झोला र झण्डा –केशव श्रेष्ठ

झोला र झण्डा –केशव श्रेष्ठ


कसैले सात सालमा प्रजातन्त्र भने
कसैले छयालीसमा
कतिले अहिले यसैलाई गणतन्त्र भन्दै छन्,
छिमेकी मदारेको डमरुको धुनमा
बाँदर नाचेझैं नाची
जनतालाई ‘जन्तु’मा ढाल्ने
भगीरथ कसरत गर्दै छन् ।
कहिले दिल्लीको दाल खान्छन्
कहिले चीनको चाउमिन
कहिले अमेरिकाको अचार त
कहिले बेलायतको बर्गर,
त्यही नुनको सोझो गर्न
घरि इन्धनको लाममा राख्दै
घरि ऊर्जा सङ्कट भन्दै
आमनेपालीलाई गरिब
गरिबलाई दरिद्र, र
दरिद्रलाई भिखारी बनाउँदै छन्
हामी भने उल्टै दीपावली गर्दै
किसिम–किसिमका झोला
थरी–थरीका लाल झण्डा समाउँदै
कात्तिके कुकुरझैं त्यही नेताको पछिपछि लाग्दै
नैतिकता, मानवता, बौद्धिकता स्खलित गर्दै
त्यसैमा चरम सन्तुष्टि लिँदै छौँ… हामी !
– कीर्तिपुर, काठमाडौं

धौली गङ्गा हामी नाङ्गा…– रामेश्वर राउत मातृदास
धौली गङ्गा हामी नाङ्गा नेपालीको घाउ
सुरवीर नेपालीको धिकार कायर पाउ !

हातपाउ चुरमुर्‍याई पाता कसिएकी
शिर–गङ्गा हे ऽ! निर्दयीले मुटु डसिएकी
जालीलाई गोर्खेलौरी उत्सव छालहाली
बाधाबन्धन चुँडालेर जाग महाकाली
धौली गङ्गा हामी…

आकाशभैरव रुरुभैरव भीषण भैरव माली
न्याय निहुर्‍यो कालभैरव, गोरखनाथको बाली
धरती आकाश बज्र अग्नि अदम्यभै आऊ
वीरताको खाँडो जगाई प्राणप्राणमा गाऊ
धौली गङ्गा हामी…

निरीह छिन् न्याय किन अन्यायको राज
धरती आकाश लाज मान्दै आँखा छोप्छन् आज
धौली गङ्गा हामी नाङ्गा लक्ष्मी छिन् लाली
मुक्त गर न्यायदेवी निर्दोष महाकाली
धौली गङ्गा हामी…
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्तीतलाउझैँ शान्त भइरहन्छ