‘बिगार्ने, भत्काउने, जलाउने नभइ सपार्नेतर्फ अघि बढौँ’ : पूर्व श्री ५ ज्ञानेन्द्र

‘बिगार्ने, भत्काउने, जलाउने नभइ सपार्नेतर्फ अघि बढौँ’ : पूर्व श्री ५ ज्ञानेन्द्र


पूर्व श्री ५ ज्ञानेन्द्रले कुनै परनिर्भरता वा भूराजनीतिक चक्रब्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवर्निर्माण गर्नुपरेको बताउनुभएको छ ।

२०८२ सालको विजया दशमीको उपलक्षयमा समस्त नेपालीका नाममा शुभकामना सन्देश जारी गर्दै उहाँले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने धारणा अघिसार्नुभएको छ ।

यस्तो छ पूर्व श्री ५को शुभकामना सन्देश-

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

हामी नेपालीहरूको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर–आँगनमा आउको छ । सनव दुर्गा भवानीको पूजा आराधनाका साथ परस्परमा शुभेच्छा आदानप्रदान गरिने दशैं पर्वको शुभ अवसरमा नेपालभित्र र बाहिर रहे–बसेका सबै नेपालीहरुमा हामी सुख, शान्ति र समृद्धिको निम्ति शुभकामना व्यक्त गर्दछौं ।

हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो । यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको छ । कुनै परनिर्भरता वा भूराजनीतिक चक्रब्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवर्निर्माण गर्नु परेको छ ।

हामी सबैको आशा, आकाङ्क्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो । हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ । विगतको केही समय यता देश र जनताको सर्वोत्तम हितका खातिर हामीले गहिरो चिन्तन, चासो तथा सङ्लो दृष्टिकोण अघिसार्दै आएका थियौं । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिंदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अंगाल्नु पर्दछ । युग र कालअनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मुल्य–मान्यताको ख्याल राख्नै पर्दछ । युवा पुस्ता हाम्रो भविष्यका आधारस्तम्भ हुन् । उनीहरूमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ । यही समयको माग हो । हाम्रै देशको दर्पणमा हामी आफ्नो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे । अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्छ ।

सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनै पर्दछ । जे भयो भयो, जे–जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाको साथ अघि बढोस् ।

यतिखेर राष्ट्र चरम विग्रह र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्र यो पर्व मनाउन हामी बाध्य छौं । हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैँ हामीबाट वृहतरुपमा टीका-जमरा प्रदान नहुने जानकारी गराउँदछौँ । श्री नवदुर्गा भवानीले हामीलाई दिव्य पथतर्फ अग्रसर राखुन् – यही हाम्रो कामना, जय नेपाल ।

२०८२ असोज १२