जेन-जेड आन्दोलनका क्रममा भएको क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी भएपनि विज्ञहरूले नेपालको वार्षिक बजेटले पूरा गर्न नसकिने स्तरको क्षति भएको अनुमान गरेका छन् । सिंहदरबार, संसद् भवन, शितल निवास, प्रहरी कार्यालयहरू, पालिका स्तरमा बनेका कार्यालय तथा ब्यापारिक प्रयोजनका भवनहरूमा पुगेको क्षति हेर्दा कम्तिमा एक दशक नेपालले पुनर्निर्माणमै केन्द्रीत हुनुपर्ने देखिन्छ ।
यो प्रकरणमा पहिलो टार्गेट राजनीतिकर्मीहरूलाई गरियो र अधिकाङ्श नेताहरूको घर तोडफोड, आगलागी र लुटपाट भएको छ । आगजनीका क्रममा शेरबहादुर देउवा, ठेकेदार काङ्ग्रेस नेता दीपक खड्का र प्रचण्डको घरमा ठूलो परिमाणमा नगद भेटिएको, एमाले नेता बिष्णु पौडेलको घरमा नगद गन्ने मेसिन भेटिएपनि नगदचाहिँ खासै नभेटिएको आन्दोलनकारीहरूले जारी गरेको भिडियोमा देखिएको छ ।
केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको भ्रष्ट चरित्र, तिनको राजसी ठाँट र अहङ्कारका कारण अन्य नेताहरूले समेत धेरै ठूलो क्षति ब्यहोर्नुपरेको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार शेरबहादुर देउवा, प्रचण्ड र केपी ओलीको घर जलेर पूरै नष्ट भएको छ । त्यस्तै, नेताहरू विश्वप्रकाश शर्मा, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला , शङ्कर भण्डारी, डा. प्रकाश शरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र गगन थापाका घरहरूमा पनि नराम्रोसङ्ग आगलागी भएको छ । काङ्ग्रेस नेता शिव हुमागाईं र मोहन बस्नेतको घरमा पनि आगजनी भएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगो लगाउन त्यहीँका एक छिमेकीले अग्रसरता लिएको बताइन्छ भने एमाले नेताहरू सुरेन्द्र पाण्डे, ईश्वर पोखरेल, बिष्णु पौडेल, गोकुल बास्कोटा, प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, शङ्कर पोखरेल, बिष्णु रिमाल, महेश बस्नेत आदिको घरमा आगलागी तथा तोडफोड र लुटपाट भएको छ । माओवादी अध्यक्ष प्रचण्ड, प्रचण्डका छोरीहरू गङ्गा दाहाल र रेणु दाहाल, अग्नि सापकोटा, सुवोध सापकोटा, पूर्व गुरिल्ला कमाण्डर नन्दकिशोर पुनको घरमा आगो लागेको छ भने नेता नारायणकाजी श्रेष्ठ बस्ने गर्नुभएको हात्तिवनस्थित घरमा तोडफोड गर्न एकैदिन हुल्लडबाजहरूको तीनवटा जत्था अलग-अलग समयमा पुगेको थियो । यसरी तोडफोड एवम् लुटपाट गर्न पुगेको जत्थामध्ये एउटाले बालेन साह र अर्कोले रविदाइ जिन्दावादको नारा लगाएको जानकारी प्रत्यक्षदर्शीहरूले दिएका छन् । एउटा जत्था भने तोडफोड मात्र गरेर फर्किएको थियो । स्मरणीय छ, रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान गराउन गृहमन्त्रीका रूपमा नारायणकाजी श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।
उता, गोकुल बास्कोटाको घरमा आगो लगाउन जाने अपूर्व श्रीवास्तव भने दुर्गा प्रसाईं नामक ब्यक्तिको कार्यकर्ता भएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, ब्यापारीहरू विनोद चौधरी, वसन्त चौधरी, उपेन्द्र महतो, ब्यवसायी रामेश्वर थापाको घरमा पनि आगलागी र लुटपाट भएको छ । विनोद चौधरीको घरमा छिरेका आन्दोलनकारीहरूले घरका सामान लुटेर लिएपछि आगो लगाइदिएका थिए ।
प्रतिक्रिया