एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।
भियतनाको हो चिमिन शहरको गो डाउ रङ्गशालामा बिहीबार (२३ असोज) भएको खेलमा भियतनामसँग नेपाल ३-१ गोलअन्तरले पराजित भएको हो । जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अङ्क जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया ९ अङ्कसहित शीर्ष स्थानमा छ । लाओसले ३ अङ्क जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ । नेपालले यसअघि मलेसियासँग २-० र लाओससँग २-१ गोलको हार बेहोरेको थियो ।
भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले एक/एक गोल गरे । नेपालका लागि सनिश श्रेष्ठले सान्त्वना गोल गरेका थिए । खेलको नवौँ मिनेटमा लिङले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको १७औं मिनेटमै सनिशले गोल गर्दै खेललाई एक÷एकको बराबरीमा ल्याए ।
दोस्रो हाफमा भियतनामले दुई गोल गऱ्यो । मान्हले खेलको ६७औँ मिनेटमा र भान भीले खेलको ७२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।
प्रतिक्रिया