कांग्रेसभित्र एकता र सहकार्यको वातावरण बनाउन जनसम्पर्क समिति भारतको आग्रह

कांग्रेसभित्र एकता र सहकार्यको वातावरण बनाउन जनसम्पर्क समिति भारतको आग्रह


नेपाली जनसम्पर्क समिति भारतले नेपाली कांग्रेसभित्र एकता र सहकार्यको वातावरण बनाउन आग्रह गरेको छ ।

कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले एक विज्ञप्ति जारी गरी पार्टीभित्र एकता र सुधारको अभियान सुरु गर्नुपर्ने बताएका हुन् ।

‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति अत्यन्त गम्भीर मोडमा पुगेको छ, कांग्रेसले आत्ममूल्याङ्कन, सुधार र एकता अपरिहार्य रूपमा अङ्गीकार गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

पाण्डेले गत भदौ २३ र २४ गतेका घटनाक्रमले पार्टीलाई गहिरो पुनरावलोकन गर्न बाध्य बनाएको उल्लेख गर्दै भनेका छन्, ‘हामीले विगतमा राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिने प्रवृत्ति अपनायौँ, जसका कारण पार्टी र शासन दुवै कमजोर बने, अब भ्रष्टाचारमुक्त, पारदर्शी र जनमुखी कांग्रेस निर्माणको बाटोमा अघि बढ्नुपर्छ ।’

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र त्यसको प्रतिवादमा नेपाली कांग्रेसले कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा उपस्थित हुनुपर्नेमा जोड दिए । ‘कांग्रेसबाहेक लोकतन्त्र र संसदीय प्रणालीका लागि निरन्तर सङ्घर्ष गरेको अर्को कुनै दल छैन, त्यसैले देश र लोकतन्त्र जोगाउने जिम्मेवारी अहिले नेपाली कांग्रेसकै काँधमा आएको छ’, पाण्डेले भनेका छन् ।

उनले असोज २६ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई पार्टी एकता र सुधारको दिशामा निर्णायक मोडको रूपमा वर्णन गर्दै उनले बैठकले संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि ठोस निर्णय लिनुपर्ने बताए ।

अध्यक्ष पाण्डेले प्रवासी नेपाली कांग्रेस कार्यकर्ताहरू र युवाशक्तिले पार्टीप्रति ठूलो अपेक्षा राखेको उल्लेख गर्दै पार्टीभित्र साझा दृष्टिकोण, सहमति र पारदर्शिता कायम गर्दै नयाँ ऊर्जाका साथ अघि बढ्न आह्वान गरे ।