✍ रामचन्द्र ढकाल
हिमाली दाजु तराई झरे लिएर पिरती
पहाडी बाटो बलौटे माटो साथमा ओखती।
ताप्लेजुङबाट बोकेर छुर्पी लिन्बुनी दिदीले
रहर छर्छौ कमाइ गर्छौ झापामा विधीले ॥
इलामे चिया नपारी छिया रमाइ हिँडौँला
धनुषाबाट बोकेर धान दोलखा कटौँला ।
संखुवासभा रसीलो ज्यादै खोटाङे साथले
पाँचथर हेर्छ रमाइलो गर्छ धनकुटा मज्जाले ॥
सुन र सरी कोशी हो तरी पुगेछौँ तेह्रथुम
भोज र पुर खुकुरी सुर वीरको मलम ।
सप्तरी सँगै छ महोत्तरी उस्तै त्यो सर्लाही
उदयपुर ओखलढुङ्गा हिमाल मिलाइ ॥
सोलु र खुम्बु मिलेको हेरौँ रौतहट रामेछाप
चितवनबाट मकवानपुरतिर लिएर तोरी आँप
कपिलबस्तु रूपन्देही गुल्मी र बाँकेमा
खप्तड सधैं सुझाव दिन्छ नभुल्नु च्याँखेमा ॥
सगरमाथा रमाइ बोल्छ आउनु है नाम्चेमा
काठमाडौं यता रमाउने गर्छ भक्तको नाचमा
काभ्रेको मिठो नुवाकोटे ठिटो सिन्धुको साथमा
गोसाइँकुण्ड बुद्धिको झुण्ड नेपाली माथमा॥
गोरखाली वीर उँचो छ शिर देश हो नेपाल
धादिङ हुँदै पाटन पुग्यौँ बनायौँ विशाल ।
सुरक्षा गऱ्यौँ डटेर लड्यौँ सकेन विदेशी
रसुवा पर्षा सिन्धुली पाल्पा पर्बत परासी ॥
कास्कीको आलु नाचेर घाटु मनाङे दाजुले
मुस्ताङबाट निर्मसी बेच्थे स्याङ्जाली बाजेले ।
जुम्लाको धान बढेको सान रूकुम रोल्पामा
सिरहाबाट मोरङ बारा बस्यौँ नि नाकामा ॥
कैलाली जान्छु अछाम हेर्छु बैतडी त्यो दाङ
दैलेख अर्घा दार्चुला पुग्यौ यता छ लम्जुङ ।
कन्चनपुर डोटीमा जान्छु बर्दीया रमाइ
बाजुराबाट बझाङ हेर्छु पौरखको कमाई ॥
डडेलधुरा सुर्खेत मुगु पवित्र प्युठान
तनहुँ डोल्पा जाजरकोट रमेको सल्यान ।
काली है कोट मार्सीको बोट हुम्लामा खेलौँला
बाग्लुङबाट म्याग्दीको बाटो पोखरा बसौँला ॥
पशु र पति सही छ मती सीताको देश हो
भृकुटी हाँस्छिन् दिलले भन्छिन् माइती मेरो यो
यही हो देश नेपाली भेष स्वर्गको आश छ
अति नै राम्रो सभ्यता हाम्रो बुद्धको बंश हो ॥
- कोमल, काठमाडौ
प्रतिक्रिया