✍ डीपी त्रिपाठी
१. सरकार र राजनीतिक नेतृत्वप्रति आम मानिसमा चरम असन्तुष्टि थियो र छ, तर सत्तामा रहेकाहरूले आफ्नाप्रति कुन हदसम्म घृणा बढेको छ भन्ने हेक्का राखिरहेका थिएनन्, शायद अहिले पनि छैन !
२. संसदमा रहेका सबै दलहरूप्रति जनस्तरमा आस्था र विश्वास स्वात्तै घटेको छ, मानिसलाई यिनका विरूद्ध जुरुक्कै उठ्न निहुँ चाहिएको थियो । सोसल मिडिया हठात् बन्द गरिएपछि त्यसमा लत बसिसकेका सबैमा सरकारप्रति आक्रोश पैदा भयो १
३. विश्व नयाँ ढङ्गले ध्रुवीकृत हुँदै गरेको र सबै शक्तिराष्ट्रहरू नेपालमा आफ्नो अनुकुलता सिर्जना गर्न प्रयासरत रहेको जानकारी सत्तालाई नभएको भन्न मिल्दैन । परिस्थितिलाई अराजकतामा लैजाने र सैन्य टेकओभर गराएर आफू अनुकुलको पात्रलाई कार्यकारी प्रमुख बनाउने योजनामा अदृष्य शक्ति रहेको बुझ्न सकिन्छ । शक्तिराष्ट्रहरूकै सहयोगमा राजनीतिक परिवर्तन र सत्ताप्राप्त गर्न सफल दलका नेताहरूले कुन देशले नेपालमा कसरी खेल्दैछ र तिनको नियतमा नियन्त्रण ल्याउन कसरी सकिन्छ भन्ने बारे जानकारी नराख्नु या प्रतिरक्षाको रणनीति बनाउन नसक्नु आफैमा गम्भीर पक्ष हो !
४. देशका राजनीतिक मुद्दामा प्रवेश गर्न नचाहने तर भ्रष्टाचार र सुशासनको नाममा नेता मात्र बदल्न कुन कुन शक्ति निरन्तर प्रयासरत छन् र तिनले प्रभावित गर्ने भनेको सबैभन्दा युवा पुस्तालाई हो भन्ने नबुझ्नुले पनि सरकारमा निकम्माहरू रहेको पुष्टि गर्दछ।
५. नयाँ पुस्ता सामाजिक सन्जाललाई आफ्नो बाबुआमालाई भन्दा बढी प्रेम गर्छ , हरेक घरमा बाबुआमा र छोराछोरी बीच द्वन्द्वको एउटा प्रमुख कारण सोसल मिडियाको लत हो । जे गर्थे कोठामा बसेर सन्जाल मार्फत नै गर्थे, तर विद्या भण्डारीलाई मात्र शत्रु देख्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान अधिवेशनको मुखमा विद्याकै आवाज बन्द गराउने भित्री नियतले सामाजिक सन्जाल हठात बन्द गरिदिएपछी युवापुस्ताले आफूलाई थाम्न सकेनन् ! कोठाबाट सिधै सडकमा आउने वातावरण बन्यो, त्यसनिम्ति सत्तापक्ष र अझबढी प्रधानमन्त्री ओली जिम्मेवार हुनुहुन्छ ।
६. सम्भावित आक्रोश र चलखेलको अनुमानसम्म गर्न नसक्नेहरूमा राज्य सन्चालन गर्नसक्ने क्षमता रहन्छ भनेर विश्वास गर्न सकिदैन । नेपालमा अदृष्य शक्तिले युवाहरूको जबर्जस्त सन्जाल खडा गर्दै गरेको, एनफ इज एनफका नाममा जुन उमेर समूहका मानिसलाई सङ्गठित गरिएको थियो, त्यो खतरनाक सुरुवात थियो, बालेन्द्र आदिलाई चुनावमा जिताउन सक्रिय रहेको उक्त सन्जाल अहिले कस्तो अवस्थामा के गर्दैछ र तिनलाई परिचालन गर्न कुन मुलुकले कसरी फण्डिङ गरिरहेको छ भन्ने सूचना राख्न सरकार पूर्ण असफल रह्यो । दल या समूह भन्दा ब्यक्ती विशेषलाई पपुलर बनाइदिने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने सम्वैधानिक ब्यवस्था गराउने र जिलेन्स्कीलाई झैँ रातारात सत्तामा पुर्याएर काम गराउने योजनाले निरन्तर काम गरिरहेको तर्फ सरकार भन्नेले ध्यान पुर्याएको पाइएन ।
७. नैतिकताको आधारमा राजीनामा दिएर समस्याको समाधान हुने चरण समाप्त भएको छ । निकाश साँच्चै खोज्ने हो भने तपशीलका कदम चाल्नु उपयुक्त हुने देखिन्छ –
(क) नागरिक समाजका प्रतिनिधि र बुद्धिजीवीसहितको सर्वपक्षीय बैठक आयोजना गरि समाधानका उपायहरूमा एक मत बनाउने ।
(ख) प्रधानमन्त्रीले राजीनामा दिने ।
(ग) नागरिक प्रतिनिधि समेत रहेको उच्च स्तरीय जाचबुझ आयोग गठन गरि रमेश लेखक लगायत हत्याकाण्डमा प्रत्यक्ष/अप्रत्यक्ष संलग्न रहेकाहरूमाथि कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने ।
(घ) निधन भएकाहरूलाई सम्मानसहित ‘सहिद’ घोषणा गरि निजका परिवारलाई राहतस्वरूप कम्तिमा पचास लाखका दरले उपलब्ध गराउने, घाइतेहरूलाई दश लाखका दरले क्षतिपूर्ति गर्ने ।
(ङ) संविधान संशोधन एवम् परिमार्जन निम्ति उच्च स्तरीय सुझाव कार्यदल गठन गरि एउटा ब्यक्ति दुई पटक भन्दा बढी पार्टी र सरकारको कुनै पनि जिम्मीवारीमा रहन नपाउने ब्यवस्था गर्न कार्यदललाई म्याण्डेट दिने ।
(छ) २०४६ देखि हालसम्म प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव र संवैधानिक निकायका पदाधिकारी लगायतको सम्पत्ती छानवीन गरि श्रोत नखुलेको सम्पत्ती जफत गर्ने र कानूनी कारवाहीको प्रक्रिया सुरु गर्ने ।
(ज) भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको कानूनी ब्यवस्था गर्ने ।
(देवप्रकाश त्रिपाठीको ‘फेसबुक’बाट)
प्रतिक्रिया