उद्यमीलाई शोषक ठान्ने समाज !

उद्यमीलाई शोषक ठान्ने समाज !


केही समयअगाडि शेष घलेले नारायणहिटी दरबारनजिकै पाँचतारे होटल बनाउन थाल्नुभएको थियो, तर भवन पुरा नहुँदै बिक्रीको लागि विज्ञापन गर्नुपर्‍यो । यसैगरी, आफ्नो घरमा आगलागी भएपछि अर्बपति व्यापारी उपेन्द्र महतोले निराश हुँदै भन्नुभयो- ‘अब यहाँ केही हुँदैन जस्तो लाग्छ !’

यी सन्दर्भले गम्भीर प्रश्न उठाउँछ- किन नेपालका सफल उद्यमीहरू निराश भइरहेका छन् ? के समस्या संरचनामा मात्र छ, कि हाम्रो समाजकै मानसिकतामा पनि गहिरो खोट छ ?

पंक्तिकार जेनेजी उमेरमा संगतकै कारण कम्युनिस्ट आन्दोलनतिर आकर्षित भयो । त्यतिबेला पार्टीको नाम ‘एकता केन्द्र’ थियो (माओवादी नामकरण हुनुअघि)। म दक्षिण भारतीय ‘एकता समाज’को सम्मेलनमा प्रतिनिधि भएर मद्रास (हालको चेन्नै) गएको थिएँ । मलाई राजनीतिक प्रशिक्षण दिने मेरा अगुवा तुलसी भुसाल हुनुहुन्थ्यो ।

एक दिन हामी दुई जना मद्रासमा ठूलो भवनको छतमाथि बसेर गफ गर्दै थियौँ । तल फराकिलो सडकमा हजारौँ गाडी ओहोरदोहोर गरिरहेका देखिन्थे । त्यतै हेर्दै भुसालजीले भन्नुभयो- ‘हेर्नुस् मोहनजी, नौलो जनवादी सत्ता आएपछि यिनै मोटरगाडीमा हामी हिँड्नेछौँ। यी सबै विलासिताका साधन सर्वहारा वर्गका हुनेछन् । अहिले यी महल र अट्टालिकामा बस्ने पूँजीपति वर्गलाई ग्रामीण इलाकामा पठाएर श्रम गराइनेछ ।’

👉 त्यसैताका झिल्को मासिक पत्रिका प्रकाशन हुन्थ्यो (मसाल पार्टीको मुखपत्र) मोहनविक्रम सिंहको लेख भनेपछि खोजीखोजी पढ्ने गर्थ्यौं । एकपटक एउटा लेख पढेको थिएँ, उक्त लेखमा –
‘काठमाडौंमा ठूला-ठूला अट्टालिका भवनहरू बनेका छन्, यस्ता विशाल भवनहरु कहाँको पैसाले बन्छन् ? नेपालमा के छ र स्रोत साधन ? यी त नेपालभरी शोषण गर्ने शोषक सामन्तहरुले ठडाएका महलहरु हुन् ।’

👉 चितवनका चर्चित माओवादी नेता दिलबहादुर अधिकारी हुनुहुन्छ, माओवादी पार्टीले जनवादी सत्ता ल्याउने भन्दै दीर्घकालीन जनयुद्ध लडिरहेको बेला थियो, एकदिन चियादोकानमा गफिँदै गर्दा उहाँले भन्नुभयो- ‘यसपटक काठमाडौं गएर आफ्ना सबै आफन्तहरुलाई सम्झाएँ । अब काठमाडौमा घर बनाउनेतर्फ लाग्नु ब्यर्थ छ । जनयुद्ध सुरु भइसकेको छ । केही दशकभित्र चीनमा जसरी गाउँले शहर घेर्ने, अनि शहरले राजधानी घेरेर सत्ता लिनेछन् । त्यसपछि जनवादी सत्तामा यी ठूला-ठूला महलहरू सबै जनताको नाममा आउनेछन् ।’ भनेर सम्झाएर आएँ भन्दै गफ गर्नुहुन्थ्यो । उहाँलाई जब्बर विश्वास थियो यस्तै हुन्छ भनेर।

👉 बामपन्थी स्कुलिङ यस्तै हुन्थ्यो, जेन्जी उमेरमा कति बुझ्न सकिन्थ्यो र १ यस्ता स्कुलिङले गर्दा गाउँघरमा अलिकति तालुखुइलो भएको वा पेट पुटुस्स निस्केको मान्छे देखियो भने सामन्ती जस्तो लाग्ने । त्यस्तै, अलिकति धन कमाएर सुटेट बुटेट देख्यो भने पूँजीपति दलाल वर्ग भन्ने लाग्ने । गाउँघरका बुढापाका परम्परागत रीतिथिति चालचलन गर्नेलाई बुर्जुवा वर्ग, यथास्थितिवादी वर्ग भन्ने गरिन्थ्यो !

