त्यो काङ्ग्रेसको सपना मात्रै: नेमकि पार्टीका अध्यक्ष बिजुक्छे

त्यो काङ्ग्रेसको सपना मात्रै: नेमकि पार्टीका अध्यक्ष बिजुक्छे


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे नेपाली राजनीतिमा सधैं सत्ताबाट टाढा रहने खरो, स्पष्ट वक्ता र अध्ययनशील नेताको रूपमा परिचित हुनुहुन्छ । पदबाट टाढा रहँदै आउनुभएका बिजुक्छे एमाले र काङ्ग्रेसले सरकारमा गएर आफ्नो औचित्य समाप्त पारेको धारणा राख्नुहुन्छ । अब माओवादीले चाहेअनुसारको संविधान बन्ने आशङ्का उहाँले व्यक्त गर्न थाल्नुभएको छ । उहाँसँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी राजनीतिक गतिरोधबाट मुलुकले किन निकास पाउन नसकेको ?
नेपाली काङ्ग्रेस र एमाले दुवै प्रतिपक्षी बन्ने दलहरू आफैं सरकारमा सानो भाग लिएर जानु, सडक, सदन र प्रतिपक्ष सबै अरूलाई छाड्दाखेरि यो अवस्था देखापरेको हो । मुलुकले निकास पाउन नसकेको हो ।
माओवादी, काङ्ग्रेस र एमालेमा दोषीचाहिँ को ?
काङ्ग्रेस र एमाले नै प्रमुख रूपमा दोषी हुन् नि । उनीहरू सरकारमा जानुहुने थिएन ।
काङ्ग्रेस र एमाले त सहमतिका लागि भन्दै सरकारमा गएका हुन् नि ?
सहमति भनेर सहमति हुने चिज हो र ? त्यति पनि नबुझ्ने ? प्रतिपक्षका भूमिका निर्वाह गर्नुपर्ने काङ्ग्रेस र एमालेले सानो भाग लिएर सरकारमा गएपछि उनीहरूको भूमिका नै नष्ट हुन पुग्यो ।
त्यसो भए काङ्ग्रेस र एमालेको भूमिका अब सकियो ?
त्यसो भन्नुभन्दा पनि उनीहरूले जुन भूमिका निर्वाह गर्न सक्नुपर्दथ्यो त्यो खेल्न सकेनन् ।
अहिलेको घटनाक्रम माओवादीको रणनीति हो कि कार्यनीति ?
यो त माओवादीको भन्दा पनि काङ्ग्रेस र एमालेको सत्ता लोलुपता हो । चारजना नेताको मन्त्री बन्ने चाहना पूरा गर्नको लागि देशलाई च्याँखेमा पारेको हो ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा जानुहुने थिएन भन्नुभएको हो ?
हो, दुवै पार्टी प्रतिपक्षमा बसेको भए राम्रो भूमिका निर्वाह गर्न सक्दथे । सरकारमा जानुहुने थिएन । अहिले त अरूले दिएको खाने र अराएकोबाहेक केही गर्न नै नसक्ने अवस्थामा उनीहरू छन् ।
अब के हुन्छ मुलुकमा ?
मुलुक अहिले अन्योलमा छ । काङ्ग्रेस र एमालेले अहिले भूमिका खेल्न सक्दैनन् । अब त माओवादीले जे भन्छ त्यही मान्नुपर्छ । होइन भने माओवादी, काङ्ग्रेस, एमाले र मधेसवादीभित्रका जाति, जनजातिका साथीहरू एक भएपछि बहुमतले सबै कुरा पारित हुन्छ ।
सभासद्हरूले पार्टीको ह्विप तोड्लान् ?
ह्विप तोड्छन् र माओवादीलाई साथ दिन्छन् । बहुमत काङ्ग्रेस र एमालेको पक्षमा हुन्छन् ।
त्यसो भए संविधान त माओवादीको चाहनाअनुसार आउला नि ?
हो, आउँछ । त्यसलाई रोक्न सक्दैन ।
त्यसलाई रोक्न के गर्नुपर्ला ?
कसले रोक्ने ? मन्त्री दिएपछि दौडेर जाने । प्रतिपक्षमा एकजना पनि भएको भए खबरदारी हुन्थ्यो । अब उपेन्द्र यादवले खबरदारी गर्छन् र ?
अब मुलुकमा फेरि द्वन्द्व हुन्छ ?
एमाले र काङ्ग्रेस त लतारिँदै छ । माओवादी जताजता गयो काङ्ग्रेस र एमाले त्यतात्यता जानुको विकल्प म देख्दिनँ ।
आफ्नो नेतृत्वमा सरकार बनाउन काङ्ग्रेस सरकारमा गएको भनिन्छ नि ?
त्यो सपना मात्रै हो । काङ्ग्रेसको नेतृत्वमा सरकार नै बन्दैन । किन बनाउने जसको नेतृत्वमा बहुमत नै छैन ।
पाँचबुँदे सहमति भएको छ त ?
पाँचबुँदे सहमति सकियो अब, माओवादीले खेल्यो, सकियो । बलको अगाडि त्यो गयो । काङ्ग्रेसले अब आफ्नो नेतृत्वमा सरकार बनाउन जेमा पनि सही गर्न सक्नुपर्‍यो ।
जेठ १४ मा संविधान आए त काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ला नि ?
त्यो त देशले दिने कुरा हो नि ।
त्यसो भए जेठ १४ गते संविधान आउँदैन ?
संविधान आए पनि काङ्ग्रेस र एमालेको इच्छाअनुसारको आउँदैन । त्यसको विपरीत आउँछ । लतारिए जाने हो काङ्ग्रेस र एमालेले जहाँको त्यहीँ सही गर्ने हो भने संविधान आउँछ । काङ्ग्रेस र एमालेको हातमा छ ।