प्रधानमन्त्री बनेको तीन दिनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तीन जनालाई मन्त्रिमण्डलमा समावेश गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् । प्रधानमन्त्री कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीका रुपमा क्याबिनेट भित्र्याउन लागेकी हुन् । उनीहरुलाई सोमबार (३० भदौ) शपथग्रहण गराइने बताइएको छ ।
आन्दोलनकारी जेनजीसँगको परामर्शपछि मन्त्रीमा सिफारिस गरिएको भनिएका तीन पात्रमध्ये खनाललाई अर्थ मन्त्रालय, घिसिङलाई उर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय र अर्याललाई गृह तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइन लागिएको र अन्य मन्त्रीहरू क्रमशः थप्दै लगिने स्रोतले जनाएको छ ।
मन्त्रीमा कसको नाम सिफारिस गर्ने भन्ने सवालमा आन्दोलनकारी समूहबीच नै विवाद परेकोले मन्त्री चयनमा ढिलासुस्ती भइरहेको पनि स्रोतको दाबी छ ।
प्रतिक्रिया