राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजनामा पारा पौडी खेलाडीहरुलाई तालिम सञ्चालन गरिएको छ । जापानबाट स्पोर्टस् फर टुमारो का प्रशिक्षकद्वय मासातो सकाई र यामानोका साथ नेपाली प्रशिक्षकहरुले पारा खेलाडीहरुलाई प्रशिक्षण दिएका छन् । भदौ ०६ गते देखि १० गतेसम्म संचालन हुने उक्त प्रशिक्षणमा सहभागी हुन पाएकोमा पारा खेलाडीहरुले खुसी व्यक्त गरेका छन् । नेपालमा नै अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण लिन पाउनु एउटा सुनौलो अवसर भएको एक प्रशिक्षार्थीहरुको भनाइ छ ।
यस प्रशिक्षणले पारा पौडी खेलाडीहरुलाई उर्जा दिनुको साथै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने पारा पौडी प्रतियोगितामा प्रतिष्पर्धा गर्न सहज हुने र यो प्रशिक्षणले उक्त प्रतियोगितामा आफ्ना खेलाडीहरुले राम्रो नतिजा ल्याउने विश्वास लिएको संस्थाका अध्यक्ष सरोज श्रेष्ठले बताए । जापानबाट आएका प्रशिक्षकहरु मासातो सकाई र यामानो तथा उनको समुहलाई नेपालको पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, ऐतिहासिक क्षेत्र, विश्व सम्पदा सूचिमा सुचिकृत स्थलहरुको भ्रमण गराइने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
जापानबाट आएका प्रशिक्षकसहितको प्रतिनिधिमण्डलले राष्ट्रिय प्यारालिम्पिक समितिकी अध्यक्ष राधा घलेसँग सौहार्द्धपूर्ण भेटघाट गरेको छ । यो भेटले खेलकुदको माध्यमबाट उज्ज्वल भविष्य सिर्जना गर्न द्विपक्षीय सहकार्य हुने अध्यक्ष घलेले बताइन् ।
नेपालमा अपांगता भएका व्यक्तिहरुको पारा पौडी खेलको विकास र विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता हुने अवसरहरुको खोजी गरी सबै प्रकारका आपङ्गता भएका खेलाडीहरु जस्तैः एम्पुटिज, दृष्टिविहीन, शारीरिक तथा बहुअपाङ्गता भएका खेलाडीहरु समेतको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन र सहभागिता गरी राष्ट्रको गौरव बढाउने उद्देश्यले ‘राष्ट्रिय पारा पौडी संघ नेपाल’ नामक गैरसरकारी संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौ तथा राष्ट्रिय खेलकुद परिषद्मा पनि दर्ता भएको संस्था हो ।
प्रतिक्रिया