जेन जी पुस्ताले २०४६, २०६२/०६३ भन्दा ठुलो बलिदान गरेका छन् । प्रजातन्त्र र लोकतन्त्र दिएको भन्दै मुलुक चुस्ने जुकाहरूबाट शिक्षा लिँदै वर्तमान क्रान्तिलाई जोगाउन जरुरी छ । भूराजनीतिक संवेदनशीलतालाई बुझ्दै जेन जी पुस्ताले आफ्नो गतिविधि सञ्चालन गर्नुपर्नेछ । अथाह बलिदान र क्रान्तिलाई बदनाम गर्न चाहने तथाकथित घुसपैठबाट जोगिनुपर्ने छ ।
✍ नेपाली ओर्बेल
ओली दम्भले मुलुकलाई श्रीलङ्का र बाङ्ग्लादेशको हालतमा पुऱ्याएरै छोड्यो । अन्ततः जेनजीको भुङ्ग्रोमा २७ घण्टापछि ओली दम्भको पखेटा जलेको छ । दुर्भाग्यवश उनले मुलुक र राजनीति बरबाद बनाए, जेन जी पुस्ताको गम्भीर असहमतिलाई ख्याल-ख्याल ठाने । आफैंलाई बरबाद गर्नुलाई पुरुषार्थ ठाने । मुलुकलाई थप कमजोर बनाएर गए ।
सबैलाई अपमानित गर्ने, आफूमात्र सर्वज्ञानी मान्ने, चर्को दम्भ र अहङ्कार प्रस्तुत गर्ने, नालायकहरूलाई चारैतिर राखेर निर्विकल्पको अभ्यास गर्ने प्रधानमन्त्री ओलीले चार जना मानिसको जागिरको लागि राष्ट्रियता बिसाउन सकिँदैन भन्दै जेन जी पुस्तालाई उत्तेजित तुल्याए । सुशासनको राग अलाप्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने ध्वनि प्रदूषण गर्दै आर्थिक अपराधलाई निरन्तरता दिए । कानुन बनाएर सोसल मिडियालाई नियमन गर्नुको सट्टा जङ्गली शासनको अभ्यास गर्न प्रधानमन्त्री ओली तम्सिए ।
जेन जी पुस्तालाई पिर पऱ्यो अरे ! के जेन जी पुस्ता ठगी खाने भाँडो हो ? यस्ता फत्तुर (कु)तर्क गर्दै नाति-पुस्ताको नरसंहार गर्ने प्रधानमन्त्री ओलीले मुलुकलाई अस्थिरता र हिंसाको आगोमा झोसेर गायब भए । विगतमा नेता ओली एक ‘असल गफाडी’ थिए । आम नागरिकको दृष्टिमा दूरदर्शी जस्तो देखिने/देखाउने कलाले उनी भरिपूर्ण थिए । उनको नेतृत्वको बारेमा गरिएका/गराइएका विज्ञापनहरू ‘विशेष कारखाना’निर्मित थिए । उनी जति-जति जित्दै गए, त्यति नै मुलुक र राजनीतिबाट इमानदार मानिस पन्छिँदै गए ।
पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल र झलनाथ खनाललाई दायाँ-बायाँ राखेर आफ्नो उचाइ बढाउनुको सट्टा शङ्कर पोखरेल र प्रदीप ज्ञवालीलाई वरिपरि राख्नुलाई उनले सफलता ठाने । आफ्ना सहयोगीलाई दुस्मन देख्ने ओली-दृष्टिले भक्त र सेवकलाई छोराछोरी बनाउन सम्पूर्ण तागत लगाए । दुःखको कुरा, पार्टी कब्जालाई ‘राजनीति कब्जा’ ठानेका नेता ओलीको आपत्तिजनक गतिविधि र प्रतिगामी विचारको सजाय मुलुकले भोगिरहेको छ । नेता ओलीको खराब अप्टिक्सले राजनीति, मुलुक र एमालेलाई गम्भीर धक्का लागेको छ ।
प्रधानमन्त्री ओलीले युगको चेतना किन बुझ्न चाहेनन् ? कुर्सीसमेत आर्यघाट जाने ओली-इच्छा र चाहना नमान्ने नागरिकले गोली नै खानुपर्ने अवस्था किन र कसरी सिर्जना गरियो ? जेन जी पुस्ताले सामाजिक सञ्जाल बन्दको विरुद्ध आवाज उठाएको कुरालाई समयमा किन ध्यान दिइएन ?
पूर्वी युरोप र सोभियत सङ्घबाट समाजवादी सत्ता ढलेको विषयलाई समयमा सुँघ्दै जननेता मदन भण्डारीले ‘जबज’मार्फत वाम आन्दोलन जोगाउने निर्णय लिए । मदनको जबजलाई एमाले पार्टीले राजनीतिक कार्यक्रमको रूपमा विकास गर्दै गयो । नवौँ महाधिवेशनले एउटै पदमा दुई कार्यकाल र ७०वर्षे प्रावधानलाई अनुमोदन गर्दै वाम-राजनीतिको लोकतान्त्रीकरण बहुमूल्य योगदान पुऱ्यायो । दुर्भाग्यवश नवौँ महाधिवेशनबाट उदाएका अध्यक्ष ओलीले पार्टी योगदानमा भूमिका निभाएका व्यक्तिलाई अपमानित गर्दै षडयन्त्रमूलक ढङ्गले पार्टीबाट बिदा दिने कार्यलाई एमालेको ‘अन्तरपार्टी लोकतन्त्र’ बनाए । दुर्भाग्यवश कालो कपाल उम्रिएको झोँकमा आफ्नै प्रतिबद्धता मिल्काउँदै विधान अधिवेशनमार्फत तानासाह बन्न हौसिए ।
पञ्चायतको कठोर कार्यकालमा नागरिकको झुपडीमा निर्माण गरिएको पार्टीलाई मदननगर बल्खुबाट मीनबहादुर गुरुङको जग्गामा पुऱ्याउँदै ‘केपी नगर’ बनाउने रोडम्यापले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई आम कार्यकर्ताबाट धेरै टाढा पुऱ्यायो । नेपाली जनताको चुलोसँग जोडिएका कार्यक्रम मिल्काउँदै नेकपाकालीन भीमकाय अङ्कगणित खेरफाल्दै झापामा ‘केपी टावर’ बनाउने कथित विकासे अवधारणा लागु गर्न हौसिए ।
लाखौँ युवा के चाहन्छन् ? उनीहरूको प्राथमिकता के हो बुझ्नुको सट्टा दलाल र बिचौलियाको स्वार्थ पूरा गर्न दिनरात एक गरेका नेता ओलीले जेनजी पुस्तालाई आफ्नै पार्टीका कार्यकर्ता जस्तो ठान्दै/मान्दै हप्काए । अझ रोचक कुरा तत्कालीन राजा वीरेन्द्रले सर्वमान्य नेता गणेशमान सिंहलाई २०४६ सालको जन आन्दोलनको अन्तिम समयमा प्रधानमन्त्री बन्न आऊ भन्दा नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा सिफारिस गरेको बिर्सिए । त्यसैगरी २०५६ सालको आम निर्वाचनपश्चात् प्रधानमन्त्री बनेका प्रधानमन्त्री कृष्णप्रसादले संसदमा सम्बोधन गरेर राजीनामा दिएको विषय नोटिसमा लिनसमेत बिर्संदै निर्दोष नागरिकको नरसंहार गर्दै आफ्नो असली अनुहार देखाउन हौसिए ।
यतिबेला नेता ओलीको औचित्य सकिएको छ । उनको आलोचना जति गरे पनि कहिल्यै पर्याप्त हुनेछैन । उनको सम्पूर्ण योजनाहरू भत्किएका छन् । एक निश्चित शहरी अभिजात वर्ग ! जसको सेवा गर्दा उनी बदनाम भए, आज तिनैले समेत उनलाई घृणा गर्न सुरु गरेको छ । विशेषगरी युवाहरूको, उनका फ्यानहरूको मोहभङ्ग भएको छ । सम्भवतः उनका कथित छोराछोरी स्तब्ध छन् ।
