सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा संयुक्त जनजागरण अभियान सुरु
सङ्घीय लोकतान्त्रिक मोर्चा आबद्ध मधेसवादी दलहरूले संयुक्त जनजागरण अभियान सुरु गरेका छन् । मोर्चाले बुधबार (१८ भदौ) राजविराज (सप्तरी)मा ‘वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा जनजागरण अभियान’ कार्यक्रम आरम्भ गरेको हो ।
कार्यक्रमका वक्ता नेताहरूले मधेशका राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा मिलेर जाने उद्घोष गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वीनारायण शाहदेखिकै शासकहरूले तराई-मधेसमा ‘औपनिवेशीकरण’ गरेको भन्दै आलोचना गरे । राणाको समयमा मधेसका उब्जाउ जमिन राणा परिवारमा बाँड्ने काम र त्यसलाई पञ्चायत हुँदै हालको भूमि विधेयकसम्म आइपुग्दा निरन्तरता दिन खोजिएको आरोप उनले लगाए ।
‘राणाकालमा बक्सिकको नाममा यहाँको उर्वर भूमि आफ्ना मान्छेलाई बाँडियो । पञ्चायतमा पनि भूमिसुधार र हदबन्दीका नाममा बाँकी रहेका जग्गा हड्पने र पहाडका मान्छेलाई बसाउने काम भयो । पुनर्वास र बसोबास कम्पनीका नाममा पहाडी शासकले मधेस उब्जाउ जग्गा हडपियो । हालको विधेयकले पनि त्यस्तै समस्या निम्त्याउने हाम्रो बुझाइ छ’, अध्यक्ष यादवको भनाइ थियो । उनले सङ्घीयता समावेशिता, सङ्घीय गणतन्त्र र लोकतन्त्र मधेसी जनताको पक्षमा नदेखिएको भन्दै पहिचानका अधारमा पुनः संरचना गरिनुपर्ने जिकिर गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले एक हिसाबले गौर घटनाको राजनीतिक समाधान भइसकेको अवस्थामा बदनियतपूर्ण ढङ्गले मधेसी नेतामाथि आक्रमणको प्रयास भइरहेको धारणा राखे भने राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा पनि मधेसी जनताले विभिन्न चरणको आन्दोलन गरेको स्मरण गर्दै फेरि सबै मिलेर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तमलोपा अध्यक्ष वृषेशचन्द्र लाललगायत नेताहरूले पनि सम्बोधन गरेका थिए भने राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया