नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना एवम् संविधानको रक्षा गर्न सबै पुस्ताका नेपाली एकजुट हुनुपर्ने धारणा अघिसारेका छन् । संविधान दिवसको अवसरमा सार्वजनिक सन्देश दिँदै उनले यतिबेला संविधानमाथि ठूलो आक्रमण भएको अवस्था रहेको औंल्याएका छन् ।
‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नुभएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो । यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्-झन् गाढा सम्झना गराउने छ’, अध्यक्ष ओलीले आफ्नो सन्देशमा भनेका छन् ।
यस्तो छ केपी ओलीको अपिल-
दिदीबहिनी तथा दाजुभाइहरू !
आज संविधान दिवस । नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईंहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेका थियौं । उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं । हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं । हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो ।
गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो- आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकी-ताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।
हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ, नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ ।
यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ । विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देशबाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसूस गराउने छ । हाम्रो नयाँ पुस्ताले आफैं बुझ्नेछ । तर, यो कुरा समय छँदै बुझ्नु पर्नेछ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहनेछ ।
हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नुभएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो । यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्-झन् गाढा सम्झना गराउने छ ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ – सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न । सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ ।
मेरो सबैमा अपील छ –
संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौँ ।
प्रतिक्रिया