मधेश प्रदेशमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहले मंगलबार (२८ असोज) राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक पहलकदमी शुरु भएको छ । प्रदेशप्रमुख सुमित्रा भण्डारी सुवेदीले आज (२९ असोज) दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरिसकेकी छन् । सोअनुसार जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपाका र नेकपा एकीकृत समाजवादी गरी पाँच दलका नेताहरु ५६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गर्दैछन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा आज बिहान बसेको उल्लिखित दलहरुको बैठकले लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति गरेको छ । मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन बाँकी रहेको बताइएको छ ।
ज्ञातव्य छ, १०७ सदस्य रहेको मधेस प्रदेशसभामा सरकार बनाउन ५४ सदस्य संख्या आवश्यक पर्छ । लोसपाको नेतृत्वमा सरकार बनाउन सहमतिमा पुगेका पाँच दलमध्येका जसपा नेपालसँग १९, जनमतसँग १३, नेकपा माओवादी केन्द्रसँग ९, लोसपासँग पनि ९ र नेकपा एकीकृत समाजवादीसँग ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । लोसपाका एकजना सांसद निलम्वित अवस्थामा रहेकाले ५६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको हो ।
प्रतिक्रिया