७० लाख लुटिएको घटनामा प्रहरीद्वारा अनुसन्धान सुरु

७० लाख लुटिएको घटनामा प्रहरीद्वारा अनुसन्धान सुरु


नुवाकोटको तारकेश्वर गाउँपालिका-१ स्थित सेल्डाँडामा गत बुधबार राति ७० लाख रुपैयाँ नगद लुटिएको भनेर दाबी गरिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

स्थानीय खम्बासिंह लामाको घरमा प्रवेश गरेका अज्ञात समूहले नगद लुटेको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिएका छन् ।

घटनास्थल पुगेका प्रनाउ लामाका अनुसार मध्यरातमा आएका करिव ६ जनाको समूहले घरमा रहेका चार जनालाई नियन्त्रणमा लिएर नगद लुटेको पीडित परिवारले दाबी गरेका छन् ।

‘घटनास्थलको अध्ययन र पीडित परिवारसँगको बयानका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानमा नगद चोरी भएको घटनाको थप तथ्य आवश्यक छ’, प्रनाउ लामाले भनेका छन्, ‘नगदको आयस्रोत, घटनामा संलग्न सम्भावित व्यक्तिको पहिचानलगायत सन्दर्भमा अनुसन्धान भइरहेको छ ।’

६३ वर्षीय खम्बासिंहसहित उनको छोरा, बुहारी र नातीको मुखमा पट्टी लगाइ हातखुट्टा बाँधेर नगद लुटिएपछि छिमेकीमार्फत उनीहरुको उद्धार गरिएको वडा नं १ का अध्यक्ष चक्र तामाङले जानकारी दिए ।

त्यसलगत्तै प्रहरी चौकी दाङ सिंहको प्रारम्भिक अनुसन्धानपश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतको टोली बिहीबार (१९ भदौ) अपराह्न घटनास्थल पुगेको हो ।

स्थानीयका अनुसार कृषि पेसामा आबद्ध खम्बासिंहले स्थानीय गाउँघरमा पशुचौपाया, अन्नबालीको कारोबार गर्दै आएका थिए । लुटिएको भनिएको उक्त रकम सोही माध्यमबाट सङ्कलन गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।