आक्रोशित युवाले परिवर्तन मात्र ल्याउन सक्छन् तर मुलुक निर्माण गर्न सक्दैनन् भन्ने धारणालाई झुटो सावित गर्ने अवसर जेनजी पुस्ताको काँधमा आएको छ । अनुभवहीन जमातले बाह्य शक्तिको स्वार्थबाट बच्दै मुलुकलाई जोगाउने र आधुनिक, सबल र सक्षम नेपाल निर्माण बनाउन सक्नु पर्नेछ ।
विडम्बना यो छ कि उनको मूर्खताले मुलुक जलिरहेको छ । जेन जीको विरोध प्रदर्शन अनियन्त्रित बन्दै छ । निजी र सार्वजनिक सम्पत्ति जलिरहेका छन् । क्रोधित प्रदर्शनकारीहरूले संसद् भवन, सर्वोच्च अदालत लगायत सार्वजनिक भवनहरू जलाएका छन् । ‘भ्रष्ट अभिजात वर्ग’विरुद्धको विरोध कुरूप बन्दैछ । मुलुकका नागरिकले हिंसालाई समर्थन गरिरहेको छैन तर मुलुक हिंसामा फसिसकेको छ । पर्दापछाडि जसको हात भएपनि यस्तो अवस्थाको जिम्मेवार ओली/देउवा सहकार्य हो भन्नेमा आम मुलुकवासी सहमत छन् ।
राज्यको तटस्थता र समाजसँगको यसको संलग्नतालाई जेन जी पुस्ताले देखिने गरी काम गर्नु पर्नेछ । मुलुकमैत्री आर्थिक प्रणाली, नागरिकमैत्री कर नीति र सामाजिक प्रणालीको विकास गर्नुपर्ने छ । सुशासन, डिजिटल युक्त कर्मचारीतन्त्र, न्यायमुखी न्याय-प्रणाली, राइट म्यान राइट प्लेसको अवधारणा तत्काल लागु गर्न जरुरी छ । आधुनिक आर्थिक सोच र यसले जन्माउने प्रणालीमा स्थापित असमानतालाई जेन जी पुस्ताले तोड्न सक्नु पर्नेछ । सामाजिक विच्छेदन र हिंसालाई निरन्तरता दिन चाहने शक्तिबाट जोगिनु पर्नेछ । सरकारी असमानता र बढ्दो अपराधसहितको राजनीतिक प्रणालीलाई बिदा दिनुपर्ने छ ।
आक्रोशित युवाले परिवर्तन मात्र ल्याउन सक्छन् तर मुलुक निर्माण गर्न सक्दैनन् भन्ने धारणालाई झुटो सावित गर्ने अवसर जेनजी पुस्ताको काँधमा आएको छ । अनुभवहीन जमातले बाह्य शक्तिको स्वार्थबाट बच्दै मुलुकलाई जोगाउने र आधुनिक, सबल र सक्षम नेपाल निर्माण बनाउन सक्नु पर्नेछ । काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा जस्ता पार्टीभित्र रहेका देशभक्त, विकासप्रेमी, अध्ययनशील, अनुभवी, भूराजनीतिक संवेदनशीलता र विश्व राजनीतिको कठिनाइ बुझेका शिक्षित, प्रविधिमैत्री, भ्रष्टाचार विरोधी र इमानदार व्यक्तिलाई जेन जी पुस्ताले मुलुकको पक्षमा प्रयोग गर्न सक्नु पर्नेछ ।
