पार्टीको नीति र नेतृत्व बदल्ने दिशामा क्रियाशील हुन नेता भण्डारीको अपिल

पार्टीको नीति र नेतृत्व बदल्ने दिशामा क्रियाशील हुन नेता भण्डारीको अपिल


सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान (नेपाली कांग्रेस) का संयोजक शंकर भण्डारीले मुलुकको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले आत्मसमीक्षा गर्दै निडरताका साथ राजनीतिक कोर्ष करेक्सन गर्न तयार हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसले नलजाइकन बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको महत्वलाई आत्मसात गरी हिँड्न सकेमा यसले पुनः जनताको विश्वास आर्जन गरी आफ्नो गुमेको साख फिर्ता ल्याउन सक्ने उहाँको जिकिर छ ।

नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका तर्फबाट बुधबार (७ असोज) एक विज्ञप्ति सार्वजनिक गर्दै नेता भण्डारीले जेनजी पुस्ताको आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते राज्यबाट भएको नरसंहार र हिंसात्मक आन्दोलनका क्रममा अहिलेसम्म ७४ नागरिकले शहादत प्राप्त गरेका र सयौं युवा घाइते भएको उल्लेख गर्नुभएको छ, र यसलाई आफूले नेपाली राजनीतिक इतिहासकै सबैभन्दा दुःखदायी घटनाको रुपमा लिएको बताउनुभएको छ । शोकको यस पीडादायी घडीमा शोक–सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै उहाँले घाइते आन्दोलनकारीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

‘जनता हामीसँग कति रूस्ट छन्, हाम्रो नेतृत्वसँग कति रिसाएका छन्, त्यसको कहिल्यै पर्वाह गरेनौँ, त्यसैको परिणाम स्वरुप भाद्र २३ र २४ को बर्बर घटना घटना घट्न पुग्यो’ भन्दै नेता भण्डारीले भन्नुभएको छ- ‘नेपालको इतिहासमा भाद्र २३ आम नेपालीले युगगुगसम्म कहिल्यै नविर्सने कालो दिनको रूपमा अंकित भएको छ । भाद्र २३ गतेको घटना भारतको जलियलावाग र चीनको तियानमेनस्क्वार नरसंहारको घटनालाई बिर्साउने प्रकृतिको छ । त्यस दिनको अति दुखान्त नरसंहारकारी घटनाको प्रतिशोधमा २४ गते भएको जनविद्रोहका क्रममा नियोजित घुसपैठबाट देशका इतिहास तथा प्रजातन्त्रतका धरोहर संस्थाहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, सितल निवास लगायतका देशभरका कैयन सरकारी संरचना निमेषभरमा खरानी बनाइयो । नेपालको प्रजातान्त्रिक आन्दोलनको मन्दिर, राजनीतिक चेतनाको धरोहरको रूपमा रहेको मोरङ, विराटनगरस्थित सय वर्ष पुरानो ऐतिहासिक कोइराला निवास, आध्यात्मिक एवम् राजनीतिक आस्थाको अर्को धरोहर ललितपुर, बाँडेगाउँस्थित सन्तनेता कृष्णप्रसाद भट्टराई आश्रम लगायत आस्थाका धरोहर, स्मारकहरूमाथि आगजनी, व्यापारिक प्रतिष्ठान र निजी घर तथा सम्पत्तिमाथिको आगजनी र लुटपाटको घटना भएको दोस्रो दिन निश्चय नै अर्को कालो दिनको रूपमा सदा स्मरण गरिने छ । नेपाल र नेपालीको सभ्यता र परम्परा भन्दा बाहिरको यो विध्वंशको जति भत्र्सना गरे पनि कमै हुन्छ ।’

‘आन्दोलन घोषणा गर्न सजिलो हुन्छ तर त्यसलाई आफ्नो उद्देश्य अनुरूप नेतृत्व दिएर टुङ्गोमा पुऱ्याउन गाह्रो हुन्छ । जेनजीको आन्दोलन त्यस्तै भयो । आन्दोलनको नियन्त्रण आन्दोलनकारीहरूको हातमा रहेन । आन्दोलनमा स्वदेशी, विदेशी तत्वको घुसपैठ भएको सङ्केतहरू प्रष्ट देखिंदैछ । यसको अझ स्पष्ट चित्र भविष्यमा उजागर हुँदै जानेछ ।’

