देशको विद्यमान कानुनमा बोक्सीसम्बन्धी कसैलाई पनि आरोप लगाउन मिल्दैन । बोक्सीको आशंकामा कुटपिट तथा गाली बेइज्जती गर्न पनि पाइँदैन । तर, अचेल शंकाको भरमा आरोप लगाइन्छ, कुटिन्छ पनि । अचेल तान्त्रिक शक्ति भएको मानिस नै भेटिँदैन । नक्कली धामी-झाँक्रीहरुले गरिव, बिधवा, निरिह महिलाहरुमाथि आरोप लगाएर प्रमाणित गर्ने प्रयास स्वरुप ती महिलामाथि हातपात हुने गर्दछ ।
✍ सुनिल उलक

आज (७ साउन) गथामुँग चह्रे, तर आम नेवार पनि यस दिनको चर्चा गर्दा घण्टाकर्णका रुपमा गर्ने गर्दछन् । वास्तवमा घण्टाकर्णसँग यसको सम्बन्ध खासै छैन । यो दिन टोल-टोलमा बच्चा तथा ठूलाहरु जम्मा भएर बाटो छेक्दै पैसा माग्ने तथा नर्कट तथा छ्वाली वा घाँसहरुले बनाएको राक्षस आकृतिलाई दिनभर ठड्याएर राख्ने र राति घिसार्दै लगेर जलाउने गरिन्छ । यसरी भुत प्रेत भगाउने चलन नेवार परम्परामा देखिन्छ । यसका लागि विभिन्न किंवदन्ति बनाइएको छ । जसले गर्दा, यो पर्व पनि नेवाःले मात्र मान्ने गर्दछन् । यसैले नेवाः बाहुल्य हुने नेपालको धेरै जसो स्थानमा मनाउने गरिन्छ ।
प्रचलित किंवदन्ती अनुसार गाउँ पसेको राक्षसले बच्चाहरु मारेर खाने गरेर सताउँथ्यो । देवताको नाम लिएको सुन्नुपर्ला भनेर कानमा ठूला ठूला घन्टा झुन्ड्याएको हुन्थ्यो । यसरी त्यो भुत (राक्षस)ले अति नै दुख दिन थाले पछि तान्त्रिकसँग सल्लाह लिदा तान्त्रिकले आफू भ्यागुताको रुप लिएर राक्षसलाई बिस्तारै हिलो भएको खाडलमा लग्ने त्यसपछि सबै मिलेर त्यहाँ मार्ने निर्णय गरेपछि भ्यागुताको रुप लिएका तान्त्रिकले राक्षसलाई म तिमीलाई धेरै खानेकुरा भएको ठाँउमा लगिदिन्छु भन्दै फकाउँदै हिलै हिलो भएको ठाँउमा लग्दछ । धेरै गहिरो हिलोमा पुगेपछि राक्षसलाई हिँड्न कठिन भइ गाडिन थालेपछि सबै मिलेर ढुङ्गामुढा गरेर मार्न सफल हुन्छन् । यसरी राक्षसलाई मारिएको दिन सावन कृष्ण चतुर्दशीमा उक्त राक्षस मारेको सम्झना गर्दै राक्षसको पुतला बनाएर जलाउने चलन चलेको हो भन्ने गरिन्छ ।
तर, वास्तविकतामा कथा भने भिन्न हुने गर्दथ्यो । नेवारहरु खेती-किसानीको समय निकै दुःख गरेर खेतीपातीमा लाग्दथे । उब्जनी धेरै हुने खेत तर काम गर्ने मानिसको संख्या कम हुने हुँदा तान्त्रिकको शक्तिले भूतलाई जगाएर काममा लगाइन्थ्यो । किंवदन्ती अनुसार बैशाख शुक्ल द्वितिया तथा अक्षय तृतियाको दिन खेती-किसानी तथा रोपाइँ गर्नुपर्ने किसानहरुले भुत (राक्षस) भित्र्याउने गर्दथे । यसरी भित्र्याइएको भुतले खेतको काममा किसानलाई सहयोग गर्ने विश्वास गरिन्थ्यो । यसरी खेतमा काम लगाइएको भूतलाई सधैं पाल्न नसकिने हुँदा खेतिपातिको काम सकिएपछि पन्छाउनु पर्दथ्यो । यसरी बोलाइएको भुतलाई खेती-किसानीको काम सकिएपछि सावन कृष्ण चतुर्दशीको दिन सबै मिलेर आ-आफ्नो घरको भुत भगाउने गरिन्थ्यो । यसको लागि तान्त्रिककै शक्तिले छ्वाली र नर्कटको भूत बनाइ यसलाई खोलामा लगेर सेलाउने गरिन्थ्यो । यही परम्परा नै गथामुगको रुपमा रहेको थियो ।
