रेड नोटिस जारी भएकी महिलालाई युएईबाट पक्राउ गरी नेपाल ल्याइयो

रेड नोटिस जारी भएकी महिलालाई युएईबाट पक्राउ गरी नेपाल ल्याइयो


ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई प्रहरीले युएईबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

पक्राउ गरी बिहीबार (९ असोज) नेपाल ल्याइएको धनुषा जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार रहेकी थिइन् । प्रहरीले युएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ ।’

उक्त मुद्दामा संलग्न रही फरार रहेकी निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते उनीविरूद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।