नेता भण्डारीले अगाडि भन्नुभएको छ- ‘आन्दोलनकै क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा माथी आन्दोलनकारीको आवरणका लुटेरा र अवाञ्छित तत्वबाट भएको साङ्घातिक हमलाको हामी घोर भत्सना गर्दै हामी उहाँहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

‘जेनजी आन्दोलनको परिणामका रुपमा संविधानलाई मिचेर पूर्वप्रधानन्याधीशको नेतृत्वमा निर्वाचन गराउने गरी अन्तरिम सरकारको गठन भैसकेको छ । नवगठित सरकारले २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरिसकेको सन्दर्भमा नेपाली कांग्रेस जस्तोे प्रजातान्त्रिक पार्टीले सरकारलाई खबरदारी गर्दै निर्वाचनमा जानुको विकल्प नरहला । तर जनताबाट तिरस्कार भएको वर्तमान नेतृत्वलाई बोेकेर निर्वाचनमा गयौं भने नेपाली कांग्रेसले ठूलो क्षति व्यहोर्नु पर्ने यथार्थतालाई गम्भिरताका साथ लिनु पर्दछ ।’

‘देशमा लामो समयदेखि बेथितिले जरा गाडेको थियो । सरकार जनउत्तरदायी हुन सकेको थिएन । प्रत्येक पाईलामा भ्रष्टाचार व्यप्त थियो, जनताले सरकारबाट सहयोग होइन सास्ति खेप्नु परेको थियो । जनतामा भित्रभित्रै उकुसमुुकुस बढ्दै गएकोले कुनै न कुनै दिन विद्रोहको आगो दन्कन्छ भन्ने पूर्व अनुमान थियो नै । यसको अभिव्यक्ति भाद्र २३ र २४ गते हुन पुग्यो । देशको मुख्य राजनीतिक दल र सच्चा प्रजातान्त्रिक शक्ति भएको नाताले नेपाली कांग्रेसले यसको जिम्मेवारी लिनु पर्दछ । कमजोरी स्वीकार गरी जनतासँग माफी माग्न हिचकिचाउनु हुँदैन । नेपाली कांग्रेसले विगतमा लिएका गलत नीति र निर्णय तथा यसको नेतृत्वले गरेका कमजोरीको निर्मम समीक्षा गरी यसलाई आगामी दिनमा सच्चाउने प्रतिवद्धता गरेर मात्र आम निर्वाचनमा जानु अत्यावश्यक छ । अहिलेकै नीति, यही नेतृत्व लिएर विगतका गल्ती र कमजोरी सच्याउने प्रतिवद्धता नगरी निर्वाचनमा जानु भनेको आत्मदाह गर्नुसरह हो । नेपाली कांग्रेस कमजोर भएमा मुलुकमा प्रजातन्त्र नरहने विषयमा अब कुनै दुविधा छैन । यस्तो अवस्थामा देश र जनताको हितलाई ध्यानमा राखी पार्टीको नीति र नेतृत्व परिवर्तन गरेर जाऔँ ।’

‘हामीले अमुर्त रूपमा माफी मागेर वा गल्ती भयो भनेर मात्र जनताले हामीलाई माफी दिने छैनन् । १२ बुँदे समझदारी, पछिल्लो प्रजातान्त्रिक आन्दोलन, शान्तिप्रक्रिया र संविधान सभा निर्वाचनका क्रममा कहाँ कहाँ हामीबाट गल्ती भयो ? संविधान निर्माणको क्रममा हामी कहाँ कहाँ चुक्यौ ? राजा ज्ञानेन्द्रको माघ १९ को निरंकुश कदमका विरूद्धको संघर्षको नेतृत्व हामीले ग¥यौं तर माओवादीलाई शान्तिपूर्ण राजनीतिको बाटोमा ल्याउन खेलेको नेतृत्वदायी भूमिका सहित संविधान सभा निर्वाचनमा जाँदा २४० सीटमा किन केबल ३७ सीटमा सीमित गरेर नेपाली कांग्रेसलाई जनताले किन दण्डित गऱ्यो ? पार्टीमा हामीले कहिल्यै खोजी गरेनौं । नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान २०७२ जारी भए पछिको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले १६५ सिट मध्ये जम्मा २३ स्थानमा मात्र किन विजय हासिल गऱ्यो । नेपाली कांग्रेसले ठिक गरेको थियो भने जनताले किन दण्डित गरे ? यी र यस्ता गहन प्रश्नको जवाफ खोज्ने सामर्थ्य हामीसँग किन भएन ?’

