प्यारो धरा सुन्दर !

प्यारो धरा सुन्दर !



आहा यो जगतै अपूर्व महिमा
बोकी उदायो जसै !
साराका मनमा संपूर्ण गरिमा
पोखी जगायो सधैँ!!
साझा यो धरती बुझेर गतिलो
पारौँ हिमाली घर !
यो धर्ती भरको सधैँ शुभाशिलो
प्यारो धरा सुन्दर !!

!!१!!

कालीको तटको धरा भुवनमा
नेपाल हाम्रो घर!
ज्ञानीको गुणले सदा जगतमा
सौन्दर्य राम्रो छर !!
मेचीका जलमा पुगेर धरणी
छोएर हाँस्यो मन !
यो धर्ती भरको सधैँ शुभाशिलो
प्यारो धरा सुन्दर !!
!!२!!

द्यौताको रुपको छ देश भरिलो हामी सजाऊँ अझै!
मोतीको सिपको छ भेश गुनिलो
राम्रो बनाऊँ झनै!!
फौलादी बलको छ खास गतिलो
हाम्रो धराको रुप!
यो धर्ती भरको सधैँ शुभाशिलो
प्यारो धरा सुन्दर !!

!!३!!
कर्णाली तटका शिलाहरु टिपी ढोगेर आफ्नो भन !!
ब्रम्हाण्डै भरिको बनोस बलियो
मेरो परा यो झन !!
छायाँमा म रमौ बसी पवनमा
प्यारो सजाऊँ परा!!
यो धर्ती भरको सधैँ शुभाशिलो
प्यारो धरा सुन्दर !!
!!४!!

भाषाको शुभ भाव भेद सरिको
यो भूमि हाम्रो बने!
आशाको शुभ दीप राग सरिको
यो जूनि राम्रो भए!!
मायाले मनले सदा भुवनमा
राम्री बनाऊँ धरा!
यो धर्ती भरको सधैँ शुभाशिलो
प्यारो धरा सुन्दर !!

!!५!!