✍ डिल्ली अम्माई
जहाँ नदी गहिरो हुन्छ,
त्यहाँ जलप्रवाह शान्त र गम्भीर हुन्छ
गहन अति मौन हुन्छ
शिखरको गहिराई
त्यसैभित्र पोखिएको मौनता
मौनताभित्र छरिएको शान्ति
मौन कला
मौन सुन्दरता
अदृश्यभित्र दृश्य बनेर सोसिएको मौनता ।
मौनता
महाकाब्य भन्दा गहन
ज्ञानीहरूको सभामा अज्ञानीहरूको पेय
नकोरिएको तर महसूस गरिने काब्य
खालि पानाभित्र बगिरहेको जल प्रवाह जस्तै
सृष्टिपूर्वको अवर्णित सपना
सपनामा पुग्ने साधना।
प्रेम र संकल्पको ज्योतिमा
द्रष्टाले कुँदेको मूर्तिबाट निस्कने आवाज
एन्भर्स अर्को पक्षको एक मौन किल्लाभित्र एन्टवर्प
दिवारभित्रको मौन ध्वनि
फूलभित्रको मौनता
एकान्त आत्माको सर्वोत्तम मित्र।
आकृतिको छायाँभित्र
चित्रमा सँगै खेलिरहने स्वप्न तरंग
सपनाहरु सुकाएको बिस्कुनमा
कमिलाका मौन उपदेशहरु जस्तै
अमुल्य ज्ञानका नसुनिने कोपिलाहरू।
क्रोध पगाल्ने मौनता
द्रष्टाको चित्रबाट
झरेको तरङ्ग स्वास जस्तै
उस्तै तर अलग
दिब्य हिराबाट फर्केको प्रकास ।
यो ग्ल्यामर ब्रह्माण्डमा
गतिमा चम्किन्छ आवरण
आवरण निद्राजस्तै मौनताको
अनुभूतिको तातोमा
रङ्ग पलाउँदैन आफैं
चम्किदैन कला आफैं
गति र तातो चाहिन्छ
प्रकाश र रङ्ग भरेर सौन्दर्य उमार्न।
प्रकाश ज्ञानको
प्रकाश सृष्टिको
प्रकाश चेतनाको
केवल आवरण हो
यसले आफू नदेखिएरै
ज्ञानमा नयाँ स्फूर्ति पैदा गर्दछ
तिमी चाहन्छौ भने मौन रहु।
मौनताको भाषा
बलवान हुन्छ बोलीको भाषाभन्दा
बोली गम्य हुन्छ मौन अगम्य
आवाजको तीव्रतामा सिमितता हुन्छ, मौनता अनन्त ।
मौनताको आवरण हो प्रकाश
उचाइ र गतिको गहनताले रंगिन बनाउछ प्रकाश
गतिमा प्रकाश आकासिन्छ
ठोकिन्छ आफ्नै तरंगमा
ज्ञान बनेर चुहिन्छ तालुभित्र
र चेतना बनेर रोकिन्छ।
रुप र रङ्ग आँखाको भ्रम हो
प्रकाश र चेतनाको हुँदैन रङ्ग
कला बनेर पोखिन्छ फूलमा प्रकाश
चुहिन्छ पृथ्वीमा प्रकाशको छायाँ
बोल्न खोज्छ चेतना सृष्टिसँग।
माथिल्लो आवाज कठोर हुन्छ
मन्दिर र चर्चभित्र मौन बोल,
जब तिमी नेतृत्व गरिरहेका हुन्छौ
कम बोल वा मौन बोल
थाह छ फूलमा रंग पोखिदा मौनता हाबी हुन्छ ।
मौन आध्यात्मिक मन जस्तै
ईश्वरको मौनतामा चम्केको ज्योति जस्तै
फूलको रंगमा बालक
अनि मृत्युको भय बिर्सेर
प्रकासमा प्रावर्तित हुँदो हो मौन
ज्योतिमा कुँदिएको भाग्य जस्तै
विश्वासको शिलास्तम्भभित्रको मौनता
के मानिसहरू तिमीलाई विश्वास गरुन् भन्ने चाहन्छौ
कम बोल,
गुफाभित्रको गहन मौनतामा बाँच्न सिक।
(मौनताको लागि संसारप्रसिद्ध पेरिसस्थित ऐतिहासिक आन्भर्स चर्चको हलमा स्फुरण भएको सिर्जना । – स्रष्टा)
प्रतिक्रिया