पारा तेक्वान्दो टोली मलेसिया जाँदै

पारा तेक्वान्दो टोली मलेसिया जाँदै


दशौँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मलेसियाको सरावक जाने भएको छ ।

यही जुलाई २४ देखि सुरु भएको उक्त प्रतियोगिता अगष्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगष्ट १ तारिखमा हुनेछ ।

पाँचै खेलाडीले ‘के ४४ क्याटगोरी’अन्तर्गत विभिन्न तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी कास्य विजेता पलेशा गोवर्द्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् । कामना र रेणुको यो ‘डेब्यु’ अन्तरराष्ट्रिय प्रतियोगिता हुनेछ । चीनको साङ्घाइमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जाने जनाइएको छ ।

टोलीको व्यवस्थापकमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । नेपालले सुरुको संस्करणदेखि नियमित रूपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ । यो अवधिमा एक रजत र पाँच कास्य गरी ६ पदक जितेको छ । रञ्जना धामीले रजत र कास्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कास्य प्राप्त गरेका छन् ।

प्रतियोगितामा ४५ राष्ट्रका १५० खेलाडीको सहभागिता रहने प्रशिक्षक लामाले जानकारी दिए । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।