आइसिसीद्वारा युएस क्रिकेट निलम्बित

आइसिसीद्वारा युएस क्रिकेट निलम्बित


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले खेलकुदको विश्व प्रशासकीय निकायमा युएसए क्रिकेटको सदस्यता तत्काल प्रभावबाट निलम्बन गरेको छ ।

आइसिसी बोर्डले ‘विधानअन्तर्गत सदस्यका रूपमा दायित्व बारम्बार उल्लङ्घन गरेको’ भन्दै निलम्बनको निर्णय लिएको हो ।

तर, अमेरिकी टोलीहरूले अझै पनि सन् २०२८ लस एन्जलस ओलम्पिकमा सहभागिताको दौड जारी राख्नेछन् ।

मङ्गलबार राति जारी विविज्ञप्तिमा भनिएको छ, ‘यसमा समावेश छ, तर सीमित छैन, कार्यात्मक शासन संरचना लागू गर्न असफलता तथा संयुक्त राज्य अमेरिका ओलम्पिक र प्यारालिम्पिक समिति (युएसओपिसी) सँग राष्ट्रिय परिचालक निकायको स्थिति पाउन प्रगति नदेखिनु ।’

आइसिसीले अमेरिकी क्रिकेट र विश्वभर खेलको प्रतिष्ठामा आघात पुर्‍याउने कार्यहरूलाई पनि आधार मानेको छ, तर विस्तृत विवरण भने दिएको छैन ।

यसबीच, अमेरिकी पुरुष टोलीले अर्को वर्ष फेब्रुअरीमा हुने टी-२० विश्वकपमा खेल्नेछ । टोली व्यवस्थापनलाई अस्थायी रूपमा आइसिसीले निगरानी गर्नेछ ।

अमेरिकाले सन् २०२४ को पुरुष टी-२० विश्वकपमा सुपर आठ चरणसम्मको यात्रा गर्दै सन् २०२६ को प्रतियोगितामा सिधै स्थान बनाएको थियो ।

‘निलम्बन खेलको दीर्घकालीन हितको रक्षा गर्न दुर्भाग्यपूर्ण तर आवश्यक कदम हो’, आइसिसीले भनेको छ- ‘आइसिसीको शीर्ष प्राथमिकता भनेको खेलाडी र खेल आफैँ निलम्बनका कारण प्रभावित नहुनु हो ।’

युएसए क्रिकेटलाई यसअघि सन् २०२४ को आइसिसी वार्षिक साधारणसभामा ‘सदस्यता मापदण्ड पूरा नगरेको’ भन्दै सूचनामा राखिएको थियो र आवश्यक सुधार गर्न १२ महिनाको समय दिइएको थियो ।