बीचबाटोमा बेवारिस छोडेर जाने बाबुलाई भेट हुँदा पनि उनले कुनै नराम्रो ब्यवहार गरिनन् । बाबुलाई सबैभन्दा पहिले गाली गर्न सक्थिन्, रिसले पिट्न सक्थिन् । तर, उनले बाबुलाई केवल एउटा प्रश्न सोधिन्- ‘आमाले मेरो जिम्मा तपाईंलाई लगाएर जानुभयो, तर तपाईंले मलाई किन बीचबाटोमा छोडेर भाग्नुभयो ?’
✍ सुनिल उलक

केही दिनदेखि स्वस्तिकाको कथा-ब्यथा हेरिरहेको थिएँ । म धेरैबेर पीडामा रुमल्लिएँ । एउटा ४ वर्षकी अबोध बालिकालाई बिस्कुट ल्याइदिने बाचा गरेर अन्जान ठाउँमा एक्लै छोडेर उनका बाबु भागे । बुबा फर्केर आउने आशामा आँखा फिजाएर ती बालिका कतिबेर बसे होलिन् ? केही समयअगाडि आमाले छोडेर गएकी थिइन् । बुबा भने पनि आमा भने पनि एउटै सम्झेर बुबासँग कति खुशी साट्ने आशा बोकेकी थिइ होलिन् ! आमाले बुबाको सहारामा हुर्किने आशामा छोडेर गइन् । तर, बुबाले आफ्नै सानीमाकोमा छोडेर राखे । अन्तमा सानीमाले पनि फेरि बुबाको जिम्मा लगाइदिए । अब बुबाले आफ्नो छोरीलाई साथ दिनुपर्नेमा बुबा स्वार्थी भए । आफ्नो स्वार्थमा छोरी बाधक भएको ठानेर छोरीलाई धुलिखेल लगेर छोडिदिए ।
संयोग थियो कि त्यहाँ दयालु राधा माकजुको नजर ती सानी बालिकामा पऱ्यो । दिनभर रूँदै बसेकी ती सानी नानी देखेर धेरै माया लागेर घरमा लिएर गइन् । बाबा आउने बाटो कुर्दै दिन बिते, महिना बिते, वर्ष बिते । बाबाको बाटो हेर्दा-हेर्दा १४ वर्ष बितेको पत्तै भएन । तर, जब नागरिकताको आवश्यकता भयो, फेरि बुबा खोज्नुपर्ने बाध्यता भयो । नेपालको कानुनमा देशमा जन्म भएरमात्र नागरिक हुन पाइँदैन । बरु भारतमा जन्मिएर सहजै नेपाली नागरिक बन्न पाइन्छ, तर नेपालमा जन्मेकै आधारमा नागरिकता पाइँदैन । बुबा वा आमाको आवश्यकता हुन्छ । त्यसपछि पनि विभिन्न कागजातमा जनप्रतिनिधिको सिफारिस वा साक्षीका रुपमा केहीको हस्ताक्षर चाहिन्छ ।
स्वस्तिकाको अवस्थामा आमाले अर्कै विवाह गरेर घरजम गरिसकेकी थिइन् । बुबाले पनि अर्को विवाह गरेर नयाँ घर बसाइसकेका थिए । आमाले बुबाको काखमा छोडेर गएपछि छोरीप्रतिको जिम्मेवारीबाट मुक्त हुन खोजेकी थिइन् । बुबाले नयाँ विवाहमा छोरी बाधक बनेको ठानेर बीच बाटोमा त्यागेर हिँडेका थिए । यस्ता बाबुआमाहरूले आफ्नो स्वार्थ पूरा गर्न सन्तानको हत्या गर्न पनि पछि पर्दैनन् । हामीले यस्तो देखेका/पढेका छौँ । यदि कथंकदाचित बुबाआमा सम्पर्कमा नआइदिएको भए, के नेपालको कानुनले स्वस्तिकालाई नागरिकता दिलाउन सकिन्थ्यो त ?
