स्मृति, योगदान र प्रश्न !

स्मृति, योगदान र प्रश्न !


जीवनमा कतिपय भेटहरू अमिट स्मृतिका रूपमा रहिरहन्छन् । मेरो लागि प्रधानमन्त्री निवासमा भएको एउटा साँझ सम्झना आइरहेको छ । नेपाल बौद्धिक परिषद्को महाधिवेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हामीलाई बधाई दिन बोलाउनुभएको थियो । त्यो रात करिब नौ बजे म छोरीलाई समेत लिएर गएको थिएँ ।

कार्यक्रमको औपचारिकतामा उहाँले स्वास्थ्यकर्मी महासंघ र हाम्रो सङ्गठन लाई पद्धतिपूर्ण ढङ्गले अघि बढ्न सल्लाह दिनुभयो । हामी सबै उहाँको वाणीमा मन्त्रमुग्ध भएर सुन्दै थियौँ । छोरी, जो जेन्जी पुस्ता थिइन्, ऊनी हामीसँगै सुनेर बसिरहेकी थिइन्, जब अन्तिममा फोटो सेसनको बेला प्रधानमन्त्री ओलीले उनलाई आफ्नै नजिक बोलाएर आत्मीयतापूर्वक राख्नुभयो । उनको रुचि, अबको योजना, पढाई, लक्ष्य आदि सोधपुछ गर्नुभयो । उहाँको यो व्यवहारले छोरी मात्र होइन, मलाईसमेत अचम्मित बनाएको थियो । जब देशको प्रधानमन्त्रीले उनि साधारणलाई दिएको महत्व असाधारण नै थियो।

बाटोभरि छोरीले उहाँको प्रशंसा गर्दै आइन् र मलाई भनिन् – ‘ममी, उहाँले दिएका सबै सल्लाह मैले बुझेँ, यसरी नै बुज्ने शैलीमा बोलेर जीवनमा अघि बढ्नुपर्छ।’ अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प पपुलर भएको नै सिम्पल बोल्ने शैली पनि एक हो नि भन्दै त्यसैले होला धेरैले प्रेमपूर्वक उहाँलाई ‘ओली बा’ भनेर सम्बोधन गर्ने गरेको…आदि आदि ।

तर, आज यो स्मरणसँगै सबै पुस्ताको बा बनेका प्रम ओलीमाथि जेन्जी पुस्ताको बर्बर काण्डको दाग लगाइएको छ । मेरो मनमा विश्वास नलागेको प्रश्न यो छ कि यस्तो व्यक्तिले कसरी निर्दोष बालबालिकामाथि गोली हान्ने गर्ने निर्देशन दिन सक्छन् ?

यो प्रश्न केवल मेरो व्यक्तिगत द्वन्द्व मात्र होइन, धेरै नागरिकको मनमा उर्लिरहेको जिज्ञासा हो । के यो निर्णय साँच्चै प्रधानमन्त्रीकै आदेश थियो ? वा उहाँलाई बदनाम पार्न प्रतिगमनकारी शक्तिहरूले रचेको योजनाको परिणाम हो ? सत्य के हो भन्ने प्रष्ट हुन सकेको छैन । तर यत्ति भने छ- सत्य लुकिरहँदासम्म दाग अझ गहिरो हुँदै जान्छ।

प्रधानमन्त्री ओलीको योगदानलाई अस्वीकार गर्न सकिँदैन । मुलुकको नक्सा रक्षा, राष्ट्रिय स्वाभिमानको उचाइ, विकास र समृद्धिको पथ यी सबै उहाँका उपलब्धिहरू हुन् । तर जेन्जी आन्दोलनसँग जोडिएको घटनाले उहाँको निडर छविमाथि प्रश्नचिह्न खडा गरिदिएको छ।

त्यसैले, आज म एउटा विनम्र आग्रह राख्छु- यस घटनाको सत्य उजागर होस् । निष्पक्ष छानबिन होस् । यदि यो प्रतिगमनकारी शक्तिको खेल हो भने, त्यो पनि स्पष्टतापूर्वक जनतासामु आउनुपर्छ । यदि निर्णय वास्तवमै प्रधानमन्त्रीकै स्तरमा भएको हो भने, त्यसको नैतिक जवाफदेही बहन हुनुपर्छ।

इतिहासले नेताको योगदानलाई मात्र होइन, उनका चुनौती र दागलाई समेत रेकर्ड गरेको हुन्छ । त्यसैले सत्य उजागर हुनु, न्याय स्थापना हुनु, अनि जेन्जी पुस्ताको पीडालाई सम्बोधन गर्नु आजको अनिवार्यता हो । ओलीज्यूलाई हामीले ‘ओली बा’ भनेर सम्झने कि इतिहासले प्रश्नचिह्नमा मात्र सीमित गर्ने भन्ने कुरा यही घटनाको पारदर्शी छानबिनमा अडिएको छ।