबर छ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, मलेसिया, फिलिपिन्स, कोरियालगायतका देशहरूमा नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ । तर, नेपाली भाषा-साहित्यको त्यहाँ कुनै गणना नै छैन । नेपाली नेपालीमाझ साहित्यका केही काम र कुरा भए पनि विश्वसाहित्यमा नेपाली साहित्यलाई पुर्‍याउन अनुवादको विकल्प छैन । अन्तर्वार्तामा सबै स्रष्टाको आवाज यही छ । सबैले नेपाली साहित्यको अनुवाद अपरिहार्य भएको बताएका छन् । कसरी हामी विश्वसँग चिनिने होला भन्ने प्रश्नको उत्तरमा प्राय: स्रष्टाले अनुवाद भनेका छन् । अनुवादको माध्यमले अघि बढौँ र सबैमाझ चिनिऔँ भनेका छन् । डिजिटल वार्तामा कृष्ण बजगार्इंले नबिराई सबैलाई सोधेका छन्, नेपाली साहित्यलाई विश्वमाझ पुर्‍याउन के गर्नुपर्ला ? यसको जवाफमा सबै स्रष्टाको एकै मुख छ- अब हामीलाई अनुवादले मात्र बाहिरी संसारमा पुर्‍याउन सक्छ ।
स्रष्टा र डिजिटल वार्तामा कृष्णले प्रस्तुत गरेका अन्तर्वार्ताहरू केवल प्रश्नोउत्तर मात्र होइनन् । यी त नेपाली साहित्यको गति, स्थिति र दिशाबोधका बारेमा गरिएको भूगोलहीन गम्भीर चिन्तन र विचार हुन् । यी प्रतिनिधि आवाजले प्रस्तुत गरेको प्रत्येक वाणीलाई अर्थ दिएर सुन्न्ाुपर्ने समय छ । यो दिशानिर्देश्ा र मार्गनिर्देश पनि हो । यो एकप्रकारले अभिमतहरूको सङ्कलन हो । प्रतिनिधि नेपाली स्रष्टाहरूको विचार र चिन्तनको सोलोडोलो उपस्थिति हो । यस कृतिले नेपाली स्रष्टाहरूको चिन्ता र चुनौतीलाई देखाएको छ । समाधानका उपायहरूको खोजी गरेको छ । भाषा-साहित्यको क्षेत्रमा अनुभवीहरूको साहित्यिक दर्शनलाई प्रस्तुत गरेको छ । यसले वर्तमानको स्थितिबोध गराई अब आउने नेपाली साहित्यलाई दिशानिर्देश गर्दछ । भाषाप्रति हाम्रा बुझाइ र धारणाको नवीकरणतिर पनि सङ्केत गरेको छ । प्रस्तुत वार्ताले ल्याएको महत्त्वपूर्ण कुरा हो- डायास्पोराको अवधारणा, व्याख्या र विश्लेषण । एउटा गृहदेशबाट निस्केर, छुटि्टएर, हाँगिएर नागरिकहरू परदेशमा गई बस्ने, त्यहाँ पनि आफ्नो संस्कृतिको बिउ रोप्ने र त्यहाँ परिचयको चिन्ता र सङ्घर्ष गर्ने समुदायलाई डायस्पोरा या डायस्पोरिक कम्युनिटी भनिन्छ । यो वर्तमान विश्वसमाजले चलाएको पदावति र विकसित गरेको अवधारणा हो । संसारका प्राय: सबै विश्वविद्यालयमा यसको पठनपाठन, अध्ययन-अनुसन्धान हुने गरेको छ । कृष्णले स्रष्टाहरूसामु नछुटाएको अर्को प्रश्न हो- डायस्पोरा र यसको प्रभावमा भाषा साहित्य ।
सामान्यतया: अन्तर्वार्ता भन्नेबित्तिकै दुई व्यक्तिबीचको वार्तालाप भन्ने बुझिन्छ । तर, यहाँ प्रत्यक्ष दुई व्यक्तिबीच वार्ता भएको छैन । यो वार्ता गराइदिने डिजिटल माध्यम हो इमेल । कृष्णले इमेलमा सोधका प्रश्नहरूको जवाफ स्रष्टाहरूले पनि इमेलबाटै दिएका छन् । तिनै सवालजवाफका क्रममा नेपाली भाषा, साहित्यको वर्तमान स्थिति, चुनौती, विकासका सम्भावना र भविष्यका आवश्यकताहरूको मन्थन भएको छ । समग्रमा यहाँभित्र भेटिने प्रत्येक विचार भाषाको विकासका लागि छन् । साहित्यको विश्वव्यापीकरणका लागि छन् । कृष्णको सफलता भनेको नै यही हो । उनले कसैलाई नभेटी कसैलाई नदेखी पनि कति सजिलै तीक्ष्ण व्यक्तिहरू छनोट गर्न सकेका – तिनीहरूलाई कति सजिलोसँग शक्तिशाली प्रश्नहरू सोध्न सकेका ? फेरि कति सजिलै स्रष्टाहरूले पनि नेपाली भाषाको पक्षमा एक स्वर ओराल्न सकेका ?
स्रष्टा र डिजिटल वार्ताको अर्को सुखद पक्ष हो- यस कृतिले भिन्न भूगोलमा रहेर पनि स्रष्टाहरू नेपाली भाषाका लागि कति सचेत छन् भन्ने प्रस्ट पारेको छ ।
कृष्ण आफैं पनि लेखक हो । उसको लघुकथाहरू नेपाली प्रतिनिधि लघुकथाभित्र पर्छन् । त्यति मात्र होइन ऊ भाषा साहित्यका लागि बेल्जियममा बसेर पनि सक्रिय छ । उसले गरेकँे योगदानको सर्वत्र प्रशंसा पनि भएको छ । अझ सम्पादनको क्षेत्रमा उसले गरेको विशिष्ट कार्य सबैसामु प्रस्ट छ ।
आजको प्रसङ्ग हो, डिजिटल वार्ताको । कृष्णको लेखनका बारेमा पछि कुरा गरौँला । आज डिजिटल वार्ताकै कुरा गरौँ । स्रष्टा र डिजिटल वार्ताका पनि आफ्ना केही सीमाहरू छन् । केही कमजोरीहरू पनि छन् । जस्तो कि धेरै प्रश्नहरू उस्तै र एकै प्रकारका छन् । स्रष्टासँग असम्बन्धित प्रश्नहरू पनि सोधिएका छन् । अझ कतिपय ठाउँमा स्रष्टाको परिचय पनि प्रश्नमा नै सोधिएको छ । जस्तो कि परिचय छुट्टै राखेर प्रश्नहरू गहन बनाउन सकिन्थ्यो । त्यसो त यसले केही स्रष्टाहरूलाई कृष्णले चिनेकै थिएनन् भन्ने पनि प्रस्ट हुन्छ । अनि हामीले माथि उल्लेख गरेजस्तो कृष्णले चिन्दैनचिनी पनि कति विशिष्ट व्यक्तिहरूको छनोट गरेको भन्ने कुराको पुष्टि हुन्छ ।
कृष्णको पछिल्लो समय आएको यस कृतिले सबैलाई अगाडि ल्याउने प्रयास गरेको छ । बहुसङ्ख्यक मानिस आफ्नो मात्रै प्रचारमा जुटिरहेको बेला कृष्ण समग्र प्रतिनिधि स्रष्टाहरूको प्रचारमा जुटेको छ । कृष्णको यही प्रयास हामीलाई प्रिय लागेको हो ।
कृष्णको यो प्रयासलाई हाम्रो दाहिने सलाम ।