नैतिकता शून्य शैक्षिक उत्पादन अनुत्पादक हुन्छ नै । बुद्धिजीवी बुद्धिजीवी जस्तो भए पो राम्रो, यहाँ त अत्यधिक डलरे बुद्धिजीवी भएर पो माऱ्यो । मरेर जाँदा पापपुण्य बाहेक केही लान पाइन्न भन्ने चेत भइदिए त अनियमितता नहुन्थ्यो होला ।
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । विनाशपछि पुनर्निर्माण भन्ने गरिन्छ तर दशकैपिच्छे विनाश भएसि कसरी पुनर्निर्माण सम्पन्न हुन सक्ला र ? डिग्री लिन पो महाविद्यालय धाउनुपरो, ज्ञान लिन त पोस्तक पढे भैगो नि । नुतन बात नैखे उही पुरातनपन्थी सोच । राम्रो पोस्तकले मस्तिष्क प्रक्षालन, परिमार्जन र परिष्कार गर्दो । दुराग्रही पूर्वाग्रही नै ।
मरेकोलाई किन मार्नुपरो र ? ‘कुरा खस्रा रोटी चिल्ला’ नमिठो लाग्न सक्छ; यथार्थ यही हो । जो कोहीले सबैलाई खुशी पार्छु भन्छ भने त्यो भ्रम हो । आफूलाई खुशी राख्न सक्नु नै ठुलो कुरो । आफ्नो स्वार्थ पूरा हुँदा मित्र, नहुँदा अमित्र । मित्रत्व त नगेन्द्र थापाको लोभलाग्दो । मुखले मात्र मित्र भनेर नहुने रहेछ; व्यवहारमै प्रतिबिम्वित हुनुपर्ने । नारानको गायकी मिठो – सन्देह मरू । सायद उन्को इगोले मितज्यूसित छुटायो कि ?! साथीत्व भन्या त रेल स्टेशनको यात्रु जस्तो – कोही छुट्ने कोही जोडिने । समभावी जोडिंदै जाने, विषमभावी छुट्दै जाने ।
हिजोको धनी आज गरीब भो भने दैवले हरेको भन्ने; हिजोको तन्नम आज हुनेखाने भो भने भुइँफुट्टाको कत्रो शान भन्ने हाम्रो समाज । न गरी सुख न मरी दु:ख । समाज सभ्य भो सबै राम्रो। यथास्थितिमा रहेर मात्र हुन्न; हाम्रो समाज नि रुपान्तरित हुन अत्यावश्यक छ । मान्छे आफ्नो कारणले मात्र हैन; अर्काको कारणले दु:खी हुन्छ । सबै गंगा नुहाउने आफू गंगा किन नुहाउने ? भीडमा मिसिएसि विचार विवेकको कुरा गरेर के हुने हो र ?
ऐतिहासिक सेना प्रहरी राष्ट्रका रक्षक/सेवक । आपतविपद् पर्दा/शान्ति सुरक्षा कायम गर्दा सेना प्रहरी चाहिने अनि यिन्को अखानु किन गर्नु ? यिनीहरूलाई किन अचानु बनाउनु ? आफ्नो प्रमुखको आदेश पालन गर्नैपरो क्यारे । यही नै कर्तव्य । आज्ञा पालन गर्ने उपक्रममा भवितव्य परे प्रमुखले दायित्व लिने हो । आदेशको साङ्लो त खुस्काउनु भएन नि । सेना प्रहरी राष्ट्रिय सम्पत्ति । यिनीहरू त निष्पक्ष रहनुपरो; दलगत/गुटगत भएको सुहाउन्नँ पो । व्यक्ति विशेषले कमजोरी गर्यो भन्दैमा सम्पूर्ण संयन्त्रलाई एउटै डालोमा हाल्नु त भएन नि । सेना प्रहरीको यथोचित मूल्याङ्कन हुनुपर्छ । यिनीहरूलाई सधैं उत्प्रेरित/प्रोत्साहित गरेर प्रफुल्लित मुद्रामा राख्नुपर्छ ।
