गृहमन्त्रीले दिए राजीनामा, घटनाको विवरण सङ्कलन गर्दै गृहमन्त्रालय !

गृहमन्त्रीले दिए राजीनामा, घटनाको विवरण सङ्कलन गर्दै गृहमन्त्रालय !


गृहमन्त्री रमेश लेखकले ‘नैतिकताको आधारमा’ राजीनामा दिएका छन् । ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (२३ भदौ) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राखेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका हुन् ।

गृहन्त्रीले राजीनामा गर्नुपर्ने भनी कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आवाज उठाएका थिए । सोही बैठकमै आफूले राजीनामा दिने प्रतिबद्धता गृहमन्त्रीले जनाएका बताइएको छ ।

पार्टीको बैठकमा सहभागिता जनाएलगत्तै मन्त्रिपरिषद बैठकमा सरिक भएका गृहमन्त्री लेखकले नैतिकताको आधार देखाइ राजिनामा दिएका हुन् ।

यसैबीच गृह मन्त्रालयले काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन भइरहेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण सङ्कलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताएका छन् ।

आन्दोलनले उग्ररुप लिएपछि काठमाडौं, ललितपुर, रुपन्देही, कास्कीलगायत जिल्लाका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रदर्शनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रवक्ता काफ्लेले बताएका छन् ।

प्रदर्शनकारीले काठमाडौंलगायत देशका विभिन्न भागमा रहेका सरकारी संरचना र सवारीसाधनमा आगजनीसमेत गरेका छन् भनने प्रहरीले काठमाडौंबाट ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।