नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवशेन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार (५ असोज) बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिको ‘एजेण्डा’का रुपमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।
सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार महाधिवशेनमा जाने कुरा भइरहेको थियो, बदलिँदो परिस्थितिमा आधिकारिक मञ्चबाट संस्थागत धारणा बनाउनुपर्ने आवश्यकता भयो, पार्टी जीवनको सबैभन्दा सर्वोच्च संस्था महाधिवशेन हो, महाधिवेशनमा जानका लागि मौजुदा केन्द्रीय समिति विघटन गरेर अध्यक्षको संयोजकत्वमा महाधिवशेन आयोजक समिति बनाउने प्रचलन छ ।
विशेष महाधिवशेनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादीले यही असोज ८ गते स्थायी समिति बैठक बोलाएको छ । सो बैठकमा पदाधिकारी बैठकको निर्णयबारे छलफल हुनेछ । केन्द्रीय समितिको बैठक यही असोज ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकको प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ । जेनजी प्रदर्शनपछि राजनीतिक दलमा पुस्तान्तरणका लागि दबाब बढिरहेको छ ।
‘नेतृत्वको हस्तान्तरण सम्बन्धमा विचार, विधि र प्रक्रियाका बारेमा प्रारम्भिक छलफल भयो, आगामी कार्यक्रमका बारेमा पनि विस्तृत छलफल भएको छ । सोसम्बन्धी प्रस्ताव पनि केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरिएको छ’, उपाध्यक्ष सापकोटाले भनेका छन् ।
बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै पार्टी नयाँ स्वरुपबाट अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्षको प्रस्तावमाथि सबै पदाधिकारीले धारणा व्यक्त गरेका थिए ।
बैठकले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी आउन नदिने निर्णय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ ।
माओवादीले देशभक्त लोकतान्त्रिक र अग्रगमनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया