✍ पुरुषोत्तम ढकाल
यी हुन् उत्पत्याका घेर्ने पहाडहरू
खाल्टोका तीन शहरहरू
बागमती किनारामा अवस्थित
हिमाली सभ्यताका बिम्बहरू ।
यो मन्दिर परिसरको शहर हो
जहाँ आज बिहान पनि अनुष्ठान सुरु हुनेछ
पितृहरुले पिण्ड दान पाउँदा
हिजो मारिएका बालकहरुले
श्राद्ध र श्रद्धा पाउन सकेनन्
ठीक उही समय घन्टी बजेको थियो सखारै
महादेवले दिव्य शक्ति प्राप्ति गरेको समयमा।
सडकबाट गुनगुनाउँदै आवाज आउँछ
जहाँ पहिले नै कर्फ्यू हटाइएको छ
चिया बेच्नेहरु बाहिर चिच्याउदै छन् ।
त्यहाँ संसद् भवन थियो,
त्यो सर्वोच्च अदालत हो,
र त्यो स्वप्नमहल हो,
अलि परको सुकुम्बासी बस्ति
यताुचै कमारोहरू बस्छन् र हरेक युद्धमा मर्छन् ।
त्यहाँ महानगर छ जहाँ युद्धसरदार बस्छ
उ त्यो बालुवाटार हो,
जहाँ कम्युनिष्ट नामको जल्लादहरु बस्थे
त्याहाँ तिनीहरू ठिङ्ग उभिएर मान्छे मार्ने आदेश दिन्थे ।
ती सालिकहरु
अंग्रेजसंग लडेका कथा हुन्
स्वयम्भुका आँखाहरुले खुच्चिङ्ग, खुच्चिङ्ग
गिज्याएर मलाई आँखा झिम्क्यायो
र यो जुलुस अटाउने मेरो देशको नक्सा
दुई छिमेकीले लुछेर बाँकी रहेको हाड र छालाको शरीर
मेरो सिंगो देश, स्वतन्त्रता र सङ्घर्षका अवशेषहरू हुन् ।
समाचारका शीर्षकहरूमा
शंका र आशंका बीच फेरि सूर्य उदाउँछ
सिंहदरबारमा नियुक्त एक हुल भिखारीहरू फेरि माग्न हिँडे,
यत्रो तमासा हेरेको हिमालहरू भने मुसुक्क हाँसिरहेका छन् ।
सैनिक मुख्यालयमा कुकुरको झगडा सुरु हुन्छ।
त्यो एउटा देश जलाएको तमाशा हेर्नेहरुको पसल हो
जहाँ सेतो सारी लगाएकी एउटी आमा जान्न भन्छिन् ।
र म, उमेरले तरुण तन्नेरी
म जेनजी, म के हो के
जलाउँदै गर्दा सिंह दरबार
ढल्दै गर्दा मेरो जातिको विराशत
मेरो आक्रोशको आगो बल्दै गर्दा
भागेका कैदीहरु जस्तै म भगौडा
फड्के किनारा, म, मात्र साक्षी हुँ ।।
(लस-एन्जलस, संयुक्तराज्य अमेरिका)
प्रतिक्रिया