👉 हाम्रो नेपाली समाज वामपन्थी मानसिकता बाट ग्रसित समाज हो, त्यसैले हाम्रो समाजमा मेहनत गरेर धन कमाउने, उद्योग खोलेर रोजगार सिर्जना गर्ने, समाजलाई चलायमान बनाउन योगदान दिने वर्गलाई यहाँ ‘सामन्ती’/’पूँजीपति दलाल’को चश्माबाट हेर्ने गरिन्छ ।

यसरी उद्यमशीलतालाई अपराधजस्तै ठानिँदा श्रम, पूँजी र सिर्जनशीलताको स्वाभाविक सहकार्य अवरुद्ध भएको छ, पूँजीको लगानी र श्रमको सीपको मिलन समाजको प्रगतिको आधार हो, तर हामीले त्यसलाई कार्लमार्क्सको वर्ग संघर्षको सुत्र बाट हेरेर शत्रुतामा परिणत गरेका छौं ।

त्यसैले यहाँनेर यहाँनेर उद्योग जल्दा, उद्योगपतिको अट्टालिका भवनहरुमा आगो लाग्दा सामाजिक संवेदना नै पाइँदैन, कारण त्यही वामपन्थी स्कुलिङ हो ।

के अपराध थियो होला उपेन्द्र महतोको ? जसको घर जलाइयो । चप्पल लगाएर अभावमा हुर्केको एक नेपाली रसीया पुगे, त्यहीँ कारोबारमा संलग्न भए, भाग्यले दिन दुई गुणा रात चौगुणा आम्दानी गर्न सफल भएर अर्बपति भए, बाहिर मुलुकमा गएर कमाएको त्यही पैसा नेपाल भित्र्याए, हजारौं नेपालीलाई विदेशमा रहेको आफ्नो कम्पनीमा रोजगार दिए, त्यतिमात्र होइन विदेश भूमिबाट पैसा कमाएर बस्ने नेपालीहरुको पैसा नेपाल भित्र्याउन एनआरएनको अवधारणा ल्याउने काम यिनैले गरे, रसीयासंग कुटनैतिक वाणिज्य सम्बन्ध बनाउन अघोषित दूतको रूपमा यिनैले वर्षौंदेखि काम गर्दै आइरहेका छन्, यिनको अपराध के थियो होला जस कारण घरै जलाउनुपर्ने ?

कारण अरु केही होइन, हाम्रो समाजकै जरोमा वैचारिक रूपमा गडेर बसेको वामपन्थी दृष्टिकोणमा खोट थियो । धनी देखेपछि दलाल ठान्ने, पेट निस्केको देखेपछि सामन्त भन्ने !

यसरी श्रम, उद्यम र सिर्जनशीलतालाई सम्मान गर्नुको सट्टा शंका र वैरभावको नजरले हेर्ने संस्कार बसालियो।

समाजशास्त्रले भन्छ- ‘समाजको प्रगति तब हुन्छ जब पूँजी, श्रम र विचारको स्वाभाविक सहकार्य हुन्छ।’ तर हामीले त्यसलाई वर्गसंघर्षको कठोर सूत्रभित्र मात्र ब्याख्या गरेर उद्यमशीलतालाई अपराधजस्तै ठान्यौं।

इतिहासले देखाएको छ, जुन समाजले उद्यम र नवप्रवर्तनलाई अपराध ठाने, त्यस्ता समाजहरू प्रगतिबाट टाढा गए । सामन्तवादलाई हटाउने नाममा यदि उत्पादनमूलक शक्ति नै बाँधियो भने अन्ततः समाज स्थिरता होइन, अव्यवस्था र दरिद्रतामा धकेलिन्छ।

त्यसैले, जबसम्म हाम्रो चेतनामा गडेको यस्तो दृष्टिकोण परिवर्तन हुँदैन, तबसम्म समृद्धि, उन्नति र प्रगतिका कुरा केवल नारामै सीमित रहनेछन्।
अस्तु !