जेन जी पुस्ता आफ्नो भविष्य र राष्ट्रको भविष्यप्रति सचेत हुँदै सडकमा आउनु स्वागतयोग्य छ । विदेशी हस्तक्षेप र रणनीतिक अस्थिरता चाहने शक्तिले जेन जी पुस्ताको अथाह रगत बगाउने रणनीतिबाट सजग हुनु पर्नेछ । राजनीतिक परिवर्तनको नाममा मुलुकले पटक-पटक रगत बगाउनुपर्ने भयावह स्थितिको मूल कारण र कारकलाई जेन जी पुस्ताले बुझ्नु पर्नेछ । विगतमा सम्पन्न गराइएका राजनीतिक परिवर्तनको बुइ चढाएर मुलुक प्रवेश गराइएका आयातित एजेन्डाबाट मुलुकलाई मुक्ति दिन थप सजग हुनु पर्ने छ । यसैगरी भ्रष्टाचार गऱ्यो, राजीनामा दियो । निर्दोष नागरिक माऱ्यो, राजीनामा दियो । मस्तसँग मुलुक लुट्न पाउने आयातित लोकतन्त्र र हाइब्रिड प्रणालीबाट मुलुकलाई जोगाउनु पर्नेछ ।
स्वार्थ र महत्त्वाकाङ्क्षाले सिद्धान्त त्याग्दै मनलाग्दी गर्न हौसिएका नेता ओलीले आफू त डुबे डुबे, मुलुकसमेत डुबाएको कुराबाट पाठ सिक्दै जेनजी पुस्ताले निषेधको राजनीति त्याग्नु पर्नेछ ।
प्रधानमन्त्री ओलीले युगको चेतना किन बुझ्न चाहेनन् ? कुर्सीसमेत आर्यघाट जाने ओली-इच्छा र चाहना नमान्ने नागरिकले गोली नै खानुपर्ने अवस्था किन र कसरी सिर्जना गरियो ? जेन जी पुस्ताले सामाजिक सञ्जाल बन्दको विरुद्ध आवाज उठाएको कुरालाई समयमा किन ध्यान दिइएन ? आफ्ना तथाकथित प्रवृत्ति, कार्यशैली र भ्रष्टाचारको विरुद्ध बोल्नेहरूलाई मृत्यु पुरस्कार दिएर कुर्सीमा किर्ना र जुको जस्तो टाँसिनुपर्ने किन ? तिम्रा भ्रष्टाचारलाई छोप्न मुलुकले अन्धकारमा बसिदिनु पर्ने किन ? स्वार्थ र महत्त्वाकाङ्क्षाले सिद्धान्त त्याग्दै मनलाग्दी गर्न हौसिएका नेता ओलीले आफू त डुबे डुबे, मुलुकसमेत डुबाएको कुराबाट पाठ सिक्दै जेनजी पुस्ताले निषेधको राजनीति त्याग्नु पर्नेछ ।
भारतमा गराइएको किसान आन्दोलन, श्रीलङ्कामा गराइएको विद्रोह, बाङ्ग्लादेशमा गराइएको विद्रोहमा वैदेशिक शक्तिको रणनीतिक लगानी र उपस्थिति रहेको खुलिसकेको छ । यस तथ्यलाई वर्तमान जेन जी पुस्ताले गहिरो अध्ययन गर्न जरुरी छ । साथै मुलुकको परिवर्तनमा विदेशी स्वार्थ र दीर्घकालीन रणनीतिबाट जोगिने र मुलुकलाई जोगाउनु अहम् दायित्व थपिएको छ । यस तथ्यलाई बुझ्न नसके सुशासनको अपेक्षा धेरै महँगो हुनसक्ने छ । साथै पछिल्लो बलिदानको अपमान समेत हुनेछ ।
अन्तमा, वर्तमान जेन जी पुस्ताले २०४६, २०६२/०६३ भन्दा ठुलो बलिदान गरेका छन् । प्रजातन्त्र र लोकतन्त्र दिएको भन्दै मुलुक चुस्ने जुकाहरूबाट शिक्षा लिँदै वर्तमान क्रान्तिलाई जोगाउन जरुरी छ । भूराजनीतिक संवेदनशीलतालाई बुझ्दै जेन जी पुस्ताले आफ्नो गतिविधि सञ्चालन गर्नुपर्नेछ । अथाह बलिदान र क्रान्तिलाई बदनाम गर्न चाहने तथाकथित घुसपैठबाट जोगिनुपर्ने छ । केपी ओलीको दम्भबाट जोगिँदै मुलुक र सार्वजनिक सम्पत्तिलाई जोगाउनु पर्नेछ ।
प्रतिक्रिया