हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता

हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता


हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौंको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ सम्पन्न भएको छ । एकदिने प्रतियोगितामा २४७ खेलाडी सहभागी भएका थिए । जुन नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो सहभागिता हो ।

एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बुका अनुसार गत वर्ष फिडे स्थापनाको १०० वर्ष पुगेको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन १००’ गिनिज वल्र्ड रेकर्डमा सूचीकृत भइसकेको छ । यसपटक त्यही अभियानको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रूपमा आयोजना गरिएको हो ।

प्रतियोगिताको खुलातर्फ फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले सिएम पुरुषोत्तम सिलवाललाई पछि पार्दै रू १० हजार नगद पुरस्कार जिते । उनले ९.५ अङ्क जोडे । यस्तै, दोस्रो हुनुभएका सिलवालले नौ अङ्कसहित रु सात हजार प्राप्त गरे । आठ दशमलव पाँच अङ्क जोड्नुभएका मुकुन्द नापित तेस्रो हुँदै पाँच हजार प्राप्त गरे ।

शीर्ष १० स्थान सन्तोष श्रेष्ठ, रुपेश जैसवाल, प्रेम कृष्ण अधिकारी, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौधरी रहे । उनीहरुले सबैले जनही रु एक हजार प्राप्त गरे ।

उन्नाइस विधामा आयोजित प्रतियोगितामा ६ वर्षदेखि ८४ वर्षसम्मका खेलाडी सहभागी थिए । कूल रु ६७ हजार पुरस्कार रहेको प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त, सात्विकमान तुलाधर, प्रवीर केसी, सीताराम अग्रवाललगायत ३२ खेलाडीले पुरस्कार प्राप्त गरे ।