आफ्नो थान्कोमान्कोमा शास्त्रीय मान्यता मान्नु त राम्रो तर भेदभाव चैं हुनुहुन्न है । बाहुन, छेत्री, वैश्य, शुद्र, मंगोल, मुस्लिम भन्दा नि हामी नेपाली हौं। हाम्रो स्वार्थ भनेको नेपाल/नेपालीको हितमा हुनुपर्छ न कि नश्ल विशेष । क्रान्तिले आमूल परिवर्तन ल्याउँछ पो । हाम्रोमा त क्रान्ति भनेर अतिरञ्जित गरे नि आन्दोलन शिवाय केही हैन । दृश्य/अदृश्य शक्तिको नाटक मञ्चन सफल जस्तो देखिए नि समयको फेरसित असफल हुँदो । स्वच्छ कर्मचारीतन्त्र नहुञ्जेलसम्म सुशासनको अनुभूति छैन। मुखिया, खर्दार, तहबिल्दार, स्रेस्तेदार र नासुको के कुरा भो र ? उपल्लो कर्मचारीले मन्त्री/मुख्यमन्त्री/प्रधानमन्त्रीलाई फनफनी रिङ्याएको रिङ्यायै (अनियमितता गर्न सर्काउने ) । कर्मचारीतन्त्र सङ्लो/जिम्मेवार नहुँदासम्म व्यवस्था फेरिए नि अवस्था फेरिन्न । सबैलाई चेतना भया ।
तमाम नेपाली अहिंसावादी हुने हो भने रामराज्य नै हुन्थ्यो होला । नैतिकता शून्य शैक्षिक उत्पादन अनुत्पादक हुन्छ नै । बुद्धिजीवी बुद्धिजीवी जस्तो भए पो राम्रो, यहाँ त अत्यधिक डलरे बुद्धिजीवी भएर पो माऱ्यो । मरेर जाँदा पापपुण्य बाहेक केही लान पाइन्न भन्ने चेत भइदिए त अनियमितता नहुन्थ्यो होला । यही चेत नहुनाले नेपाल/नेपालीले बेथिति बेहोर्नुपरो । डलर कुतर्क जन्माउँदो, सबै थोक बिगार्दो ?! यसको भृङ्गीहरूले सेतो कालो , कालो सेतो बनाउँदा । अइखम सइखम गोली मार, बिना योजना सफलता वार न पार । कुकर्मी त तड्पेर मर्छ पो । Morning shows the day भने झैं केही हुन्छ कि को आश।
नकुलीलाई अर्काको कुरा नकाटेसम्म खाएको नि नपच्ने । मौका पाउँदा आफू चोर्न पछि नपर्ने, अर्कोलाई चोर भन्ने ? अर्कोलाई चोर औंलो ठड्याउँदा अरू औंलाहरूले आफैलाई ताकेका हुन्छन् । पहिले आफू सुध्रनुपरो, अनि अरूलाई सुधार्नुपरो । हजारौं शहादत हुने, परिस्थिति नफेरिने भएसि के काम ?
एकपल्ट एक जनी भद्र महिलाले जर्ज बर्नार्ड शालाई भोजको निम्तो दिइन् । कार्य व्यस्तताको बावजूद नि उन्ले निम्तो स्वीकारे । भोजको दिनमा शा हतारिएर भद्र महिलाको घर पुगे । शुरुमा ती महिला पुलकित थिइन्; पछि मुर्झाइन् । उनले शालाई किन अनौपचारिक पोशाकमा आएको भनेर सोधनी गर्दा उन्ले कार्य व्यस्तताले लुगा फेर्न नभ्याएको बताए । उनको स्पष्टीकरणबाट चित्त नबुझेसि यी महिलाले भनिन्, ‘कार चढेर जानुस्; लुगा फेरेर आउनुस् ।’
शा प्रत्युराए- ‘हुन्छ, म चाँडै आउँछु ।’
शा पुन: किमती औपचारिक पहिरनमा भोजमा उपस्थित भए । केही छिनपछि शाले पोशाकमा आइसक्रिम, पिज्जा, बर्गर दल्दै भने , ‘ए ! मेरो लुगा, निम्तो तिम्लाई मिलेको हो । यी खानेकुराहरू तिमी नै खाऊ ।’ यो दृश्य देखेर पाहुनाहरूले सोधे, ‘यो के गर्नुभएको ? ‘शाले उत्तराए , ‘महानुभावहरू ! मैले जे गर्नुपर्थ्यो त्यही गरेको हूँ । मलाई हैन; लुगालाई निम्तो रहेछ । आजको खानेकुराहरू यही लुगाले खान्छ ।’ उनको जवाफ पश्चात भोजमा निस्तब्धता छायो । ती भद्र महिला आफ्नो बेसोमती व्यवहारबाट लज्जित भईन् । उनले व्यक्तिको मूल्याङ्कन प्रतिभाले हुने; लुगाले नहुने भन्ने बल्ल बुझिन् ।
चौचाउने मन – छरपस्टेर पोखिन्छ । नेपाल/नेपालीको जय होस् । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया