महोत्तरीस्थित रातु नदीले तटबन्ध भत्काउँदा १५ करोडको क्षति

महोत्तरीस्थित रातु नदीले तटबन्ध भत्काउँदा १५ करोडको क्षति


महोत्तरीस्थित रातु नदीमा हालै आएको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको उल्लेख गर्दै जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलले रातु नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको जानकारी दिए । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो ।

बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।