कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, सरकारबाट कांग्रेस बाहिरिने सम्भावना प्रबल

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, सरकारबाट कांग्रेस बाहिरिने सम्भावना प्रबल


मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

भोलि भदौ २४ गते बिहान ९ः०० बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

आज ‘जेन-जी’ले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छ भने सयौँ प्रदर्शनकारी घाइते भएका छन् । यसै विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । कांग्रेस सुत्रका अनुसार भोलिको बैठकपछि नेपाली कांग्रेसले सरकारबाट बाहिरिएको घोषणा गर्ने सम्भावना प्रबल छ । पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सरकारबाट पार्टी बाहिरिन ढिला गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवालाई घच्घच्याइरहेका सुत्रको दाबी छ ।