अचेल तीज भड्किलो पर्वका रुपमा परिवर्तन हुँदै गएको छ । गहना तथा पोशाकको प्रदर्शन तथा पार्टी प्यालेसहरुमा जमघट भएर उच्छृंखल नृत्य गरेको हामी पाउँछौं । यसले समाजमा चाडपर्व भनेको केवल धनीका लागि या खर्च गर्न सक्नेहरुका लागि मात्र हो कि भन्ने बुझाउन थालेको छ । यस किसिमको विकृतिबाट समाज मुक्त हुनुपर्दछ ।
✍ सुनील उलक

तीज वास्तवमा तीन वटा हुने गर्दछ । साउनपछिका तीन पक्षका तृतियामा गरिने पूजा भएको हुँदा ‘त्रीज’ भनिएको थियो, कालान्तरमा यसको नाम ‘तीज’ रहन गएको हो । प्रत्येक साउन शुक्ल तृतिया, भाद्र कृष्ण तृतिया तथा भाद्र शुक्ल तृतिया गरेर हरेक पन्ध्र दिनमा तीन पटक तीजको पूजा हुने गर्दछ । तर अचेल एउटै हरितालिका तीज मात्र मनाउने गरिएको पाइन्छ । पहिलो तीज हरियाली तीज र दोश्रो तीज ठूलो तीजका रुपमा मनाइन्छ । पहिलो तीजमा अविवाहित र विवाहित दुबैले ब्रत बस्न सकिन्छ । दोश्रो तीजमा केवल पार्वतीको पूजा गरिन्छ । तेश्रो तीज हरितालिका तीजमा पनि विवाहित र अविवाहित महिला सबैले ब्रत बस्ने गर्दछन् ।
नेपालमा भने हरितालिका तीज मात्रै मनाउने गरिन्छ । वास्तवमा हरितालिका तीजको अर्थ पार्वतीको विवाह बिष्णुसँग हुन लागेपछि पार्वतीको साथीहरुले उनको घरबाट हरण गरेर अर्थात लुकाएर जंगल लगि बिष्णुसँग विवाह हुनबाट जोगाएको हुँदा यो दिनको तीजलाई हरितालिका तीज भन्ने गरिएको हो । हरित (अपहरित) तथा आलिका (महिला मित्र) शब्दबाट हरितालिका हुन गएको हो । वास्तवमा बिष्णु भगवानले पार्वतीले साँच्चै महादेव नै पति पाउँ भनेर ब्रत बसेको हो वा सुन्दर पति पाउँ भनेर बसेको भन्ने परीक्षा लिन पुगेका थिए । तर पार्वती महादेव भन्दा पनि सुन्दर बिष्णु भगवानले विवाह गर्न आउँदा पनि लुकेर जंगल गइ अझ कठोर ब्रत बसेपछि महादेवले दर्शन दिइ विवाहका लागि मञ्जुर भएका थिए । यसैले यस दिन जसले कठोर ब्रत बस्दछ उसले आफूले चाहेकै पति पाउने मान्यता छ ।
तीजको ब्रतलाई विभिन्न आख्यानका उदाहरण दिएर हजारौँ वर्षदेखि गरिँदै आएको भन्ने वर्णन गर्ने गरिन्छ । तर तीजको ब्रतको बारेमा पहिलो पटक सत्रौँ शताव्दीमा लेखिएका ब्रतका किताबहरुमा मात्र उल्लेख गरिएको भेटिन्छ । त्यसभन्दा अगाडि लेखिएका ब्रतका कितावहरुमा हरितालिका तीजको ब्रतको कतै उल्लेख गरिएको पाइँदैन । वि.सं. १६६९ मा कमलाकर भट्टले कर्मकाण्ड तथा ब्रतका विषयमा निर्णयसिन्धु पुस्तक लेख्दा मात्र हरितालिका तीजको ब्रतका बारेमा लेखे । यस पछि शंकर भट्टद्वारा लिखित ब्रतार्क, विश्वनाथद्वारा लिखित ब्रतराज, विष्णु भट्टको अहल्याकामधेनु जस्ता ब्रतसम्बन्धी लेखिएका पुस्तकहरुमा पनि उल्लेख गरेको भेटिन्छ । यसरी सत्रौ शताव्दीमा मात्र भारतमा हरितालिका तीजको ब्रत बस्ने परम्पराको शुरुवात भएको मान्न सकिन्छ ।
यसका साथै हरितालिका ब्रतको भोलिपल्ट गणेश चतुर्थी तथा पर्सिपल्ट ऋषि पञ्चमीको पूजा गर्ने गरिन्छ । यी दुबै पूजालाई पनि हरितालिकासंग नै गाँस्ने गरिन्छ । गणेश चतुर्थीलाई भने गणेशको जन्म दिनका रुपमा लिने गरिन्छ । हिन्दू आख्यानहरुका अनुसार गणेश पार्वतीको गर्भबाट जन्म भएको छोरो होइन । आफैबाट सिर्जित र द्वारपालका रुपमा राखिएकोमा महादेवको क्रोधले शिर काटिदिए पछि पार्वतीको बिन्तीले गर्दा पून हात्तीको शिर जोडेर जीवित पारिदिएको भनिन्छ । कथा यस्तै छ, मानव – त्यो पनि भर्खरै सिर्जित सानो स्वरुपमा बिशाल हात्तीको शिर जोडिन सक्नु सम्भव जस्तो लाग्दैन तर आख्यानहरुमा लेखिएपछि र आस्थासंग गाँसिएपछि सम्भव मान्नै पर्दछ । नेवाः समुदाय यस दिन चथाःका रुपमा पूजा गर्ने गर्दछन् ।
