‘आशाको राजनीतिक इतिहास’

‘आशाको राजनीतिक इतिहास’


नेपाली राजनीतिक इतिहास अनेकौँ परिवर्तन र संघर्षहरूको साक्षी बनेको छ । शासन व्यवस्था फेरिए, शासकहरू आए/गए, राजनीतिक दलहरू उठे/गिरे, तर एक कुरा स्थिर रहयो- जनताको आशा !

१. राजा महेन्द्र प्रतिको आशा (२०१७ साल – पञ्चायतकाल)
राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र विघटन गरेर पञ्चायती व्यवस्था सुरु गरे । त्यसबेला जनताले उनीमा ‘एकता, अनुशासन, विकास’को नारासहित राष्ट्रनिर्माणको आशा देखे। पञ्चायतले बहुदल, प्रेस स्वतन्त्रता जस्ता अधिकारहरू रोक्यो, तर शिक्षा, सडक र संरचनागत विकासमा जनता आशावादी रहे। यसमा दृढ नेतृत्व र आधुनिक नेपालको निर्माणको आशा जगायो।

२. बीपी कोइरालाको आशा (२००७-२०३९)
बीपी कोइराला २००७ सालको क्रान्तिपछि २०१५ सालमा पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री बने । उनले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र राजनीतिक सहभागितामा विश्वास गरे। पञ्चायतको दमनपछि पनि २०३६ सालको जनमत संग्रहमा जनतालाई लोकतन्त्रको आशा देखाउने नेता बने । यस खण्डमा लोकतन्त्र, स्वतन्त्रता र समावेशिताको आशा जगायो ।

३. नेपाली कांग्रेसप्रतिको आशा (२०४६ सालको जनआन्दोलनपछि)
२०४६ सालको जनआन्दोलनपछि बहुदल पुनर्स्थापना भयो। कांग्रेस फेरि सत्तामा पुग्यो- संविधान निर्माण, बहुदलीय प्रतिस्पर्धा र मानवअधिकारको आधार तयार पार्‍यो। गिरीजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता नेताहरू जनताका नयाँ आशा बने । यसमा संविधान, शान्ति र स्थायीत्वको आशा जगायो ।

४. मदन भण्डारी र नेकपा (एमाले) प्रतिको आशा (२०५१ सालपछि उदय)
मदन भण्डारी प्रतिको अथाह आशा भैरहेको बखत उहाँको देहावसान पछि मनमोहन अधिकारी नेतृत्वमा एमाले २०५१ सालमा पहिलोपटक सरकारमा पुग्यो । सामाजिक न्याय, विकेन्द्रीकरण र श्रमजीवी वर्गको प्रतिनिधित्व गर्दै एमाले नेपाली जनताको अर्को आशा बन्यो। २०५२ सालको माओवादी युद्धको बीचमा पनि एमाले मध्यमार्गी शक्ति बनेर जनतामा स्थायीत्वको अपेक्षा बोकेर अघि बढ्यो। यसमा विकासमा आधारित वामपन्थी मार्गले ठूलो आसा जगायो।

५. प्रचण्ड : सशस्त्र द्वन्द्व र परिवर्तनको सपना (२०५२-२०६२)
२०५२ सालमा प्रचण्ड (पुष्पकमल दाहाल)को नेतृत्वमा सुरु भएको माओवादी युद्धले देशलाई गजबले हल्लायो । तर २०६३ सालमा शान्ति सम्झौता हुँदै, उनीहरू राजनीतिमा आए – संविधानसभा र गणतन्त्र ल्याउने मुख्य शक्ति बने । यसले सामाजिक रूपान्तरण र गणतन्त्रको आशा जगायो ।

६. बालेन र हर्क साम्पाङहरु : (स्वतन्त्र नेतृत्वको जनआशा)
२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन शाह, धरानमा मेयर जितेका बाट हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जिते। उनिहरुले पुराना पार्टीहरूको विकल्पमा सशक्त र युवा नेतृत्व प्रस्तुत गरे। बिना पार्टी, बिना राजनीतिक इतिहास – जनताले उनिहरुमा साहस, इमानदारी र परिवर्तनको आशा देखे । यसमा दलमुक्त सेवा, सुशासन र जिम्मेवार नेतृत्वको आशा आयो।

७. रास्वपा : एक वैकल्पिक शक्ति – रास्वपा (२०८० तिर)
राजनीतिक दलहरूमा व्यापक भ्रष्टाचार र अविश्वासका कारण जनताले नयाँ आशा खोज्न थाले । २०८० सालतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रवि लामिछाने जस्ता नेतृत्वले ‘राष्ट्रिय स्वाभिमान’को नारासहित जनताको मन जित्न थाले । नयाँ पुस्ता, सामाजिक सञ्जाल प्रयोग गर्ने वर्ग र युवाहरूले रास्वपामा विकल्पको आशा देखे। यसमा पुराना प्रवृत्तिको अन्त्य र नयाँ नीति व्यवहारको आशा जगायो।

८. हृदयेन्द्र शाह – राजसंस्थाप्रति पुनः आशा ?
राजतन्त्र २०६३ मा अन्त्य भए पनि केही वर्षपछि केही नागरिकमा प्रमुख गरि राप्रपामा फेरि शाही नेतृत्वको चाहना देखिन थाल्यो। हृदयेन्द्र शाह (राजा ज्ञानेन्द्रका नाति) प्रति भविष्यमुखी नेतृत्वको संकेत जनताले हेर्न थाले। यसमा परम्परागत नेतृत्वको नयाँ खोजको आशाको दियो बलेको पाइयो ।

नेपाल नेपालीको हो, त्यसैले हरेक नेपालीले नेपालको नेतृत्व गर्ने समान अधिकार छ। यो देशमा शासन प्रणाली बदलिन्छ, अनुहारहरू फेरिन्छन्, नाराहरू नयाँ बन्छन्- तर जनताको आशा कहिल्यै मर्दैन, बरु आशा बदलिन्छ । किनकि, आशा नै जीवन हो। किनकि, आशा नै मन हो।