पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


काठमाडौं जिल्ला अदालतले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकोे हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जानकारी दिए । अदालतले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउन आदेश दिएको हो ।

यही असोज २७ गते महराविरुद्ध मुद्दा दर्ता गरिएको थियोे । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध रू आठ करोड ५५ लाख २८ हजार ३७४ बिगो र तीन वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । मङ्गलबारदेखि थुनछेक बहस सुरू भएको थियो ।

पूर्वसभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा यही असोज २६ गते पक्राउ गरेको थियो ।