तेश्रो दिनलाई ऋषी पञ्चमीका रुपमा पूज्ने गरिन्छ । वास्तवमा ऋषिपञ्चमी पुरुषहरुले पूजा गर्नका लागि मनाउन थालिएको हो । तीजप्रति महिलाहरुका उल्हासको कारणले गर्दा बिस्तारै ऋषिपञ्चमी पनि महिलाहरुकै पर्वका रुपमा स्थापित हुन पुग्यो । अचेल ऋषीपञ्चमीका दिन पुरुषहरु ब्रत बसेको बिरलै भेटिन्छ ।
यसरी विभिन्न आख्यानहरुले गर्दा हाम्रा जीवनमा बनाइएका अन्धविश्वासहरु हुन् । यी सबैमा धर्मप्रतिका आस्थाले गर्दा अविछिन्न रुपमा गाँसिन थालेका हुन् । के साँच्चै यी ब्रतहरुले महिलाले सोचेजस्ता वर पाउँछन् वा यसरी ब्रत बसेर पाएका पति, महिलाले सोचेजस्तो वा चाहेजस्तो नै हुने गर्दछ त भन्ने प्रश्नको जवाफ पाइँदैन । विवाह भनेको सम्झौता हो । दुइ परिवारको मेल हो । जबसम्म पति र पत्नीले एक अर्काका गुण र अवगुणहरुमा सम्झौता गर्दैन विवाह सफल हुन सक्दैन । पतिका अवगुण मात्रै खोज्दै हिड्ने वा देख्ने तथा पत्नीको अवगुण र दोष मात्रै देख्ने र खोज्दै हिड्ने गरेमा दाम्पत्य जीवन सुखद हुदैन । मानव भएर जन्मे पछि हरेक महिला तथा पुरुषमा गुणहरुका साथ अवगुणहरु पनि भरिएका हुन्छन् । यसलाई हामीले स्विकार गर्नैपर्दछ ।
नेवाःहरुले मान्ने लाखेको कथामा एउटा कथा यस्तो पनि छ । एकपटक नामुद तान्त्रिकले मानिसहरुमा भएका अवगुणहरु सबै मन्त्रका बलले खिँचेर माटोको ठूलो भाँडामा राखेर बन्द गरेछ । तर केही समयपछि ती अवगुणहरुबाट राक्षस बनेछ । मानिस भने देवतासरह बनेछ । मानिसमा छलकपट तथा अवगुणहरु केही पनि नहुँदा समाज अधुरो भएछ । उता अवगुणहरुले मात्र भरिएको राक्षसले सबैलाई दुख दिन थालेछ । त्यसपछि राजाले फेरि मानिसमा भएको आधा गुण राक्षसमा राखेछ र राक्षसमा भएको आधा अवगुण ल्याएर मानिसमा राखेछ । त्यसपछि भने हेर्दा डरलाग्दो राक्षस मानिसको लागि सहयोगी भएर लाखे भएछ । मानिसहरुमा भने राक्षसको आधा अवगुणहरु राखिए पछि मानिस हेर्दा शान्त र सौम्य तर भित्रभित्रै लुकेको राक्षसीपन पनि हुन थालेछ । यसर्थ मानिसहरु बाहिर जस्तो देखिए पनि भित्र कतै न कतै उ भित्र पनि अवगुणहरु वा राक्षसीपन लुकेकै हुन्छ ।
पूर्णरुपमा भगवान झै गुण मात्र भएको पुरुष वा पति हुनै सक्दैन । जो आफूले प्राप्त गऱ्यो उबाट सन्तुष्ट हुन सक्यो भने जीवन सुखमय हुन्छ । तर अरुलाई हेरेर आफ्ना पति निकम्मा वा गलत सोच्न थाल्यो भने बैबाहिक जीवन सुखमय हुँदैन ।
तर अचेल तीज भड्किलो पर्वका रुपमा परिवर्तन हुँदै गएको छ । गहना तथा पोशाकको प्रदर्शन तथा पार्टी प्यालेसहरुमा जमघट भएर उच्छृंखल नृत्य गरेको हामी पाउँछौं । तीजका दिन दिनभर निराहार बसेर ब्रत बस्नुपर्ने हुँदा एक दिन अगाडि दर खाने भन्दै मिष्ठान्न खाने परम्परा रहेकोमा अचेल भने महिनौ अगाडिदेखि दर खाने कार्यक्रम राखेको हामी पाउँछौं । साथै तीजको ब्रतका दिन पूजा गरेपछि रमाइलोका लागि गरिने नाचगान पनि अश्लिल लाग्ने गीतहरु र उच्छृंखल नृत्यले भरिएको पाउँछौं । यसले समाजमा चाडपर्व भनेको केवल धनीका लागि या खर्च गर्न सक्नेहरुका लागि मात्र हो कि भन्ने बुझाउन थालेको छ । यस किसिमको विकृतिबाट समाज मुक्त हुनुपर्दछ ।
करिव ६० वर्षअगाडि तीज पर्व भड्किलो थिएन भन्ने यी प्रस्तुत तस्बिरहरुले प्रमाणित गर्दछ-

प्रतिक्रिया