इञ्जिनियर दिवस (साउन ३)को अवसरमा
नपढे पनि जानेर, बुझेर, सिकेर नेपालमा लिच्छवीकाल तथा मल्लकालमा बनेका मन्दिर, राजकुलो, ढुङ्गेधारा, विभिन्न दरबारहरू बनाउने त्यसबेलाका शिल्पीहरू पनि कुनै आजका इञ्जिनियरहरू भन्दा कम थिएनन् । ती वास्तुशिल्पीहरू आजका पढेका इञ्जिनियरहरू भन्दा उच्च श्रेणीका थिए ।
✍ सुनिल उलक

साउन ३ का दिन नेपालमा इञ्जिनियर दिवस मनाउने गरिन्छ । इञ्जिनियर दिवस मनाउन थालेको पनि ६३ वर्ष भइसकेको छ । नेपालमा इञ्जिनियरहरूको छाता-सङ्गठन नेपाल इञ्जिनियर एशोसियसनको स्थापना वि.सं. २०१९ साउन ३ गते अर्थात् सन् १९६२ जुलाई १८ तारिखमा भएको हुँदा यही दिनलाई नेपालमा इञ्जिनियर दिवसका रुपमा मनाउने गरिन्छ । शुरुमा केही इञ्जिनियरहरू संगठित भएर संस्था खोलेको भए तापनि हालमा भने करिव ४४ हजार इञ्जिनियरहरू यस संस्थामा आवद्ध छन् । तर नेपालमा ७७ हजार भन्दा बढी इञ्जिनियरहरू दर्ता भएका छन् ।
नेपाल सरकारले २०२२ सालमा इञ्जिनियरहरूको श्रेणी विभाजन गरेर तीन तह बनाएको थियो, जुन लामो समयसम्म रहिरह्यो । २०५३ मा राजपत्रांकित र राजपत्रअनंकित गरेर ८ श्रेणीमा विभाजन गरिएको थियो । साथै इञ्जिनियर भन्ने शब्द एक भए पनि यसभित्र १५ समुह र अन्य उप-समुहहरू रहेका छन् । प्रमुखरूपले चिनिने र सुनिने सिभिल इञ्जिनियर, मेकानिकल इञ्जिनियर, इलेक्ट्रिक इञ्जिनियर हुन् भने अन्यमा इलेक्ट्रोनिक तथा टेलिकम्यूनिकेशन इञ्जिनियर, एरोनटिकल इञ्जिनियर, माइनिङ इञ्जिनियर, केमिकल इञ्जिनियर, मेटालर्जिकल इञ्जिनियर, मेट्रोलोजी इञ्जिनियर, मेट्रेरियोलोजी इञ्जिनियर, जियोलोजी इञ्जिनियर, सर्भे इञ्जिनियर, आइटी इञ्जिनियर, केमिष्ट्री इञ्जिनियर, एग्री इरिगेशन इञ्जिनियर तथा सिभिल एभिएशन इञ्जिनियर रहेका छन् । यसभित्र पनि उप-समुहहरू रहेका छन् ।
नेपालको इतिहासमा पहिलो इञ्जिनियर को थिए भन्ने प्रश्नको जवाफमा- पढेर बनेका इञ्जिनियरमा भने दुई दाजुभाइ कुमार नरसिंह राणा र किशोर नरसिंह राणा नै हुन् । तर, हाम्रा अख्यानहरूले विश्वकर्मालाई पहिलो इञ्जिनियर मान्ने गर्दछ । नपढे पनि जानेर, बुझेर, सिकेर नेपालमा लिच्छवीकाल तथा मल्लकालमा बनेका मन्दिर, राजकुलो, ढुङ्गेधारा, विभिन्न दरबारहरू बनाउने त्यसबेलाका शिल्पीहरू पनि कुनै आजका इञ्जिनियरहरू भन्दा कम थिएनन् । ती वास्तुशिल्पीहरू आजका पढेका इञ्जिनियरहरू भन्दा उच्च श्रेणीका थिए । ३-४ सय वर्षअगाडि बनेका ती संरचनाहरू कतिपयले दशौँ ठूला-ठूला भूकम्पहरू थाम्न सक्षम भएका छन् ।
हामीसँग लिच्छवी काल र मल्लकालका शिल्पीहरूको नाम खासै आउँदैन । तर जङ्गबहादुरबाट शुरु भएको राणाकालमा जङ्गबहादुरको समयमा भने रणशूर बिष्टले जङ्गबहादुरका दरबारहरू बनाएका थिए । नारायणहिटी दरबारको रूपमा पुरानो श्री ३ रणोद्वीपको दरबार पनि रणशूर बिष्टले नै बनाएका थिए । रणशूर जङ्ग तथा रणोद्वीपका प्रिय वास्तुकार भए पनि जङ्गका सन्तान र रणोद्वीपको हत्या गरेर श्री ३ बनेका वीरशम्शेरले उनिहरूकै वास्तुशिल्पी रणशूरलाई पछ्याउन चाहेनन् । त्यसैले थायमदू न्हू बहाःका जोगवीलाई दरबार बनाउने जिम्मा लगाए । पहिलो त वीरशमशेरका प्रिय रानी नेवार्नी थिइन्, तसर्थ पनि हरेक निर्णय सकेसम्म नेवारहरूका पक्षमा लिन लगाउँदथे ।
