अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (२ असोज) भएको भेटमा उहाँहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता
यस्तै, अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल-चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
सो अवसरमा प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा तत्परतासहित चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै अन्य नाकाहरूबाट पनि आवतजावत सहजीकरणका लागि आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल र चीनबीचमा रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
चीन-नेपालबीच भएका सम्झौता, सहयोग र सहकार्यले निरन्तरता पाउने स्पष्ट गर्दै उहाँले दुवै देश र जनताका हितमा काम गर्न चीन सदैव तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया