पर्यटकीय राजधानी पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको नेपाल खुला स्नुकर प्रतियोगिताको उपाधि काठमाडौंका वाङचु तामाङले जितेका छन् ।
उपाधिसँगै तामाङले नगद रु दुई लाख दुई हजार २०२ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए । प्रतियोगिताको मंगलबार (३१ भदौ) सम्पन्न फाइनल खेलमा तामाङले काठमाडौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गरेका हुन् ।
उपविजेता शेर्पाले रु ८० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा तामाङ र शेर्पाले समान ८१ ब्रेक गरी ‘हाइएस्ट ब्रेकर’को उपाधिसमेत बाँडे । उनीहरुले थप नगद रु १०र१० हजार पुरस्कार हासिल गरे ।
विजयी खेलाडीलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, कास्की बिलियार्ड स्नुकर तथा पुल सङ्घका संस्थापक अध्यक्ष वसन्त गौचन, सङ्घका वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खलि थापा, सङ्घका महासचिव सविन जिसी लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखराको फाइनल स्कोर स्पोट्र्स बारको आयोजनामा र कास्की बिलियार्ड स्नुकर तथा पुल सङ्घको विशेष सहयोग तथा पोखरा महानगरको प्रवर्द्धनमा यही भदौ १७ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा देशभरबाट एक सय ३६ जना खेलाडी सहभागी भएको आयोजक संस्थाका सञ्चालक प्रताप गुरुङले जानकारी दिए ।
यही भदौ २८ गतेसम्म खेल तालिका रहेकामा ‘जेनजी’ प्रदर्शनका कारण केही दिन खेल रोकिएको थियो । प्रतियोगिताको पोखराको खेल पर्यटन प्रवर्द्धनमा सहयोगी भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया