✍ डिल्ली अम्माई
मन, बुद्धि, चेतना र विवेक
संकल्प, त्याग र बोध
क्रियासृजित अनुभव तरङ्ग
त्यो तरंगको सृजना अगाडि के होला ?
बुद्धि र विवेकको विरोधाभासमा
खुलेको मध्यद्वारको ढोका
ढोकाभित्रबाट देखिने अन्तिम दृश्य
त्यो अन्तिम दृश्य उता के होला ?
रहर पूरा नहुँदै उठेका नयाँ रहर जस्तै
माथिमाथि उठेका समुन्द्रका लहरहरु
लहरको समाप्ति र शान्त बिन्दु
सान्तिको त्यो गहन बिन्दु उता के होला ?
धर्तिको चारैतिर आकाश
अनि चन्द्र सुर्य, ग्रह नक्षत्र र निहारिका
सिङ्गो ब्रह्माण्डको अद्भुत सिमा
ब्रह्माण्डको त्यो अद्भुत सिमाउता के होला ?
ज्ञान, परम ज्ञान र दिब्य ज्ञान
उज्यालो प्रकाश र त्यसको शुक्ष्म तरङ्ग
निहारिकाहरुको उदय र त्यसको गतिशीलता
ब्रह्माण्डको जीवन गतिमा विश्रामपछि के होला ?
समता र सरलताको नछुट्टिने समुन्द्र जस्तै
समाज विकासको भविष्य स्वभाव चित्र
मानव विवेकको उत्कर्ष छटा
मानव विवेक र करुणाको उत्कर्षउता के होला ?
प्रतिक्रिया