नेपाल अन्तरराष्ट्रिय महिला ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ ।
मलेसियाको बायुमास ओभलमा बिहीबार (१६ असोज) सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन् भने सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् । कविता जोशीले १३ रन बनाइन् । मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो । उसका लागि कप्तान विनिफ्रेड डुरैसिङ्गमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन बनाइन् ।
नेपालका लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिए । नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । सोही प्रतियोगिताको तयारीका स्वरुप नेपालले जारी प्रतियोगिता खेलेको हो ।
प्रतिक्रिया