- विशेष प्रतिनिधि, कपिलवस्तु
सरकारी अनुदानको रसायनिक मलको कालोबजारी गरेको आरोपमा प्रहरीले एक सहकारी सञ्चालकलाई पक्राउ गरी थुनामा राखेको छ ।
मायादेवी गाउँपालिकाको डुमरास्थित चेतना सामुदायिक विकास कृषि सहकारी संस्थाका सञ्चालक वशिष्ठ पाण्डेयलाई प्रहरीले सरकारी अनुदानको मलखादको कालोबजारी गरेको आरोपमा कालोबजारीसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धानका लागि थुनामा राखेको हो ।
मलखादको कालोबजारी गरेको आरोपमा पक्राउ परेका पाण्डेयमाथि थप अनुसन्धानको लागि थुनामा राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाण्डेयले सहकारीमार्फत खरिद गरेको मल कहाँ-कसलाई बिक्री गरेका छन् भन्ने बारेमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
मायादेवी गाउँपालिकाको वडा नं. ५ बलुहवाका कृषकहरुलाई बिक्री वितरण गर्न भनि साल्ट ट्रेडिङ कर्पोरेशनको कृष्णनगर कार्यालयबाट चेतना सामुदायिक विकास कृषि सहकारी संस्थाले १ सय ९७ बोरा यूरिया मल खरिद गरेको थियो, तर सो मल बलुहवाका कृषकहरुले पाएनन् । मलखाद कालोबजारी भइ बाटोमै हराएको कृषकहरुको गुनासो छ ।
पालिकामा मलखाद खरिद तथा वितरणका लागि नियमन गर्ने जिम्मेवारी उपप्रमुखको हुन्छ । यस सम्बन्धमा वडा नं. ५ का अध्यक्ष राघवेन्द्र पाण्डेयले आफूलाई कुनै जानकारी नभएको बताए । आफ्ना वडा र समग्र पालिकाकै किसानहरुलाई मलखादको निकै समस्या रहेको उनको भनाइ छ ।
आफ्नो वडाले पाउनुपर्ने कोटाको मल वडाका कृषकहरुसम्म नआएको भन्दै केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा हराएको मलखादको छानविन गरिदिन स्थानीय कृषकहरुले उजुरी दिएका थिए । यस सम्बन्धमा छानविन गर्न सम्बन्धित गाउँपालिकालाई नै जिम्मा दिएपनि गाउँपालिकाले छानविनका लागि कुनै प्रक्रिया अघि नबढाएपछि सोको छानविनका लागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ्गले जानकारी दिए ।
‘कृषकहरुलाई सहुलियत दरमा आउने मलखादको कालोबजारी गर्ने, सम्बन्धित वडाभन्दा बाहिर अन्यत्रै लगेर बिक्री वितरण गर्ने लगायतका नियमविपरीत कामकाज गर्ने जो-कोहीलाई पनि कानुनअनुसार कडा कारवाही हुन्छ’, प्रमुख जिल्ला अधिकारी तामाङले भने ।
स्थानीय प्रशासनले मलखादको कालोबजारी गर्ने सम्बन्धमा छानविन अघि बढाएसँगै जिल्लामा अवैध ढंगबाट मलखादको कालोबजारी गर्ने सहकारीका अगुवाहरुबीच त्रासको तरङ्ग पैदा भएको बुझिएको छ ।
प्रतिक्रिया