कांग्रेस बैठक शुक्रबार पुनः बस्ने

कांग्रेस बैठक शुक्रबार पुनः बस्ने


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार (३० असोज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा कावा सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए । यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आआफ्नो धारणा राखेका थिए । पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको र कार्यसमितिको बैठक शुक्रबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्यसचिव पौडेलले बताए ।

यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका थिए ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आक्रमणकारीको साङ्घातिक हमलामा परी घाइते भएका सभापति देउवा उपचारपछि स्वास्थ्यलाभ गरिरहेको कांग्रेसले जनाएको छ ।