केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह- ‘संविधानको रक्षा गर्दै नयाँ नेपाल पुनर्निर्माणमा जुटौँ’

केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह- ‘संविधानको रक्षा गर्दै नयाँ नेपाल पुनर्निर्माणमा जुटौँ’


नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानको रक्षा गर्दै सम्पूर्ण देशवासी राष्ट्र पुनर्निर्माणको अभियानमा जुट्नुपर्ने बताएका छन् । जेनजीको आन्दोलनबाट जलेर ध्वस्त भएको कांग्रेस केन्द्रीय कार्यालय पुगेर महरले उक्त अपिल गरेका हुन् ।

उनले भनेका छन्, ‘हामी नेपालको राजनीतिको संगीन मोडमा उभिएका छौं । नेपालका जनताका पक्षमा २०९७ सालदेखिको परिवर्तनका पक्षमा रहेका नेपाली जनताले आज पनि नेपाल पुनर्निर्माणमा योगदान दिनुपर्ने बेला आएको छ । नेपालका सरकारी संरचना ध्वस्त भएका छन् । यसबाट हामी आत्तिनु हुँदैन । खरानीबाट पनि मुलुकहरू माथि उठेका थुप्रै उदाहरण हामीसामू छन् । हिरोसिमा र नागसाकी जस्तै हामी पुनर्निर्माण गरेर देशलाई जुरुक्क माथि उठाउन सक्छौँ ।’

पछिल्लो पटकको देशमा भ्रष्टाचारको गन्ध, सुशासनको स्थापना र सामाजिक सञ्जाल सुचारुको माग गरेर जेनजी पुस्ताले गरेको आन्दोलन एउटा बिन्दुमा आएर अड्किएको र यसको निकासका लागि सबै पक्ष तत्पर रहनुपर्ने उनको धारणा छ ।

बिपी कोइरालाको ११२औं जन्मजयन्तिको अवसरमा सिंहदरबार, सर्वोच्च अदालतलगायत नेपालका थुप्रै राणाकालदेखि स्थापना हुँदै आएका संस्था ध्वस्त भएकोप्रति आफू निकै मर्माहत भएको उल्लेख गर्दै उनले जेनजी पुस्ताको उद्देश्य विध्वंश नभएपनि आन्दोलनमा ठूलो घुसपैठ भएको जिकिर गरेका छन् ।

‘राजनीतिक दलका पार्टी कार्यालय मात्र जलेका छैनन्, देशका सार्वजनिक कार्यालय, नेताका निजी निवास ध्वस्त भएका छन् । यसबाट मुलुकले खर्बौंको क्षति ब्यहोर्नुपरेको छ । यो घाटा पुर्तिका लागि नेपाली जनता दिलबाट नै सक्रिय हुनुपर्ने बेला आएको छ । खरानी टकटक्याएर नेपाललाई जुरुक्क माथि उठ्ने काम गरौं’, उनको अपिल छ ।

जेनजी पुस्ताले माग गरेअनुसार आन्दोलन सफलता उन्मुख भएको बताउँदै उनले युवाहरूका माग सम्बोधनमा पनि गम्भीर हुनुपर्ने धारणा राखेका छन् । संविधान र विधिको शासनभित्र रहेर नै नयाँ नेपाल निर्माणमा सबै जुट्नुपर्ने महरको भनाइ छ ।

देशभर आगजनीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेता महरले अहिलेसम्म आन्दोलनका क्रममा ३४ जनाले ज्यान गुमाएकोप्रति समवेदना व्यक्त गरेका छन् । कांग्रेस सभापतिलगायत विभिन्न राजनीतिक दलका नेतामाथि भएको हमला लोकतन्त्रविरुद्धको हमला भएको उनको ठहर छ ।

पार्टीका तर्फबाट पहिलो पटक शुक्रबार (२७ भदौ) सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत हुँदै कांग्रेस पार्टी कार्यालय पुगेका महरले केही नेता कार्यकर्तालाई बोलाएर देशमा डराउनुपर्ने अवस्था नरेको बताएका थिए । उनले आफ्ना गतिविधिमा सक्रिय हुन निर्देशनसमेत दिएका छन् ।

पछिल्लो असामान्य परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकका पक्षमा निरन्तर खबरदारी र पैरवी गर्नुपर्ने भन्दै नेता नैनसिंह महरले नेताहरु खुल्न या बोल्न डराउनु नपर्ने जनाएका छन् । वर्तमान असामान्य अवस्थामा महरको सक्रियतालाई सबैले आशलाग्दो तवरले हेरेका छन् ।