यस दिनमा बिहानै घर सफा गरेर घरलाई भुत-प्रेतबाट मुक्त गराउने भन्दै सिन्हां ज्याः ब्यन्केगुः (खेती-किसानीको काम सिध्याउने) चलन रहेको छ । काँचो माटोको सानो भाँडामा दहि, कर्कलो, धुः स्वा (एक प्रकारको फूल), बौ स्वा (एक प्रकारको फूल), आरुको हाँगासहित राखेर छ्वाली बाल्दै दोबाटो वा चौबाटोमा लगेर राख्ने चलन छ । यसरी घरबाट लगेको भूत फर्केर फेरि घरमा नआओस् भन्दै घरको मूल ढोकामा मयूरको प्वाँख र फलामको तीन खुट्ठी गाड्ने गर्दछन् । साथै परिवारका सदस्यमा भुत नपसोस् भनेर फलामको औंठी लगाउने पनि गर्दछन् ।
पहिले पहिले जुन मान्यता र विश्वासले यो पर्वको शुरुवात भए पनि अचेल पनि यो चलन नेवार बाहुल्य भएको स्थानहरुमा चलि नै रहेको छ । बिहानैदेखि बालक युवा वृद्ध सबै मिलेर दोबाटो छेक्ने घाँस तथा छ्वालीले बनाएको राक्षसको शरिरमा नाङ्लोमा राक्षसको मुखाकृति बनाएर दिनभर नरकटको त्रिखुट्टीले सडकमा ठड्याएर राख्ने । साँझ परेपछि आजुको रुपमा एक जना अनाथलाई अघि-अघि लगाउने त्यसपछि उनले आजु जय भन्दै कराउँछन् र अन्य पछि लागेकाहरुले हा..हा.. गर्दै बाटोमा घिसारेर लगेर जलाउने चलन छ । बाटो छेक्दा उठाएको पैसा पनि आजुलाई दिने गरिन्छ ।
आजैको दिन घर-घरमा बच्चाहरुले कपडाले बनाएर खेल्ने गरेको पुतली पनि यही घन्टाकर्णको दिन सेलाउने भन्दै लगेर बाँधिदिने गरिन्छ । यसरी बनाइएको कपडाको खेल्ने पुतलीमा भुतको बास हुन सक्छ भनेर पनि यसरी खेल्ने गरेका कपडाका पुतलीहरुलाई पनि घण्टाकर्णमा बाँधेर राख्ने गरिएको हो । साथै नेवार महिलाहरु हातभरि तिउरी पिसेर हातभरि लगाउने गर्दथे । अचेल भने मेहन्दी लगाउने गर्दछन् ।
नासः द्यः
नासः द्यः नेवाःहरुको तान्त्रिक शक्ति भएको एक देवता हो । जसले नृत्य तथा बाजा बजाउने कलामा निपुण गराउने गर्दछ । नासः पूजा नगरेसम्म कुनै पनि पूजा वा जात्रामा बाजा बजाउन मिल्दैन । नासः द्यःको पूजा पूर्ण रुपमा तान्त्रिक विधिमा गरिन्छ । यो पूजा गर्ने निश्चित दिन हुन्छ । कसैको रहर वा फुर्सदले यो पूजा आफूखुशी जहिले मनलाग्यो त्यो दिन गर्न मिल्दैन । तर पोखरामा विगत वर्षदेखि भने अनौठो परम्पराको शुरुवात भएको देखियो । गठामुँग अर्थात नासः द्यःको पूजा गर्नुअगाडि नै बाजा बज्न थालेको सुनियो । हाम्रो सांस्कृतिक परम्परालाई प्रतियोगितामा परिवर्तन गर्न थालिएपछि जित्ने होडबाजीमा धेरै अगाडिदेखि नै नाच र बाजा बजाउने तालिम दिने तथा प्रशिक्षण गर्ने परम्पराको थालनी भयो । नासः द्यः को पूजा नगरि बाजा नबजाउने अनुरोध गरेपनि सुन्नेहरु नै भएनन् ।
