फार्नबोरो, गत शनिवार, फार्नबोरोस्थित सामुएल कोडी कालेजको हलमा इलाम समाज बेलायतले वार्षिक भेला भब्यताको साथ मनायो ! दिउँसोको १ बजे शुरु भएको उक्त कार्यक्रमको शुरुमा हलदेखि बाहिर ब्यवस्थापन गरिएको सुरक्षित स्थानमा नेपालमा महाभूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै १०८ बत्ती बालेर, २ मिनेट मौन धारण गरिएको थियो ! यस श्रद्धान्जली कार्यक्रम लगत्तै उपस्थित सम्पूर्ण ब्यक्तित्वहरु हलभित्र प्रस्थान गर्नु भएका थिए त्यसपछि सदा झै अध्यक्ष कमल राईको सभापतित्वमा औपचारिक कार्यक्रम संचालन भएको थियो !
कार्यक्रममा आसन ग्रहणपश्चात् इलाम समाज बेलायतका अध्यक्ष कमल राई अनि प्रमुख अतिथि डा चन्द्र लक्सम्बाले पानसमा दिप प्रज्वलन गरेर उदघाटन गरेका थिए भने संस्थाका उपाध्यक्ष श्रीमती प्रमिला राईले स्वागत मन्तब्य ब्यक्त गर्दै स्वदेशमा घटित महाभूकम्पले गरेको विनासको कारण हरेक परदेशीहरू मर्माहत भएको र सक्दो सहयोग गर्नु पर्ने कुरामा जोड दिदैँ यस बर्षको वार्षिक जमघट तिनै महाभुकम्पमा परि अकाल ज्यान गुमाएका दिवंगतहरुका एवं पीडितहरुप्रति समर्पित रहने र यस् भेलामा उक्त घटनाबाट मर्माहत भएका सम्पूर्ण दुखित मनहरुले आफ्-आफ्नो सुखदुख साट्नको निम्ति उपयुक्त रहने मनसाय ब्यक्त गरेकी थिईन !
यसरी शुरु भएको कार्यक्रममा बेलायतवासी इलामे नानीहरु एवं अन्य ब्यक्ति बिशेषले गरेको उल्लेखनीय कार्यप्रति सम्मान एवं बधाइका प्रमाणहरु वितरण गरिएको थियो ! हरेक बर्ष हुने गरेको मनोरन्जन कार्यक्रमलाई निरन्तरता दिनको निम्ति स्थानीय गायक गायिकाहरुले देशभक्ति, राष्ट्रप्रेम र भूकम्प सम्बन्धी गीतहरु प्रस्तुत गरेका थिए ! इलामे संगीतकार एवं गायक चोक गुरुङले भर्खरै लयबद्ध गरेका गीतकार मुकेश राईद्वारा रचित
देशको निम्ति मर्न परे, दिनेछौ जीवन बलिदान
धरहरा ढलेर कहिल्यै, ढल्दैन हाम्रो स्वाभिमान
चलेर आँधी, भूकम्प, झुक्ने छैन हाम्रो शान !
बोलको गीत अनि गायक किशोर मुखिया अनन्तले वरिष्ट गायक, संगीतकार गोपाल योन्जनद्वारा सिर्जित “देशले रगत मागे मलाई बली चढाउनु” बोलको गीत गाउँदा उपस्थित सम्पूर्ण दर्शकहरु भावविव्हल बनेका थिए !
सो कार्यक्रममा करीब २८० जनाको उपस्थित रहेको थियो, जसमा छिमेकी जिल्लाहरुबाट प्रतिनिधि स्वरुप ताप्लेजुङ् समाज बेलायतका वरिष्ट सल्लाहकार डा चन्द्र लक्सम्बा र पाँचथर समाज बेलायतबाट उक्त संस्थाका महासचिव नगेन्द्र राज नेम्बाङको उपस्थिति रहेको थियो ! यसै गरेर कार्यक्रममा उपस्थित रहनु भएका इलाम् जिल्लाका बेलायतमा रहँदै आउनु भएका जेष्ठ नागरिक श्याम बहादुर देवान ज्युलाई खादा ओढाई आसन ग्रहण गरी सम्मान गरिएको थियो ! यसै गरी कार्यक्रममा इलामे स्रस्टाहरु संगीतज्ञ मुकेश गजमेर, लोकप्रिय गीतकार निलम आङ्बुहाङ राईको पनि उपस्थित रहेको थियो ! औपचारिक कार्यक्रम संचालन गीतकार मुकेश राईले गरेका थिए !
कार्यक्रममा भेटघाट गोर्खा रेस्टुरेन्टले स्वादिष्ट भोजन र पेय पदार्थ उपलब्ध गराएका थिए ! कार्यक्रमको निम्ति साउण्ड् सिस्टम हेमन्त गौचनले उपलब्ध गराएका थिए ! यसरी हरेक बर्ष इलाम् समाज बेलायतद्वारा आयोजना गरिने यस बर्षको इलामे जमघट अत्यन्त सौहार्दपूर्ण वातावरणमा करीव साँझ ८ बजे अन्त्य गरिएको थियो !
-मुकेश
प्रतिक्रिया