नेपालको भौगोलिक महत्व र अन्तर्राष्ट्रिय शक्ति-राजनीतिक खेल

नेपालको भौगोलिक महत्व र अन्तर्राष्ट्रिय शक्ति-राजनीतिक खेल


नेपाल, हिमालयको काखमा अवस्थित सानो तर सामरिक दृष्टिले अत्यन्त महत्वपूर्ण राष्ट्र हो। यसको भौगोलिक स्थिति केवल दक्षिण एशियाको मात्र नभई सम्पूर्ण एशियाली भू-राजनीतिक समीकरणको दृष्टिले पनि केन्द्रीय स्थानमा पर्छ।

पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारत जस्ता दुई उदाउँदा आर्थिक शक्ति राष्ट्रहरूसँगको प्रत्यक्ष सीमाना, र जलवायु तथा जलस्रोतका दृष्टिले संवेदनशील हिमाली क्षेत्रको स्वामित्वले नेपाललाई एक रणनीतिक पुल र सुरक्षा चौराहाको रूपमा उभ्याएको छ। तर यही भौगोलिक महत्व नेपालका लागि ईश्वरले दिएको वरदान मात्र नभई चुनौती पनि बनेको छ।

विश्वका ठूला शक्ति-केन्द्रहरू, विशेषगरी पश्चिमी राष्ट्रहरू, नेपाललाई मित्र राष्ट्रको रूपमा मात्र नभई आफ्नो दीर्घकालीन सामरिक योजनामा प्रयोग गर्न सकिने ‘भू-राजनीतिक अखडा’का रूपमा पनि हेरिरहेका छन्।

आजको विश्व दिनानुदिन बहुध्रुवीयतामा प्रवेश गर्दैछ। चीन र भारतले तीव्र गतिमा आर्थिक तथा प्राविधिक विकासलाई समानान्तर रूपमा अगाडि बढाउँदै भविष्यको वैकल्पिक शक्ति बन्ने प्रयास गरिरहेका छन्। अर्कोतर्फ, आर्थिक र प्राविधिक रूपमा सम्पन्न ठानिएका पश्चिमी शक्ति-केन्द्रहरूले यस उदयलाई आफ्नो प्रभुत्वका लागि चुनौतीका रूपमा लिएका छन्।

त्यसैले, जहाँ जहाँ चीन र भारतले आफ्नो हितका लागि परियोजना अघि सारेका छन्, त्यहाँ अस्थिरता सिर्जना गर्नु, द्वन्द्व भड्काउनु र “शान्ति स्थापना” को नाममा आफ्नो प्रभाव विस्तार गर्नु उनीहरूको रणनीतिक शैली बनेको देखिन्छ। यही चक्रब्यूहमा नेपाल पनि नराम्ररी फसेको छ।

नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक, जातीय, भाषिक र राजनीतिक विविधतालाई विभाजनको हतियार बनाएर पश्चिमी शक्ति-केन्द्रहरूले अस्थिरता निम्त्याउने प्रयास गरिरहेका छन् । प्रजातन्त्र, लोकतन्त्र, क्षेत्रीयता, जातीयता आदिका नाममा आन्दोलन भड्काउने, निरन्तर सरकार परिवर्तन गर्ने, र अनुदान वा सहयोगका नाममा सञ्चालन गरिएका एनजीओ/आईएनजीओमार्फत नीतिगत हस्तक्षेप गर्नु त्यसकै उदाहरण हुन् ।

यदि नेपाल यसरी नै निरन्तर अस्थिरता र द्वन्द्वमा फँसिरह्यो भने यसको प्रत्यक्ष असर भारत र चीन जस्ता विशाल छिमेकी राष्ट्रहरूमा पर्छ। नेपाललाई अदृश्य रूपमा आफ्नो गतिविधि सञ्चालन गर्ने केन्द्र बनाउने, राज्य-विप्लव गराउने, र सम्भव भयो भने सोही मोडेल भारत र चीनका संवेदनशील क्षेत्रमा लागू गर्ने रणनीति पनि नकार्न सकिँदैन।

नेपालमा अस्थिरता सिर्जना हुनु केवल सानो राष्ट्रको समस्या मात्र नभई विश्व शक्ति-सन्तुलनलाई असर पार्ने गम्भीर विषय हो।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) र भारतको Act East Policy जस्ता ठूला परियोजनाहरू नेपालमार्फत जोडिएका छन्। त्यसैले, नेपालमा अस्थिरता बढेमा यी दुवै देशका परियोजनाहरू प्रभावित हुनेछन्, जसले सम्पूर्ण एशियाली विकास-दृष्टिकोणलाई धक्का पुर्‍याउनेछ।

त्यसकारण, नेपालको राष्ट्रिय हित र दीर्घकालीन स्थिरताका लागि केही महत्वपूर्ण रणनीतिहरू आवश्यक छन् :

१. स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति
कुनै एक शक्ति-केन्द्रतर्फ अत्यधिक झुकाव नगरी, भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्दै, पश्चिमी राष्ट्रहरूसँग विवेकपूर्ण सहकार्य गर्न सक्नुपर्छ।

२. आन्तरिक एकता र राजनीतिक स्थिरता
राजनीतिक दल, नागरिक समाज र युवाहरूबीच राष्ट्रिय हितलाई केन्द्रमा राखी न्यूनतम राष्ट्रिय सहमति कायम गर्न अपरिहार्य छ। विभाजनलाई कमजोरीका रूपमा प्रयोग गर्दै बाह्य शक्तिहरू निरन्तर खेल्न खोज्नेछन्।

३. सुरक्षा संरचना सुदृढीकरण
सीमा सुरक्षा मात्र होइन, साइबर सुरक्षा, सूचना सुरक्षा र अनुसन्धान क्षमतामा सुदृढीकरण गर्नुपर्छ।

४. आर्थिक आत्मनिर्भरता
कृषि, जलविद्युत्, पर्यटन र उद्योगलाई विकासको मूल आधार बनाई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेछ। बाह्य अनुदानमा निर्भरता कम गर्नु दीर्घकालीन राजनीतिक स्थिरताको पूर्वशर्त हो।

निष्कर्ष

नेपाल केवल भौगोलिक नक्सामा रहेको सानो राष्ट्र मात्र होइन, सामरिक दृष्टिले संवेदनशील शक्ति-केन्द्र हो। यसको अस्थिरता केवल नेपाली जनताको समस्या मात्र नभई सम्पूर्ण एशियाली क्षेत्रकै समस्या हो।

पश्चिमी राष्ट्रहरूले प्रभुत्व कायम राख्न विविध बहानामा खेलिरहेका कुरा बुझेर नेपालले आफ्नो रणनीतिक स्वायत्तता र राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने समय आएको छ।

नेपालले यदि आन्तरिक एकता, राष्ट्रिय हित र भूराजनीतिक चेतना मजबुत बनायो भने यो सानो भूभाग तर विशाल महत्वको राष्ट्रले क्षेत्रीय र विश्व शक्ति-सन्तुलनमा स्वाभिमानी स्थान सुरक्षित गर्न सक्नेछ।

जय मातृभूमि !