मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय

मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय


नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आइतबार (२६ असोज) सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

देशको विषम परिस्थितिका कारण एक वर्षअघि नै महाधिवेशन गर्न लागेको जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने बताएका छन् ।

विसं २०७८ मङ्सिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनले पाँच वर्षका लागि ओली नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो भने एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो ।

बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसमेत गरेको उपमहासचिव ज्ञवालीको भनाइ छ । सरकारले सबैलाई एकताबद्ध बनाएर लैजान सक्नुपर्ने बैठकको निष्कर्ष रहेको पनि उनले जनाएका छन् ।

आइतबारको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुवीर महासेठ र लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा राखेका थिए ।

photo: rss