साउन कृष्ण त्रयोदशीको रातलाई भगाकार र चतुर्दशीको रातलाई लिङ्गाकारका रुपमा लेखिएको पाइन्छ । जसले गर्दा यी दुई रातको संगम भन्नु श्रृष्टीको शुरुवात हो । मानव जीवनमा पनि नयाँ जीवनको शुरुवात रातमा नै हुने गर्दछ ।
खैर ! गठेमुँगको रातमा चाः पूजा गरेपछि मात्र बाजालाई निकालिन्छ र बजाउन पाइन्छ । बाजालाई सिठिनखःको दिनबाट बन्द गरेर राखिन्छ । सिठिनखःको दिन पूजा गरेर बन्द गरेर राखिनुको कारण त्यसपछि खेतीपातीको काममा लाग्नुपर्दछ । जसले गर्दा बाजागाजासहितको जात्रा तथा मनोरञ्जन गर्न छुट हुँदैन । केवल खेतीमा मात्र ध्यान हुन्छ ।
नासः द्यःको पूजा रातमा मात्र गरिने हुँदा यसलाई चाः पूजा पनि भन्ने गरिन्छ । नासः द्यः पूजा गर्ने दिन साउन कृष्ण त्रयोदशीको समाप्ती र चतुर्दशीको शुभारम्भको बिचमा गर्ने गरिन्छ । यसरी त्रयोदशी र चतुर्दशी बिचको मध्यरात भनेको श्रृष्टीको शुभारम्भ पनि हो । यस दिनलाई कल्पारम्भका रुपमा पनि लिने गरिन्छ । यसको साथै साउन कृष्ण त्रयोदशीको रातलाई भगाकार र चतुर्दशीको रातलाई लिङ्गाकारका रुपमा लेखिएको पाइन्छ । जसले गर्दा यी दुई रातको संगम भन्नु श्रृष्टीको शुरुवात हो । मानव जीवनमा पनि नयाँ जीवनको शुरुवात रातमा नै हुने गर्दछ ।
नेवाः परम्परामा गरिने नासः द्यः पूजा जात्रासंग आबद्ध संगीत बजाउने तथा राग वा भजन गाउनेहरुका लागि सबैभन्दा महत्वपूर्ण दिन हो । यस दिन मुख्य रुपमा विभिन्न सामग्री राखेर पूजा गर्नुभन्दा साधारण पूजाका साथ किसली चढाउने गरिन्छ । नासः द्यः का लागि षोडस सामग्रीसहितको पूजाथाली आवश्यक हुदैन । किसलीमा चढाउँदा सानो माटोको सलीमा कि अर्थात् चामल राखेर त्यसमाथि सिक्का र सानो सुपारी राखिन्छ । चामल शुद्ध अक्षताको बनाइन्थ्यो । जुन घरमै धानलाई पिसेर सङ्लो चामल छुट्याएर किसलीमा राखिन्थ्यो । तर अचेल बजारमा पाइने चामललाई नै किसलीमा राख्ने गरिन्छ । नासः द्यः संगसंगै हेमाः द्यःको पनि पूजा गरिन्छ । हेमाः द्यः रागहरूको सूर र आलापको देवता हो ।
बोक्सी विद्या
आजैको रात बोक्सी विद्या सिक्ने रात पनि भनिन्छ । तान्त्रिकले खेतमा काम गर्नका लागि जगाएको भुत, प्रेत लगायत बोक्सीहरु दोबाटोमा लगेर छोडिएको हुन्थ्यो । यसरी छोडिएको भुत, प्रेतलाई जगाएर गलत ध्येय वा नियत बोकेकाहरुले आफ्नो साथ लिएर आउन मध्यरातमा पूजा गर्दथे । यसरी पूजा गर्दा पूजा सामग्रीका रुपमा अनौठो बस्तुहरुको आबश्यकता पर्दथ्यो । सबैभन्दा पहिले गुरुका रुपमा एक बोक्सी चाहिन्थ्यो । जसले