‘कांग्रेसको पुनर्जागरणका लागि अब सामान्य उपचारले सम्भव छैन, शल्यक्रिया आवश्यक’

‘कांग्रेसको पुनर्जागरणका लागि अब सामान्य उपचारले सम्भव छैन, शल्यक्रिया आवश्यक’


नेपाली कांग्रेसभित्र केन्द्रीय समिति बैठक र आगामी १५औं महाधिवेशनको सरगर्मी सुरु हुँदैगर्दा प्रभावशाली केन्द्रीय सदस्य एवं महामन्त्रीका सम्भावित उम्मेदवार नैनसिंह महरले पार्टीमा संरचनागत सुधारका लागि केही कठोर प्रस्ताव अघिसारेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उनको विस्तृत धारणाले पार्टीभित्र र बाहिर एकैसाथ तरंग पैदा गरेको छ।

महरले अघिसारेको धारणामा दशकौंदेखि नेतृत्वमा रहेका नेताहरूका लागि ‘कुलिङ पिरियड’को व्यवस्थादेखि वर्तमान पदाधिकारीहरूको जवाफदेहिता खोज्नेसम्मका विषय समावेश छन् । पार्टी ‘गौरवपूर्ण इतिहासको समीक्षा गर्दै भविष्यको मार्गचित्र कोर्ने चुनौतीसामु खडा भएको’ उल्लेख गर्दै नेता महरले १४औं महाधिवेशनका परिवर्तनका आकांक्षा अझै साकार हुन नसकेको टिप्पणी गरेका छन् । विशेषगरी ‘जेन जी’ पुस्ताका सरोकारहरूले पार्टीलाई गहिरो आत्मनिरीक्षणका लागि प्रेरित गरेको उनको भनाइ छ ।

‘कांग्रेसको पुनर्जागरणका लागि अब सामान्य उपचारले सम्भव छैन, शल्यक्रिया आवश्यक छ,’ उनले भनेका छन्, ‘भोलिका कर्णधार र आजको साझेदार पुस्ताले केन्द्रीय समिति मार्फत स्पष्टता खोजेको छ ।’ यसै क्रममा उनले पार्टीको बहुपदीय व्यवस्थाको औचित्यमाथि नै प्रश्न उठाउँदै वर्तमान पदाधिकारीहरूको कार्यसम्पादनको निर्मम समीक्षा हुनुपर्ने बताएका छन् । पदाधिकारीहरूको जवाफदेहिताका लागि उनले चार प्रमुख प्रश्न उठाएका छन्- विधानले निर्दिष्ट गरेअनुसार काम भयो वा भएन ? केन्द्रीय समितिले तोकेको जिम्मेवारी पूरा भयो वा भएन ? १४औं महाधिवेशनमा गरिएका व्यक्तिगत प्रतिबद्धताहरू के कति कार्यान्वयन भए ? र, पार्टीको घोषणापत्र सरकारमा रहँदा के कति कार्यान्वयन भयो वा गराइयो ?

पदाधिकारीको जवाफदेहितासँगै उनले पार्टीभित्रको अवसरको एकाधिकार तोड्न ‘कुलिङ अफ पिरियड’को अवधारणा अघिसारेका छन्। उनले यसलाई पार्टीभित्रको ‘अवसरको सिन्डिकेटमाथिको प्रहार’को संज्ञा दिएका छन् । उनको प्रस्तावमा, ‘तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, अहिले संयन्त्रमा रहेका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाइडको भूमिका खेल्नुपर्छ ।’ यस्तो व्यवस्थाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने र योग्यता, क्षमता तथा नैतिकतामा आधारित न्यायपूर्ण प्रणाली स्थापित गर्ने उनको विश्वास छ । उनले पार्टी वर्तमान अवस्थामा आइपुग्नुमा कुनै एक व्यक्ति वा पक्षलाई मात्र दोष दिनुको साटो सामूहिक जवाफदेहिता स्वीकार्नुपर्नेमा जोड दिएका छन् । ‘चुनावमा गठबन्धन निर्णय गर्ने, टिकट बाँड्ने, ओली सरकार हुँदा संयन्त्रमा रहने सबैले अहिलेको अवस्थामा आएकोमा जिम्मा लिनुपर्छ,’ उनको भनाइ छ, ‘सत्ताका लागि गरिएका अप्राकृतिक गठबन्धन, नातावादमा आधारित टिकट वितरण, र सिद्धान्तविपरीतका राजनीतिक सहकार्यले पार्टीलाई पुर्‍याएको चोटलाई सामूहिक रूपमा स्वीकार गर्नुपर्छ।’

नेता महरले १४औं महाधिवेशनले दिएको मिश्रित जनादेश (नेतृत्वमा अनुभव र समितिमा नयाँ पुस्ता)बीच सामञ्जस्यता कायम हुन नसक्दा पार्टी दिशाहीन बनेको विश्लेषण गरेका छन् । महाधिवेशनपछि पार्टी सत्ता सञ्चालन र गठबन्धन व्यवस्थापनमै अल्झिँदा आन्तरिक सुधारका प्रयासले गति लिन नसकेको उनको टिप्पणी छ । देश गम्भीर राजनीतिक र संवैधानिक संकटबाट गुज्रिरहेको र युवाहरूको आन्दोलनले समग्र राजनीतिक नेतृत्वलाई नै चुनौती दिएको अवस्थामा कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी बहन गर्नुपर्ने उनको निष्कर्ष छ । यी साहसिक प्रस्तावको कार्यान्वयनले मात्र ‘जेनजी आन्दोलन’को मूल मर्मलाई सम्बोधन गर्ने र नयाँ पुस्तासँग टुटेको संवादको पुल जोड्ने उनको तर्क छ ।

नेता महरले पार्टीलाई अगाडि बढाउन नियमित महाधिवेशन, मौजुदा केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति गठन, कार्यवाहकको जिम्मेवारी वा विशेष महाधिवेशन जस्ता विकल्पमाथि छलफल हुनुपर्ने औंल्याएका छन् । उनको यो विस्तृत प्रस्तावले कांग्रेसको आसन्न केन्द्रीय समिति बैठक र समग्र पार्टी वृत्तमा एउटा तातो बहस सिर्जना गरिदिएको छ ।