विज्ञप्तिमा भनिएको छ- ‘माथि उल्लेखित सबै राजनीतिक घटनाक्रममा महत्वपूर्ण निर्णय लिँदै गर्दा महामानव बीपी कोइराला, लौह पुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराई आदिका विचारलाई हामीले चटक्कै भुल्यौं । बीपी कोइरालाको विचार र सिद्धान्तलाई पुरै छोड्यौं, बीपी कोइरालाले किन राष्ट्रिय एकता र मेलमिलापको कुरा गर्नु भएको थियो ? त्यसको पर्वाह राखेनौं ? सत्ता स्वार्थमा हामीले हाम्रा विचार सिद्धान्तको पर्वाह नै गरेनौं । संविधान निर्माणका क्रममा नेपालमा सनातन देखि कायम रहँदै आएको राष्ट्रधर्म हिन्दूराष्ट्रको पहिचानलाई खारेज गरेर धर्म निरपेक्ष कायम गर्ने देश र जनता विरोधी निर्णयको मतियार भयौं ।’

‘पार्टीको विशेष गरेर महासमिति बैठकमा पटक पटक कुल सदस्य संख्याको बहुमतले सनातन हिन्दूराष्ट्रको माग गर्दै राखेको हस्ताक्षर तथा अनुरोधलाई पर्वाह गरेनौ, हामी त्यसै बहकियौ । जनभावनाको परिक्षण बेगर देशलाई जबरजस्त ढंगले धर्मनिरपेक्ष राष्ट्र घोषणा, संघीयता, गणतन्त्र र मिश्रित निर्वाचन प्रणालीतर्फ धकेल्न पुग्यौँ । सविधान निर्माणका क्रममा २४० निर्वाचन क्षेत्रका जनताले पठाएको सुझावलाई एक पटक खोलेर हेरौँ भनि म जस्ता देशप्रेमी साथिहरुले गरेको अनुरोधलाई वेवास्ता गऱ्यौँ । नेपाली कांग्रेस जस्तो पार्टीले जनमतलाई कुल्चने काम गऱ्यो । अनि यस्ता निर्णयले हाम्रो प्रजातान्त्रिक छबि कमजोर बन्दैन ? यी र यस्ता विविध कारणले नेपाली जनता हामीसँग रूस्ट थिए, त्यसको हामीले ख्यालै गरेनौ । साथै २०८१ असारमा संविधान संशोधन लगायतको विषय समेट्दै एमालेसँग ७ बुँदे सहमति गरेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सत्तामा गयौं तर बितेको १४ महिनामा ओलीको ज्यादतीलाई सत्ता साझेदारको रुपमा टुलुटुलु हेरेर, सहेर बस्यौं । जनता हामीसँग कति रूस्ट छन्, हाम्रो नेतृत्वसँग कति रिसाएका छन्, त्यसको कहिल्यै पर्वाह गरेनौं । त्यसैको परिणाम स्वरुप भाद्र २३ र २४ को बर्बर घटना घटन पुग्यो । के हामीले अझै नचेत्ने ? अझै नसुध्रिने ? नेपालको वर्तमान राजनीतिक अवस्था निकै गम्भीर छ । त्यसको निराकरणका लागि हामी समय छँदै गम्भीर बन्न जरुरी छ । नेपाली कांग्रेस गम्भीर बन्न नसकेमा मुलुक थप ठूलो दुर्घटनामा फस्ने प्रष्ट छ । अबको दुर्घटना पछि पछुताउने र सच्याउने अवसर हामीलाई उपलब्ध नहुन पनि सक्छ ।’

मुलुकको यस विषम परिस्थितिमा नेपाली कांग्रेसले आत्मसमीक्षा गर्दै निडरताका साथ राजनीतिक कोर्ष करेक्सन गर्न तयार हुनु पर्दछ । नेपाली कांग्रेस नलजाइकन बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको महत्वलाई आत्मसात गरी हिँड्न सकेमा यसले पुनः जनताको विश्वास आर्जन गरी आफ्नो गुमेको साख फिर्ता ल्याउन सक्छ । यसैले मात्र नेपाल र नेपालीको हित चिरकालसम्म गर्नेछ । त्यसको लागि नेपाली कांग्रेसका तमाम नेता, कार्यकर्ता, शुभेच्छुकलाई ढिला नगरी पार्टीको नीति र नेतृत्व बदल्ने दिशामा क्रियाशील हुन हार्दिक अपिल गर्दछु ।’