वि.सं. १९४२ मा ठूलो बुबा रणोद्वीपको हत्या गरि श्री ३ बनेका वीरशम्शेरका प्रिय वास्तुशिल्पी थिए जोगवीर स्थापित । कामदारहरूको नाइके भएको हुँदा उनको नाम नै जोगवीनायः हुन गएको हो । हुन त स्थापितहरू पहिलेदेखि नै वास्तुशिल्पीहरू हुन् । नयाँ नारायणहिटी दरबार तैयार भएपछि आफ्ना ज्वाइँ राजा पृथ्वी वीर विक्रमका लागि दिए । त्यसपछि राजपरिवार हनुमानढोकाबाट नारायणहिटीमा रहन थालेका हुन् ।
यसपछि त दरबार बनाउने सिलसिला नै शुरु भयो । आफ्नो लागि चारबुर्जा दरबार, छोराहरूका लागि सेतो दरबार, फोहोरा दरबार आदि पनि जोगवीरलाई नै बनाउन लगाए । भूमिगत पानी बगाउनका लागि नालाको ब्यवस्था पनि जोगवीरले वीरशमशेरकै समयमा गरेका थिए । साथै टुकुचा नदीलाई हात्तीसारबाट भूमिगत बनाएर जयनेपाल सिनेमाहल भन्दा केही तलको भागमा निकालिएको थियो ।

यसरी अनुभव र पुर्खाहरूबाट प्राप्त ज्ञानबाट दरबार र नहरका डिजाइन गरेका जोगवीर पछि चन्द्रशम्शेरका समयमा भने आफ्ना ठूला बुबा बद्रीनरसिंह राणाका दुई छोरा अर्थात् भाइ कुमार नरसिंह र किशोर नरसिंहलाई इञ्जिनियर अध्ययनको लागि भारत रुड्कीमा रहेको थोमसन कलेज अफ इञ्जिनियरिङमा पठाएका थिए । त्यहाँबाट अध्ययन गरी फर्केपछि चन्द्रशमशेरले पहिलो काम नै सिंहदरबार बनाउन दिएका थिए । वि.सं. १९६० मा सिंहदरबार तैयार भएपछि चन्द्रशमशेर सिंहदरबारमा नै बस्न गएका थिए । चन्द्रशमशेरले आफ्नो बेलायत यात्रामा किशोर नरसिंह राणालाई पनि बेलायत लगेका थिए ।
हार्पर एण्ड कम्पनीले बनाउने ठेक्का पाएको पहिलो पक्की झोलुङ्गे पुल त्रिशुलीको पुलको डिजाइन पनि कुमार नरसिंह राणाले नै गरेका थिए । यो पुल वि.सं. १९५७ मा तैयार भएको थियो । यस पुलको उद्घाटन समारोहको तस्बिरमा कुमार नरसिंह राणालाई देख्न सकिन्छ ।
वि.सं. १९७४ सालमा तैयार भएको चुरिया टनेल भने नेपालको पहिलो सुरुङ मार्ग थियो । यो सुरुङ मार्ग बनाउने चिफ इञ्जिनियर दिल्लीजंग थापा थिए । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा अमलेखगञ्जसम्मको बाटो बनाइएको थियो । पछि सोही बाटो बिस्तारको क्रममा बीचमा रहेको विशाल चुरीयाको पहाडले बाटो रोक्यो । भर्खर मात्र भारतको रुड्कीबाट इञ्जिनियरीङ गरेर आएका दिल्लीजंग थापालाई यसको जिम्मा दिइयो । उनको सफल नेतृत्वमा यो असंभव कार्य सम्भव भयो । ९ फिट चौडा १० फिट अग्लो र ७८५ फिट लामो यो सुरूङको उपयोग २०२७-२८ सालसम्म भएको देखिन्छ । त्यसपछि यसलाइ बन्द गरियो ।
यसरी नेपालको राणाकालमा इञ्जिनियरिङका विशेष कामहरू भएका थिए ।
प्रतिक्रिया