अविवाहित रहँदा पनि वडाले अविवाहित भनेर प्रमाणित गरिदिनुपर्ने र सो प्रमाणित गर्नका लागि पाँच जनाको सर्जमिन गर्नुपर्ने प्रावधान भएको यो देशमा नागरिक हुँ भन्न वा बन्न पनि निकै गाह्रो छ । स्वस्तिकाको प्रसंगमा बुबाले नागरिकताका लागि कागजात बनाउन सहयोग गरिदिने बचन दिइरहँदा भोलि उनलाई बुबा भन्न बाध्य हुनुपर्ने नै हो ? जुन बाबुले चार वर्षको अवोध उमेरमा बीचबाटोमा त्यागेर मरेमरोस् बाँचेबाँचोस् भनेर छोडेका थिए, उनलाई नेपाली नागरिक बन्नकै लागि बाबु भन्नुपर्ने हो ?
बीचबाटोमा आफूले जन्माएको छोरीलाई छोडेर जाने यस्ता बाबुलाई सबैसामु देखाउन पनि बाबु खोज्नु परेको हो, अन्यथा यस्ता बाबुहरूको कुनै महत्व नै छैन ।
बाबुले बीचसडकमा छोडेर गएको एक वर्ष स्वस्तिकालाई राधा माकजुले छोरी झैँ स्याहारसुसार गरिन् । आफू विदेश जानुपर्ने भएपछि सिद्धार्थ बालगृहकी सञ्चालिका शर्मिला श्रेष्ठको जिम्मा लगाएर गइन् । शर्मिलाले स्वस्तिकालाई १३ वर्ष बालगृहमा राखिन् । पढाइन्, लेखाइन्, हुर्काइन् र संस्कार सिकाइन् । उनले राम्रो संस्कार सिकेको भएर नै बीचबाटोमा बेवारिस छोडेर जाने बाबुलाई भेट हुँदा पनि कुनै नराम्रो ब्यवहार गरिनन् । बाबुलाई सबैभन्दा पहिले गाली गर्न सक्थिन् । रिसले पिट्न सक्थिन् । तर उनले बाबुलाई केवल एउटा प्रश्न सोधिन्- ‘आमाले मेरो जिम्मा तपाईंलाई लगाएर जानुभयो, तर तपाईंले मलाई किन बीचबाटोमा छोडेर भाग्नुभयो ?’ यो प्रश्न सुन्दा सामान्य लाग्न सक्छ । तर यसको भाव गहिराइमा हेर्न हो भने मनको गहिराइसम्म गड्छ । मैले उनका हरेक भिडियो हेर्दा आँसु थाम्न सकिनँ । मेरा आँसु आँखाबाट बगे । म रोएँ र सोचेँ- यस्तो अब कहिल्यै कसैको पनि नहोस् ।
यस्ता बाबुको साथ अब कहिल्यै स्वस्तिका फर्कनु हुँदैन । उनी अब १८ वर्षको पुगिसकेकी छन् । उनले भविष्यको बाटो अब आफै कोर्न सक्छिन् । उनको बाँकी पढाई पूरा गर्न धेरैले उनलाई सहयोग गर्न सक्छन् । नेपालको कानुनका कारण तथा बीचबाटोमा आफूले जन्माएको छोरीलाई छोडेर जाने यस्ता बाबुलाई सबैसामु देखाउन पनि बाबु खोज्नु परेको हो, अन्यथा यस्ता बाबुहरूको कुनै महत्व नै छैन ।
अन्तमा, सडककिनारमा बुबाको बाटो हेरि रुँदै बसेकी सानी अबोध बालिका स्वस्तिकालाई आफ्नो छोरी झैँ स्याहार गर्दै घरको अनूभूति दिने राधा माकजू, अविभावकका रूपमा बालगृहमा हुर्काउने/पढाउने शर्मिला श्रेष्ठ तथा स्वस्तिकाको बुबा-आमा खोजिदिने अर्जुन भुसाल तीनै जना धन्यवादका पात्र हुनुहुन्छ ।
प्रतिक्रिया