हातको औंलामा बत्ती बालेर अँध्यारो रातमा उज्यालो बनाउँदै बस्तीदेखि टाढाको दोबाटोमा लग्दथे । यसरी लैजाने बेलामा बोक्सी विद्या सिक्न चाहने महिलाले आफ्नो पतिलाई वशिकरण गरेर बाख्रो झै बाँधेर पछि-पछि लैजान्थे । पूजाको सामानहरु राख्नका लागि बाँसको बनेको भाँडा प्रयोग गरिन्थ्यो । साधारण बाँसले बुनेर बनाइएको जस्तो देखिने यो भाँडा भने विशेष किसिमको बाँसबाट मात्र बनाइन्थ्यो । मानिसको मृत्युपछि शव बोकेर लैजाँदा प्रयोग हुने बाँस अधिकांश नदी किनारमा फेकिन्छ वा नदीमा बगाइन्छ । यही शव बोकेको बाँसबाट बनाइने कलः (पूजासामग्री राख्ने भाँडा) नै बोक्सी सिक्नेहरुका लागि महत्वपूर्ण हुन्छ । अन्य भाँडामा पूजा सामग्री बोकेर लैजान मिल्दैन । हुन त यसरी शव बोकेर घाट लगिएको कलःको उपयोग अन्य पूजाको समय पनि गर्ने गरिन्छ । विशेष संकल्प लिएर कुनै उद्देश्य पुरा गर्ने मनसायले भाकलसहित गरिने पूजा सामग्री गलत उद्देश्यले हेर्ने तथा दुष्ट मनहरुबाट जोगाउन यस किसिमको कलः प्रयोग गरेमा उद्देश्य पुरा हुने विश्वास गर्दथे ।

अहिले देशको विद्यमान कानुनमा बोक्सीसम्बन्धी कसैलाई पनि आरोप लगाउन मिल्दैन । बोक्सीको आशंकामा कुटपिट तथा गाली बेइज्जती गर्न पनि पाइँदैन । तर आज भन्दा ४०-५० वर्षअगाडि हाम्रासामु विभिन्न महिलाहरु बोक्सीको आरोपमा शंकित हुन्थे, तर कुटपिट भनेर गरिँदैनथ्यो । तान्त्रिक शक्तिले बोक्सी लागेको महिलालाई बक्न लगाइन्थ्यो । फलाना बोक्सी रहेछ भनेर थाहा पाउँथे र ब्यवहारिक रुपमा केही टाढा हुन्थे । बोक्सी लागेको महिलालाई तान्त्रिकले पिट्दा वास्तविक बोक्सीलाई चोट लाग्दथ्यो । तर बोक्सी लागेको महिलालाई कुटाइको चोट देखिँदैनथ्यो । यसरी कुट्ने समय हात र खुट्टाका बुढीऔंला च्यापेर समाइन्थ्यो र बल्ल कुटिन्थ्यो । बोक्सीले बुढीऔंला फुत्काउने प्रयास गर्दथे । केही गरि समाएको बुढीऔंला फुस्किएमा कुट्ने काम रोकिन्थ्यो । यसरी बुढीऔंलामा समाएर पिटेको चोट वास्तविक महिलामा देखिँदैनथ्यो । तर शंका गरिएका बोक्सी भने घरमा चोट लागेर लडिरहन्थे ।
तर, अचेल शंकाको भरमा जो-कोहीलाई पनि आरोप लगाइन्छ । शंका लागेकै भरमा कुटिन्छ पनि । अचेल तान्त्रिक शक्ति भएको मानिस नै भेटिँदैन । नक्कली धामी-झाँक्रीहरुले गरिव, बिधवा, निरिह महिलाहरुमाथि आरोप लगाएर प्रमाणित गर्ने प्रयास स्वरुप ती महिलामाथि हातपात हुने गर्दछ । कतिपयको यस्तै शंकाको भरमा मृत्यु पनि हुन्थ्यो । यसैले नै कडाइ गर्नका लागि नेपाल सरकारले ‘बोक्सीको आरोपसम्बन्धी कसूर तथा सजाय ऐन २०७२’ बनाएको छ ।
ज्ञातव्य छ, गथेमुग चह्रेबाट नै नेवाःहरुको चाडपर्वहरुको पनि थालनी पनि हुने गर्दछ ।
प्रतिक्रिया