राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।
झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज (१२ असार) समापन हुँदैछ । शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले यहाँका होटलहरु भरिन थालेका थिए ।
आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा रु ५० करोडभन्दा माथिको व्यापार भएको छ । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका गौतम आवासमा प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले झण्डै रु २० करोड खर्च गरेको बताए । एकै दिन २० हजार जनासम्म चितवनमा बसेको उनको भनाइ छ ।
महाधिवेशनको उद्घाटन र त्यसको भोलिपल्ट ठूलो सङ्ख्यामा रास्वपा समर्थकहरु जिल्लामा आएको उल्लेख गर्दै उनले यसको प्रत्यक्ष लाभ भरतपुरलाई परेको तर्क गरे ।
सौराहालगायतका पूर्वी क्षेत्रका होटल र नवलपरासीको गैँडाकोटका होटलसम्म प्रतिनिधिहरु बसेको उनको भनाइ छ । आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने हुन्थ्यो भने चार दिन खानाको व्यवस्था पार्टीले गरेको थियो । अघि – पछि र अनुकूलको खाना प्रतिनिधिहरुले आफैं ब्यवस्था गरेर खाएका थिए । पार्टीको मात्र रु चार करोडभन्दा बढी खर्च हुने भन्दै उनले चितवनकाका सबै क्षेत्र एक साता चलायमान भएको धारणा राखे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार दुई हजार २०० हाराहारी साना ठूला गाडी बाहिरबाट आएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली झण्डै एक साता जिल्ला चलायमान भएको बताए । होटल रेष्टुरेण्ट भरिँदा यसले अन्य क्षेत्रलाई चलायमान बनाउने उनले बताए ।
दुग्ध जन्य पदार्थ, माछा, मासु, अण्डा, फलफूल जस्ता कृषि जन्य उत्पादनको राम्रो खपत भएको र मूख्य रुपमा भरतपुरको आर्थिक चक्रमा राम्रो प्रभाव परेको ब्यवसायीहरुको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डे भरतपुरका होटलहरुले राम्रो व्यापार पाएको र त्यसपछिको व्यपार सौराहालगायतका क्षेत्रमा भएको बताउँछन् । पहिलो पटक जिल्लामा आएका रास्वपाका नेता कार्यकर्ताले पर्यटकीय गन्तव्यहरु हेर्ने अवसर पाएको उनको भनाइ छ ।
प्रतिक्रिया