- विकाश रौनियार
धादिङको बेनीघाट रोराङबाट वैदेशिक रोजगारीको सिलसिलामा विनोद बराल कुनै बेला बेलायत पुगेका थिए । बेलायतमा जम्नका लागि बरालले सुरुवाती दिनमा निकै कष्ट झेल्नु पऱ्यो । अल्लारे उमेर, अनुभवको अभाव बरालका लागि चुनौती त थियो नै, सँगै बेलायती रहनसहन र संस्कृतिमा भिज्नु आफैंमा कठिन थियो । समय क्रमसँगै बराल त्यहाँको भाषा र संस्कृतिमा अभ्यस्त मात्रै नभइ विभिन्न काम र सीपको अनुभव पनि सँगाल्दै गए । फलतः यतिबेला बरालले खाद्यविद् र स्वादका राजदूतको परिचय बनाएका छन् ।
बेलायतमा रेष्टुरेन्ट व्यवसायसमेत गरिरेहका उनै बरालले आफ्नो कर्म-अनुभवमा आधारित कृति सार्वजनिक गरेर आफूलाई लेखकको परिचय पनि थप्न सफल भएका छन् । बरालद्वारा लिखित कृति मःमःका पाइलाहरुको हालै विमोचन गरियो । लन्डनस्थित विजनेश डिजाइन सेन्टरको दि नेनशनल जियोग्राफिक ट्राभरल फुड फेस्टिभलको अवसर पारेर पुस्तक विमोचन गरिएको थियो ।

बेलायतमै रहेर नेपाली भाषा, संस्कृतिको प्रवर्द्धन गर्ने साहित्यकार, समाजसेवी, लेखक तथा विभिन्न अभियन्तासहित ठूलो संख्यामा नेपाली समुदायको उपस्थितिका बीच बरालको पुस्तकको भव्य रुपमा विमोचन गरियो । पुस्तकको साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राईका साथै मदिराविद तारा बाइवनका साथै लेखक बराल स्वयमले संयुक्त रुपमा विमोचन गरेका थिए । पुस्तकका विषयमा साहित्यकार नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता गुरुङका साथै लेखक बरालले थप प्रष्ट्याएका थिए ।
विमोचनपछि साहित्यकार नयाँघरेले हरेक परिकारसँगै देश, संस्कृति र आफ्नो मौलिकता पनि सँगै जाने भएकाले बरालको कृतिले नेपाली पहिचान र मौलिकताका साथ गौरव बढाउन पनि मद्दद्धत पुग्ने विश्वास प्रकट गरे । साथै नेपाली जनजातिका अन्य खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिको उल्लेखनीय योगदान रहने साहित्यकार नयाँघरेको भनाइ थियो ।

लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउन सधैं क्रियाशील भइरहने प्रतिवद्धता जनाए । अभियन्ता गुरुङ, उद्यमी राई र मदिराविद् राईले कृतिको सफलताका लागि शुभकामना दिएका थिए । कार्यक्रमको आयोजकमा मोःमोः फाउन्डेशन र सहआयोजकमा सरस्वती केन्द्र नेपाल रहेका थिए ।
विगत लामो समयदेखि लन्डनमा बसोवास गर्दै आएका बराल नेपाली खानाका परिकारको प्रवद्धनसँगै सामाजिक काम र नेपाली समुदायको भलाइमा उत्तिकै क्रियाशील रहेको जानकार बताउँछन् । धादिङ घर भएपनि बरालको जन्म पोखरामा भएको थियो । बराल स्न १९९९ मा बेलायत पुगेका थिए । हाल उनले बेलायतमा इन्धन स्टेशन र होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । मोमो र रोटी रेस्टुरेन्ट का संस्थापक बरालले मोमो फाउन्डेशन नामक गैरनाफामुखी संस्था खोलेर सामाजिक काममा पनि योगदान गर्दै आएका छन् ।
प्रतिक्रिया